नेपाली कांग्रेस झापाको सभापति पदमा देउकुमार थेवे निर्वाचित हुनुभएको छ । थेवेले एक हजार ७६५ मत प्राप्त गर्दै आफ्ना प्रतिूपर्धी राम कट्टेललाई पराजित गर्नुभयो । कट्टेलले एक हजार ५१५ मत प्राप्त गर्नुभयो । थेवे र कट्टेल छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा होमिनुभएको थियो । निर्वाचनको पछिल्लो मत परिणामअनुसार थेवे नेतृत्वको टिमले नै जित हासिल गरेको हो । मत परिणामअनुसार उपसभापतिमा थेवे प्यानलका शेरबहादुर भट्टराई एक हजार ६७४ र केशवराज पाण्डे एक हजार ८८९ मत पाएर निर्वाचित हुनुभयो ।
कट्टेल प्यानलबाट उम्मेद्वार बन्नुभएका प्रेम सम्वाहाम्फे लिम्बूले एक हजार ४७५ र शम्सेर गिरी ‘केदार’ ले एक हजार २२१ मत प्राप्त गर्नुभयो । सचिवमा नविन विमली एक हजार ८३८ र कृष्ण हुँमागार्इंले एक हजार ६७६ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो । कट्टेल प्यानलबाट सचिव पदको उम्मेद्वार बन्नुभएका टुमलाल राजवंशीले एक हजार ३२१ र विश्वदीप लिङ्देनले एक हजार ४३१ मत प्राप्त गर्नुभयो । सहसचिवमा कमल भण्डारीले एक हजार ७६० र कालेन्द्र राजवंशीले एक हजार ७६५ मत प्राप्त गर्नुभयो । उहाँहरुका निकटतम प्रतिस्पर्धी उमाराम प्रसाईंले एक हजार ३३७ मत र पदम लिम्बूले एक हजार ३४७ मत प्राप्त गर्नुभयो ।
यो पनि – प्रदेशको अधिकार सुनिश्चित गराउन सभापतिमा उम्मेदवारी : उपसभापति निधि
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसको बहुमतको एकल सरकार बनाउन सभापति बन्न चाहेको बताउनुभएको छ । धनुषा क्षेत्र–३ को प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको आज नगराइनमा उद्घाटन गर्दै उहाँले आगामी निर्वाचनमा कांग्रेसको बहुमत ल्याउन आफू सभापति बन्न खोजेको उल्लेख गर्नुभयो ।
“अघिल्लो निर्वाचनमा कांग्रेसले बहुमत नपाउँदा कम्युनिष्टको सरकार बन्यो, तीन वर्षभित्रै कम्युनिष्ट सरकारले मुलुकलाई सधँै अस्थिर बनाउँदै तहसनहस पारेको अवस्था छ । कांग्रेसको एकल सरकार बनाउन म सभापति बन्न चाहेका हुँु”, उहाँले भन्नुभयो, “संविधानले प्रदेश प्रहरीको व्यवस्था गरेको छ, निजामती सेवाको अधिकार दिएको छ तर यी सबै अधिकार प्रदेशले प्रयोग गर्न पाइरहेका छैनन् । प्रदेशको अधिकार सुनिश्चित गर्नतर्फ अहिलेसम्म कसैले ध्यान दिनसकेको छैन । त्यसका लागि पनि म सभापति बन्न चाहेको छु ।”
उपसभापति निधिले मधेशी, दलित, जनजाति, मुस्लिमलगायत उत्पीडित वर्गको अधिकार सुरक्षित गर्न संविधान संशोधनमा जोड दिनुभयो । “अहिलेको लोकतान्त्रिक गणन्त्रात्मक संविधानलाई कायम राख्दै संविधान संशोधन गर्न चाहेको छु”, उहाँले भन्नुभयो, “संविधान संशोधनका लागि कांग्रेसले त आधिकारिक निर्णय नै गरिसकेको छ । कम्युनिष्टले मानेका छैनन् । यी सबै कुराका लागि पनि नेतृत्व परिवर्तन जरूरी छ ।”
प्रदेश–२ का भौतिक पूर्वाधार विकासमन्त्री एवं कांग्रेस संसदीय दलका नेता राम सरोज यादव, कांग्रेस केन्द्रीय सदस्य मिनाक्षी झा, सांसद स्मृतिनारायण चौधरी, प्रदेश २ का प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, प्रमिला दासलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया