ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा हराएका १५ मोटरसाइकल र आठ स्कुटर फेला पारेर आज सम्बन्धित धनीलाई बुझाएको हो ।
महाशाखाले उपत्यकाको चक्रपथ, नयाँ बानेश्वर, वसुन्धरा, पुरानो बानेश्वर, नारायणटार, नागार्जुन, सातदोबाटो, कोटेश्वर, काँडाघारी, भैँसेपाटी, कपन, सानेपा, माकलवारी, टोखालगायतका स्थानबाट हराएका मोटरसाइकल एवं स्कुटर आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो । कार्यक्रममा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले सादा पोशाकमा खटिएको प्रहरी टोलीले विशेष सूचना सङ्कलन तथा सुराकीमार्फत मोटरसाइकल बरामद गर्दै आएको जानकारी दिनुभयो । उहाँले एकान्त ठाउँमा पार्किङ नगर्नसमेत सवारी धनीलाई आग्रह गर्नुभयो ।
महाशाखाले चालू आर्थिक वर्षमा उपत्यकाका विभिन्न स्थानबाट हराएका १७६ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीमा संलग्न २१ जनालाई पक्राउ गरी कारबाहीका लागि उपत्यकाका विभिन्न वृत्तमा पठाइसकेको छ ।
यो पनि – बजार अनुगमन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो चार महिनामा एक हजार ३५५ व्यावसायिक फर्मको अनुगमन गरेको छ । सो अवधिमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानका ती फर्ममा गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक कारोबारमा संलग्नहरुलाई कारवाही गर्दा रु ७१ लाख १० हजार राजस्व सङ्कलन गरेको विभागले जनाएको छ । अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशक हरि पँगेनीले जानकारी दिनुभयो ।
उहाँले सामान्य गल्ती गर्ने फर्मलाई एकपटक सुधारको मौकासमेत दिइने गरिएको जानकारी दिनुभयो । विगत चार महिनाको अवधिमा विभागले ६६७ फर्मलाई जरिवाना, ६६८ फर्मलाई सामान्य सुधार गर्न निर्देशन दिइएको थियो । यस्तै, १० फर्मबाट परीक्षण गर्न बस्तुको नमूना सङ्कलन र साधनसहित तीनजना पक्राउ र १० फर्ममा सिलबन्दी गरिएको थियो ।
चाडबाडको समयमा खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, खसीबोका बिक्री, तरकारी पलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाई तथा इलोक्ट्रोनिक्स लगायतका पसलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्ने फर्मलाई रु पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गरिएको विभागले जनाएको छ ।उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिवाना गरिएको विभागले जनाएको छ । विभागले चाडपर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाका तीन जिल्लामा छुट्टा–छुट्टै अनुगमन टोलीमार्फत अनुगमनलाई निरन्तरता दिएको थियो ।
कात्तिकमा ३८८ फर्मको अनुगमन
विभागले कात्तिक महिनामा अनुगमन गरिएका फर्ममध्ये आधा फर्मलाई कारबाही गरेको छ । अनुगमन गरिएका अधिकांश फर्मले गल्ती गरेको भेटिएपछि कारबाही गरिएको विभागका निरीक्षण अधिकृत धनेश्वर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार एक महिनामा ३८८ फर्मको अनुगमन गर्दा १७६ फर्मलाई कारबाही, ८८ फर्मलाई आवश्यक कागजात पेस गर्न स्पष्टीकरण सोधिएको र १२४ फर्मलाई सामान्य सुधार गर्न निर्देशन दिइएको थियो ।
कात्तिकमा बजार अनुगमनबाट विभागले रु १६ लाख ५५ हजार राजस्व सङ्कलन गरेको छ । विभागले दसैँ तथा तिहारको समयमा चाडपर्व केन्द्रित भएर बजार अनुगमन गरेको थियो । विभागले चाडपर्वको समयमा गुणस्तर र उपभोग्य मिति केन्द्रित भएर बजार अनुगमन गरेको थियो । चाडपर्व सकिए पनि नियमित रुपमा दैनिक तीन समूहबाट बजार अनुगमन जारी राखिएको निर्देशक पँगेनीले जानकारी दिनुभयो ।



प्रतिक्रिया