गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्हरुको दोस्रो विश्व भेला मङ्सिर १५ गते बुधबार हुने भएको छ । भर्चुअल माध्यमबाट हुने सो भेलामा अन्तर्राष्ट्रिय समन्वय समितिका नवनिर्वाचित सदस्यहरुलाई पनि आमन्त्रण गरिएको छ । यसअघि पहिलो विश्व भेला गत २४ अक्टोबरमा भर्चुअल माध्यमबाटै आयोजना गरिएको थियो ।
सङ्घभित्र विवाद बढ्दै गई सरकारविरुद्ध मुद्दा मामिला गर्न लागिएको बारे पनि भेलामा छलफल गरिने जनाइएको छ । राष्ट्रिय समन्वय परिषद् (एनसिसी) अमेरिकाका अध्यक्ष तथा एनसिसीहरुको पहिलो विश्व भेला तयारी समितिका संयोजक बुद्धि सुवेदीले परराष्ट्र मन्त्रालयले संरक्षक परिषद्लाई दसौँ महाधिवेशन गर्ने अधिकार दिएकामा कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे भेलामा छलफल गरिने बताउनुभयो ।
पञ्जीकृत सदस्यहरुले बुझाएको शुल्क खर्च गरेर सरकारविरुद्ध मुद्दा मामिला गर्नु एनआरएनए जस्तो सामाजिक संस्थालाई सुहाउने काम नभएको उहाँले बताउनुभयो । संयोजक सुवेदीले भन्नुभयो, “यो अत्यन्तै गैरजिम्मेवार कार्य हो । यसबारे पनि भेलामा छलफल हुनेछ ।” उहाँले भेलाको निष्कर्ष सङ्घका विभिन्न निकायलगायत परराष्ट्र मन्त्रालयमा पनि पठाइने जानकारी दिनुभयो । यसअघि पहिलो विश्व भेलाको निष्कर्ष बेलायत भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बुझाइएको थियो ।
यसैबीच गैरआवासीय सङ्घ जापानका पूर्वसल्लाहकार तथा अन्तर्राष्ट्रिय कानुनका ज्ञाता डा बलराम श्रेष्ठले परराष्ट्र मन्त्रालयको पछिल्लो पटक दिएको निर्देशनलाई गैरआवासीय नेपालीको एकता र सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो ।
सन् २०२१ अक्टोबर १८ पछि कामचलाउ भइसकेको सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) का अध्यक्ष कुमार पन्तले एनआरएनएका तर्फबाट कुनै पनि दीर्घकालीन असर पर्ने काम गर्न नपाउने विज्ञप्तिमार्फत जनाउनुभयो । एनआरएनएमा विभाजन ल्याउन नेपाल सरकारविरुद्ध मुद्दा गर्नुले एनआरएनएलाई वैधानिक रुपमा विभाजनको नजिक ल्याउन सक्ने उहाँको टिप्पणी छ ।
यो पनि –
सरकारविरुद्धको मुद्दामा एनआरएनए भित्रै विरोध
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को इतिहासमै पहिलो पटक सरकारविरुद्ध मुद्दा दायर गर्ने काम उचित नभएको सङ्घकै पदाधिकारी तथा संरक्षकले बताएका छन् । सङ्घका अध्यक्ष कुमार पन्तको निर्देशनमा परराष्ट्र मन्त्रालयको पछिल्लो निर्णयविरुद्ध शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ । उक्त कार्यको सङ्घका संस्थापकसमेत पदाधिकारीले विरोध गरेका छन् ।
“मुद्दा मामिला कहिल्यै नटुङ्गिने प्रक्रिया हो । यसले संस्थालाई टुक्र्याउँछ । त्यसैले अहिलेको विवादलाई संस्थाभित्रै मिलाउनुपर्छ”, सङ्घका संरक्षक रामप्रताप थापाले भन्नुभयो, “यो हामी आफैँले खडा गरेको संस्था हो । कहिले परराष्ट्र जाने, कहिले मुद्दा गर्ने कुरा ठिक भएन । मुद्दा मामिला गर्नु आजको आवश्यकता होइन ।”
गत मङ्सिर ३ गते परराष्ट्र मन्त्रालयले सङ्घलाई एक पत्र लेख्दै कुमार पन्त नेतृत्वको कार्य समितिको कार्यकाल १८ अक्टोबर २०२१ मै पूरा भइसकेकाले सङ्घको विवाद समाधान गरी सङ्घलाई गतिशीलता प्रदान गर्न विधानको धारा १६ बमोजिम संरक्षक परिषद्लाई जिम्मा दिइएको जनाएको थियो ।
कार्यसमितिका पदाधिकारी, सल्लाहकार तथा संरक्षकले सरकारविरुद्ध मुद्दा दायर गर्ने काम उचित नभएको जनाएका छन् । गैरआवासीय नेपाली सङ्घका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले परराष्ट्र मन्त्रालयको निर्देशनविरुद्ध अदालत जानेबारे सङ्घमा कुनै पनि निर्णय नभएको र अध्यक्ष कुमार पन्तलाई त्यस्तो म्यान्डेट पनि नरहेको जनाउनुभएको छ ।
“व्यक्तिगतरुपमा जो पनि अदालत जान सक्छ, त्यो व्यक्तिको हकको कुरा हो, तर लाखौँ एनआरएनले बुझाएको सदस्यता शुल्क खर्च गरेर नेपाल सरकारविरुद्ध मुद्दा मामिला गर्नु संस्थाको हितमा छैन”, आचार्यले भन्नुभयो, “त्यस्तो कदमविरुद्ध आवश्यक परे हामी अदालतमै उपस्थित हुनेछौँ ।”
यसअघि सङ्घको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस) का बहुमत पदाधिकारीले अध्यक्ष पन्तलाई नेपाल सरकारविरुद्ध मुद्दा मामिला नगर्न सुझाव दिनुभएको थियो । अध्यक्ष पन्तलाई एक पत्र लेख्दै उपाध्यक्ष मन केसीले परराष्ट्र मन्त्रालयको निर्देशन पालना गर्न सुझाव दिनुभयो ।
“जुनसुकै दलको भए पनि हामीले नेपाल सरकारसँग समदूरी राख्दै आएका छौँ । कोभिड महामारीलगायत कठिन समयमा पनि हामीले नेपाल सरकारसँग सहकार्य गरेका छौँ । त्यसैले हामीले नेपाल सरकारसँग लडाईं झगडा गर्नु हुँदैन र हामीलाई त्यस्तो म्यान्डेट पनि छैन । यदि त्यस्तो कुनै निर्णय गर्नुपरे सम्पूर्ण पञ्जीकृत सदस्य वा पञ्जीकृत सदस्यको दुई तिहाइभन्दा बढीको पूर्ण म्यान्डेट आवश्यक पर्दछ”, केसीले भन्नुभयो ।
यसैगरी आइसिसीका उपाध्यक्ष सोनाम लामाले नेपाल सरकारसँग सहकार्य गरेर जानुपर्ने, मुद्दामामिला गर्न नहुने बताउनुभयो । सहकोषाध्यक्ष लोक दाहालले पनि पन्तलाई एक पत्र पठाउँदै सङ्घ अहिले इतिहासकै कठिन मोडबाट गुज्रिएको र लाखौँ प्रवासी नेपालीको हितलाई मध्यनजर गरी काम गर्न र सरकारविरुद्ध मुद्दामामिला नगर्न आग्रह गर्नुभएको छ ।
त्यस्तै सङ्घका सचिव आरके शर्माले पनि अहिले सङ्घभित्र उत्पन्न विषम परिस्थितिमा अदालतमा गएर दूरी बढाउन नहुने बताउनुभयो । “अदालतले जस्तोसुकै फैसला सुनाए पनि हाम्रो मतभेद बढ्दै जानेछ । अदालत समाधान होइन । कमीकमजोरी भगवानका पनि हुन्छन् ।”
एशिया प्रशान्त क्षेत्र संयोजक गोविन्द श्रेष्ठ, सहसंयोजक खगेन्द्र न्यौपाने, मध्यपूर्व संयोजक प्रविण गुरुङ, सहसंयोजक मनोज गोर्खाली, मध्यपूर्व युवा संयोजक राज रेग्मी लगायतले संस्था अहिले इतिहासकै कठिन मोडबाट गुज्रिरहेका अवस्थामा सरकारसँग मुद्दा मामिलामा नगइ वार्ताबाट नै समस्या समाधान गर्नुपर्ने बताएका छन् ।



प्रतिक्रिया