नेपाली कांग्रेस ललितपुरको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ निर्वाचित

नेपाली कांग्रेस ललितपुरको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ ६६५ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी रामकृष्ण चित्रकारले ६५३ मत प्राप्त गर्नुभयो ।शनिबार भएको १४ औँ जिल्ला अधिवेशनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पाउन नसकेपछि धेरै मत ल्याउने दुई नेताबीच आज पुनः मतदान भएको जिल्ला निर्वाचन अधिकृत सुरेश घिमिरेले राससलाई जानकारी दिनुभयो ।

उपसभापति, सचिव, सहसचिव, जिल्ला कार्यसमितिका सदस्यहरुको अहिले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेलमा मतगणना जारी रहेको जानकारी पनि उहाँले दिनुभयो । कोषाध्यक्ष भने नवनिर्वाचित जिल्ला सभापतिले निर्वाचित जिल्ला कार्य समितिका सदस्यमध्येबाट मनोनयन गर्ने व्यवस्था कांग्रेसको विधानमा छ ।

यो पनि – नेपाली कांग्रेस झापाको सभापतिमा देउकुमार थेवे निर्वाचित

नेपाली कांग्रेस झापाको सभापति पदमा देउकुमार थेवे निर्वाचित हुनुभएको छ । थेवेले एक हजार ७६५ मत प्राप्त गर्दै आफ्ना प्रतिूपर्धी राम कट्टेललाई पराजित गर्नुभयो । कट्टेलले एक हजार ५१५ मत प्राप्त गर्नुभयो । थेवे र कट्टेल छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा होमिनुभएको थियो । निर्वाचनको पछिल्लो मत परिणामअनुसार थेवे नेतृत्वको टिमले नै जित हासिल गरेको हो । मत परिणामअनुसार उपसभापतिमा थेवे प्यानलका शेरबहादुर भट्टराई एक हजार ६७४ र केशवराज पाण्डे एक हजार ८८९ मत पाएर निर्वाचित हुनुभयो ।

कट्टेल प्यानलबाट उम्मेद्वार बन्नुभएका प्रेम सम्वाहाम्फे लिम्बूले एक हजार ४७५ र शम्सेर गिरी ‘केदार’ ले एक हजार २२१ मत प्राप्त गर्नुभयो । सचिवमा नविन विमली एक हजार ८३८ र कृष्ण हुँमागार्इंले एक हजार ६७६ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो । कट्टेल प्यानलबाट सचिव पदको उम्मेद्वार बन्नुभएका टुमलाल राजवंशीले एक हजार ३२१ र विश्वदीप लिङ्देनले एक हजार ४३१ मत प्राप्त गर्नुभयो । सहसचिवमा कमल भण्डारीले एक हजार ७६० र कालेन्द्र राजवंशीले एक हजार ७६५ मत प्राप्त गर्नुभयो । उहाँहरुका निकटतम प्रतिस्पर्धी उमाराम प्रसाईंले एक हजार ३३७ मत र पदम लिम्बूले एक हजार ३४७ मत प्राप्त गर्नुभयो ।

यो पनि – प्रदेशको अधिकार सुनिश्चित गराउन सभापतिमा उम्मेदवारी : उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसको बहुमतको एकल सरकार बनाउन सभापति बन्न चाहेको बताउनुभएको छ । धनुषा क्षेत्र–३ को प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको आज नगराइनमा उद्घाटन गर्दै उहाँले आगामी निर्वाचनमा कांग्रेसको बहुमत ल्याउन आफू सभापति बन्न खोजेको उल्लेख गर्नुभयो ।

“अघिल्लो निर्वाचनमा कांग्रेसले बहुमत नपाउँदा कम्युनिष्टको सरकार बन्यो, तीन वर्षभित्रै कम्युनिष्ट सरकारले मुलुकलाई सधँै अस्थिर बनाउँदै तहसनहस पारेको अवस्था छ । कांग्रेसको एकल सरकार बनाउन म सभापति बन्न चाहेका हुँु”, उहाँले भन्नुभयो, “संविधानले प्रदेश प्रहरीको व्यवस्था गरेको छ, निजामती सेवाको अधिकार दिएको छ तर यी सबै अधिकार प्रदेशले प्रयोग गर्न पाइरहेका छैनन् । प्रदेशको अधिकार सुनिश्चित गर्नतर्फ अहिलेसम्म कसैले ध्यान दिनसकेको छैन । त्यसका लागि पनि म सभापति बन्न चाहेको छु ।”

उपसभापति निधिले मधेशी, दलित, जनजाति, मुस्लिमलगायत उत्पीडित वर्गको अधिकार सुरक्षित गर्न संविधान संशोधनमा जोड दिनुभयो । “अहिलेको लोकतान्त्रिक गणन्त्रात्मक संविधानलाई कायम राख्दै संविधान संशोधन गर्न चाहेको छु”, उहाँले भन्नुभयो, “संविधान संशोधनका लागि कांग्रेसले त आधिकारिक निर्णय नै गरिसकेको छ । कम्युनिष्टले मानेका छैनन् । यी सबै कुराका लागि पनि नेतृत्व परिवर्तन जरूरी छ ।”

प्रदेश–२ का भौतिक पूर्वाधार विकासमन्त्री एवं कांग्रेस संसदीय दलका नेता राम सरोज यादव, कांग्रेस केन्द्रीय सदस्य मिनाक्षी झा, सांसद स्मृतिनारायण चौधरी, प्रदेश २ का प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, प्रमिला दासलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।