विद्यालय चलाउन अदुवाखेती

विद्यालय चलाउन अदुवाखेती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विद्यालय चलाउन अदुवाखेती गरेको यहाँ एक सामुदायिक विद्यालयले उत्पादित अदुवा बिक्री गर्न थालेको छ । रोल्पा नगरपालिका–२ देउरालीमा रहेको सरस्वती आधारभूत विद्यालयले विद्यालय परिसरमा उत्पादित अदुवा बिक्री वितरण गर्न थालेको हो । “अर्थाभावका कारण विद्यालय सञ्चालनमा समस्या देखिएपछि अघिल्लो वर्ष रोपिएको अदुवो बिक्री वितरण गर्दै हिँडेका छौँ ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर वलीले भन्नुभयो । उहाँका अनुसार उत्पादित अदुवामध्ये आधा कोसेलीको रूपमा वितरण र आधा बजारमा बिक्री गरिने जनाइएको छ ।

“ यस वर्ष १० क्विन्टल अदुवा उत्पादन हुने अनुमान गरेका छौँ”, विद्यालयका शिक्षक होमबहादुर खड्काले भन्नुभयो “उत्पादितमध्ये पाँच क्विन्टल निकालिसकेका छौँ, अरु निकाल्न बाँकी छ । ” विद्यालयले उत्पादित अदुवा सदरमुकाम लिवाङमा रहेका शिक्षण संस्था, अन्य सरकारी तथा गैरसरकारी कार्यालय र व्यापारीलाई कोसेलीस्वरुप विवतरण गरिरहेको जनाएको छ । विद्यालय आफैँले अदुवा उत्पादन गरेको प्रचारप्रसार गर्न र आर्थिक सहयोग सङ्कलन गर्न कोसेलीस्वरुप वितरण गर्दै हिँडेको शिक्षक खड्काको भनाइ छ ।

कोशेली वितरणपछि बचेको अदुवा बजारमा बिक्री वितरण गर्ने योजना बनाएको विद्यालयले स्थायी आयस्रोतको रूपमा अदुवाखेती गरेको जनाएको छ । निजी स्रोतमा काम गर्ने शिक्षकहरुको तलब व्यवस्थापनमा समस्या परेपछि विद्यालयले यस्तो योजना अघि बढाएको हो ।

यो पनि – खेल र खेलाडीलाई प्रोत्साहन गर्छौँ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खेल र खेलाडीलाई प्रोत्साहन गर्ने गरी काम गर्ने बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा शनिबारदेखि सुरु भएको वडास्तरी ‘सेभेन ए साइड फुटबल प्रतियोगिता’को शुभारम्भ गर्दै उहाँले खेलले स्वस्थ शरीर र स्वस्थ मस्तिष्क बनाउने हुनाले खेलकुद विकासका लागि प्रदेश सरकारले उच्च प्राथमिकता दिएको छ ।

“खेलकुदले व्यक्तिको स्वास्थ्यसँगै ठाउँको समेत पहिचान बनाउँछ । खेलकुदका माध्यमबाट समृद्धि हासिल गर्ने सरकारको ध्येय छ । यसका पूर्वाधार विकासमा लगानी बढाइने छ”, उहाँले भन्नुभयो “ आगामी वर्षमा नारायणी नदीमा तटबन्धनलाई बजेट छुट्याइने र गैँडाकोटको थप पूर्वाधार विकासमा थप जोड दिइने छ ।”

कार्यक्रममा गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले गैँडाकोटलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा चिनाउन पनि खेलकुदको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले भन्नुभयो “नगर क्षेत्रको खेलमैदान र अन्य विकासका लागि संघीय र प्रदेश सरकारबाट सहयोग आवश्यक छ ।” प्रतियोगिता एभरेष्ट युवा क्लब गैँडाकोटका आयोजनामा सञ्चालन गरिएको हो ।

खेलको विकास र खेलाडीलाई प्रोत्साहन गर्न क्लबले खेलकुदका प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष मानबहादुर सुनारी मगरले जानकारी दिनुभयो । शनिबारदेखि सुरु भएको खेलमा गैँडाकोट नगरका १७ वडास्तरीय फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता विजेतालाई रु ३० हजार र ट्रफी तथा उपविजेतालाई रु २० हजार र ट्रफी प्रदान गरिने अध्यक्ष मगरले बताउनुभयो ।