जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ । जनता समाजवादी पार्टी रुपन्देहीले आज बुटवलमा आयोजित पत्रकार भेटघाटमा उहाँले देशको समृद्धि र जनताको जीवन परिवर्तनका लागि वैकल्पिक शक्ति निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै केन्द्रीय समाजवादी शक्ति निर्माण गर्न सकेमात्रै देशले निकास पाउनेमा जोड दिनुभयो ।
मुलुकमा आर्थिक, सामाजिक र सांस्कृति परिवर्तन हुन नसक्दा जनतामा निराशा र अन्योल छाएको उल्लेख गर्दै उहाँले राजनीतिक शक्तिबीचमा नयाँ ढङ्गले एकता कायम गरी अगाडि बढुनु नै उत्तम विकल्प हुने भनाइ राख्नुभयो ।
“सामान्य लोकतान्त्रिक मूल्य, मान्यता स्खलित हुँदैछन्, सत्ता स्वार्थलाई केन्द्रमा राखेर राजनीति गर्ने काम भयो । यसरी देशले निकास पाउँदैन । अदालतमा देखिएको सङ्कट यसैको उदाहरण हो”, अध्यक्ष भट्टराईले भन्नुभयो । पुराना राजनीतिक शक्तिले आफ्ना डम्फु बजाउँदै हावाको बाल्कोनीमा बसेको टिप्पणी गर्दै उहाँले पुराना राजनीतिक शक्तिले नै जनतालाई वैचारिक भ्रम छर्ने काम गरेको बताउनुभयो ।
अध्यक्ष भट्टराईले महान् क्रन्तिबाट आएका नेताहरूले नै बाटो बिराउँदा देश गलत दिशामा अघि बढेको जनाउँदै एकता र सार्वभौमसत्ता रक्षाका लागि नयाँ समाजवादको मोडल आवश्यक रहेकामा जोड दिनुभयो । “कांग्रेस जतिपटक सत्तामा पुगे पनि परिवर्तनको अपेक्षा गर्न सकिँदैन, मुलुक परिवर्तनका लागि अग्रगामी शक्ति आवश्यक छ”, उहाँले भन्नुभयो ।
पार्टीका वरिष्ठ नेता अशोक राईले जनताको जीवनस्तर परिवर्तनका लागि पार्टीले चार महिने सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गरेको बताउनुभयो । जनवर्गीय सङ्गठन विस्तार र विभिन्न धारबाट आएका समूहका अलग बुझाइ चिर्न र जनता जागरुक गर्न अभियान थालिएको उहाँको भनाइ छ । मङ्सिरसम्म सञ्चालन हुने अभियानमा जनताका माझमा आफ्ना विचार प्रस्तुत गर्ने र जनताका विचार बुझ्ने काम भइरहेको नेता राईले बताउनुभयो ।
यो पनि – अल्पविरामको लघुकथा सङ्ग्रह : अनुभूतिका रङ्गहरू सार्वजनिक
साहित्यकार अल्पविराम पोखरेलीको पाँचौँ कृति ‘अनुभूतिका रङ्गहरू’ लघुकथा सङ्ग्रह लोकार्पण गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले शनिबार एक कार्यक्रमकाबीच सो कृतिको लोकार्पण गर्नुभयो ।
आख्यानको एक महत्वपूर्ण विधाका रूपमा लघुकथा स्थापित भएको भन्दै उहाँले मुुक्तक र कवितामार्फत् विशिष्ट परिचय बनाइसकेका अल्पविरामको लघुकथाप्रतिको लगाव प्रशंसनीय रहेको बताउनुभयो । उमेरको परिपक्वता बढ्दै जाँदा पनि लेखाइमा थप जाँगरका साथ व्रिmयाशील भएर अल्पविरामले नयाँ पुस्तालाई प्रेरणा दिइरहेको उहाँले बताउनुभयो ।
साहित्यकार तीर्थ श्रेष्ठले अल्पविरामको निरन्तर साधनाले नेपाली साहित्यमा निकै महत्व राख्ने बताउँदै लघुकथाले दिने झट्कापूर्ण प्रस्तुतिले यसको लोकप्रियता बढ्दै गएको उल्लेख गर्नुभयो । कथाकार अल्पविरामले आफूले विभिन्न लघुकथाकारहरूको लघुकथा पढ्दा पढ्दै लघुकथा लेख्न थालेको अनुभव सुनाउँदै समाजमा देखे भोगेका विषयलाई लघुकथाका रूपमा प्रस्तुत गरेको बताउनुभयो ।
अप्पविरामका यसअघि क्रान्तिकारी हिउँका फूलहरू र ईश्वर छन्ई/श्वर छैनन् गरी दुई कविता सङ्ग्रह तथा टुकीको उज्यालो र मुक्तक शिविर गरी दुईवटा मुक्तक सङ्ग्रह प्रकाशित छन् । साहित्यकार नारायण मरासिनीले अल्पविरामले समाजका विविध विषयलाई समेटेर लेखेका लघुकथा अधिकांश पठनीय रहेको बताउनुभयो । लघुकथा समाज, प्रदेश नं १ की अध्यक्ष ममता मृदुल, लघुकथा प्रतिष्ठान पोखराका संस्थाका सचिव कल्याण पन्त, सदस्य रुपिन्द्र प्रभावी, सदस्य विष्णु बाँस्तोला लगायतले लघुकथाको साहित्यिक महत्वका विषयमा आफ्ना धारणा राख्नुभयो ।



प्रतिक्रिया