कांग्रेस महाधिवेशन : गण्डकीको सभापतिमा पौडेलको उम्मेदवारी

कांग्रेस महाधिवेशन : गण्डकीको सभापतिमा पौडेलको उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको सभापति पदमा रघुनाथ पौडेलले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेपाली कांग्रेस तनहुँको जिल्ला सभापति पदमा १५ वर्षसम्म जिम्मेवारी सम्हाल्नुभएका पौडेलले पोखरामा आज पत्रकार सम्मेलन गर्दै सङ्गठनलाई थप मजबुद बनाउनका लागि उम्मेदवारी दिन लागेको जानकारी दिनुभयो । गण्डकी प्रदेशका सबै जिल्लाका भूगोलसँग आँफू परिचित रहेको उल्लेख गर्दै उहाँले २०४६ साल, २०६२÷६३ सालको लोकतान्त्रिक जनआन्दोलनमा अन्य दल समेतलाई समेट्दै आन्दोलनको नेतृत्व गर्नुका साथै २०५९ देखि २०६७ सम्म सर्वदलीय संयन्त्रको नेतृत्व गरेको उल्लेख गर्नुभयो ।

प्रदेश सभापतिमा निर्वाचित भएसँगै महाधिवेशनबाट गठन हुने समितिलाई विधानसम्मत रुपमा परिचालन गर्ने, तदर्थवादमा चलेको पार्टी सङ्गठनलाई विधानसम्मत ढङ्गले चलाउने, पार्टीको विविध विभागको यथाशिघ्र गठन गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । भातृ सङ्गठनका पदाधिकारी एवं कार्यकर्तालाई पार्टीको इतिहास, नीति तथा सिद्धान्त र पार्टी सरकारमा हुँदा सम्पन्न गरेको कार्यको प्रचारप्रसार गर्न सक्ने बनाउने उहाँको भनाइ छ । आफ्ना कार्यकर्तालाई विपक्षी दलका कार्यकर्तासँग सैद्धान्तिक बहस गर्नसक्ने बनाउने, आफ्नो पार्टी सरकारमा हुँदा गरिएका राम्रा कामको तथ्याङ्क तयार पारी सार्वजनिक गर्नेसमेत पौडेलले बताउनुभयो ।

यो पनि – कांग्रेस काठमाडौँको मतदान सकियो, केहीबेरमा मतगणना हुने

नेपाली कांग्रेस काठमाडौँको मतदान सकिएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज बिहान १० बजेदेखि सुरु भएको मतदान केही बेर अगाडि सम्पन्न भएको हो । मतदानमा तीन हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधिले भाग लिएका छन् ।काठमाडौँ कांग्रेसका सभापति कृष्ण (सबुज) बानियाँले सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएकाले आज रातिदेखि नै मतगणना गरिने जानकारी दिनुभयो ।

सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको काठमाडौँमा १० निर्वाचन क्षेत्र, २० प्रदेश सभा निर्वाचन क्षेत्र, १० नगरपालिका र एक महानगरपालिका तथा १३८ वडा रहेका छन् । कांग्रेस काठमाडौँको वडा अधिवेशन, पालिका अधिवेशन, प्रदेशसभा क्षेत्र अधिवेशन र क्षेत्रीय अधिवेशन यसअघि नै सम्पन्न भइसकेको छ ।काठमाडौँ कांग्रेसको सभापतिका लागि वर्तमान सभापति बानियाँ र क्षेत्र नं २ का सभापति उपेन्द्र कार्कीबीच समूहसहित प्रतिस्पर्धा भएको छ । बानियाँ समूहको उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी र सहसचिवमा रोमेल श्रेष्ठ र प्राडा अमिता प्रधानले उम्मेदवारी दिनुभएको छ ।

यस्तै कार्की समूहको उपसभापतिमा धर्मराज अर्याल र रामलाल श्रेष्ठ, सचिवमा कुमारराज सुवेदी र सागर रञ्जित तथा सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधानले उम्मेदवारी दिनुभएको छ । कांग्रेसको प्रदेश अधिवेशन यही मङ्सिर १६ र १७ गते तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्ने तय भएको छ ।