गुर्जा जोड्ने सडक मटला भिरमै रोकियो

गुर्जा जोड्ने सडक मटला भिरमै रोकियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दीको अत्यन्त दुर्गम ठाउँ धौलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडक धौलागिरि गाउँपालिका– ३ मुनाको मटला भिरमा पुगेर रोकिएको छ । सडक डिभिजन कार्यालयमार्फत निर्माण हुन लागेको मुना–ढोरपाटन सडक खण्डअन्तर्गत पर्ने मटला भिरको विशाल पहरो फुटाउने काममा ढिलासुस्ती हुँदा सडक निर्माणको काम रोकिएको हो ।

जिसी कन्सट्रक्सनले निर्माणको जिम्मा लिएको मटला भिर सडक खण्डका लागि गत आर्थिक वर्षमा सडक डिभिजन कार्यालयबाट रु दुई करोड, धौलागिरि गाउँपालिकाबाट रु २५ लाख र मालिका गाउँपालिका–२ लुलाङबाट रु १५ लाख विनियोजन भएको थियो ।राष्ट्रिय वनको क्षेत्रभित्र पर्ने मटला भिरमा वन कार्यालयको अनुमति बिना सडक निर्माण गर्न लागिएकाले मुद्दा परेपछि त्यसको छिनोफानो नहोउन्जेलसम्म लुलाङको खोरिया गाउँबाट सडकको ट्र्याक खोल्न नसकिएको धवलागिरि गाउँपालिका–२ लुलाङका वडा सदस्य मतिप्रसाद पाइजाले बताउनुभयो ।

मुना–ढोरपाटन सडक खण्ड लुलाङको लमसुङदेखि खोरिया गाउँसम्म पुगेको छ । मटला भिरको पहरो फुटाएर ट्र्याक खोल्ने हो भने चालु आर्थिक वर्षमा नै खोरिया गाउँसम्म मोटर पुग्न सक्ने भएको छ । यो सडकको ट्र्याक खुलेर यातायातका साधनहरु सञ्चालन भएमा म्याग्दी, बागलुङ, रुकुम, रोल्पालगायत जिल्लाका हजारौँ सर्वसाधारणलाई सजिलो हुने वडा सदस्य पाइजाले बताउनुभयो । बागलुङको बुर्तिवाङ हुँदै ढोरपाटन जोड्ने सडकभन्दा यो सडक निकै छोटो र सहज भएकाले निर्माण कार्यलाई तीव्रता दिन स्थानीयवासीले माग गरेका छन् ।

त्यसैगरी, जिल्लाकै अति दुर्गम गाउँ मानिने गुर्जा जोड्ने सडक पनि यही भएकाले धौलागिरि गाउँपालिकाको पहिलो प्राथमिकतामा यो सडक रहेको धौलागिरि गाउँपालिका–३ का वडाध्यक्ष पुर्म पुनले बताउनुभयो । जिल्लाको दुर्गम बस्ती र बागलुङ, म्याग्दी र रुकुमलाई जोड्ने यो सडक निर्माण कार्यलाई तीव्रता दिई समयमा नै ट्र्याक खोल्न सक्ने हो भने युगौँदेखि पिछिडिएका दुर्गम गाउँका नागरिकले सुविधा प्राप्त गर्न सक्ने उहाँको भनाइ छ ।

पश्चिमी म्याग्दीको बहुप्रतिक्षित योजनासमेत रहेको बेनी–दरवाङ–मुना–गुर्जा सडक आयोजना सम्पन्न भएर यातायताका साधनहरु सञ्चालन हुन थालेपछि यस क्षेत्रको कायापलट हुने अनुमान गरिएको छ । पशुपालन, जडीबुटी, पर्यटन, खनिज, वनपैदार र पर्यटनको प्रशस्तै सम्भावनाहरु भएको यो क्षेत्रमा अहिले ट्र्याक कहिले खुल्ला र गाडी कहिले गुड्ला भन्ने कुरामा नै प्रतिक्षारत रहेका मुनाका युवा किशोर भण्डारीले बताउनुभयो ।