भारतबाट भन्सार छली नेपाल ल्याएको ३१ बोरा चिनी महोत्तरी प्रहरीले गएराति बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको पश्चिमी दक्षिण सीमानाकामा अवस्थित सम्सी गाउँपालिका–७ बाट चिनी बरामद गरिएको हो । प्रहरीले चिनीसँगै भोजपत्ता एक बोरा र मिठाईमा प्रयोग गरिने रङ एकबोरासमेत नियन्त्रणमा लिएको छ ।
साथै ओसारपसारमा प्रयोग गरिएको बीआर ०६ एबी १७६९ र बीआर ३० यु २२४६ नम्बरको दुई मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । बरामद चिनीसहितका सबै सरसामान प्रहरीले भन्सार कार्यालयलाई बुझाउने तयारी गरिरहेको छ ।
यो पनि – गर्भ खेरजाने समस्या बढ्दो
म्याग्दी, १३ मङ्सिर (रासस) ः जिल्लामा पछिल्ला केही वर्षदेखि गर्भ तुहिने र मृत नवजात शिशु जन्मने समस्या बढेको छ । बेनी अस्पतालमा रहेको मातृ तथा नवशिशु मृत्यु निगरानी तथा प्रतिकार्य (एमपिडिएसआर) को तथ्याङ्कले गर्भ तुहिने र गर्भको उमेर पुगे पनि मृत जन्मने समस्या बढेको देखाएको हो । तथ्याङ्कअनुसार आव २०७५÷७६ मा स्वास्थ्य संस्थामा सुत्केरी हुन गएकामध्ये १२ जनाको पेटभित्रै मृत बच्चा थियो ।
सोही आर्थिक वर्षमा छ नवजात शिशुको २२ दिनभित्रै मृत्यु भयो । त्यसैगरी आर्थिक वर्ष २०७६÷७७ मा १५ गर्भवतीले मृत शिशु जन्माए भने एकजना आमाको सुत्केरीपछि रक्तश्राव भई मृत्यु भयो । तीन जना नवजात शिशुले ज्यान गुमाए । आव २०७७÷७८ मा २० जना गर्भवतीले जीवित शिशु जन्माउन सकेनन् । दुई नवजात शिशुको जन्मेको एक साताभित्रै मृत्यु भएको थियो ।
यो तथ्याङ्क सरकारी स्वास्थ्य संस्थामा पुगेका गर्भवतीको मात्र भएको अस्पतालको मातृशिशु सम्पर्क व्यक्ति मनदेवी गौतमले जानकारीदिनुभयो । “सामान्यतया गर्भ रहेको तीन महिनाभन्दा पहिला भु्रण आफैँ बाहिरिने समस्या लिएर गर्भवती स्वास्थ्य संस्थामा आउँदैनन्, अभिलेख पनि राखिँदैन”, उहाँले भन्नुभयो, “सुत्केरी हुने समय पुग्नै लाग्दा पेटमा बच्चा चलेन भन्दै आउँछन् । जाँच गर्दा मृत्यु भइसकेको हुन्छ । कति त पेटमै बच्चा सडिसकेको अवस्थामा आउँछन् ।”
गर्भावस्था एक विशेष मात्र नभएर जटिल अवस्था पनि हो । यो अवस्थामा आमाले आफ्नो स्वास्थ्यको पूर्ण सावधानी अपनाउन नसक्दा पनि भ्रुण÷शिशुको गर्भमै मृत्यु हुने अस्पतालका प्रमुख डा जीतेन्द्र कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आमाको गर्भबाट भ्रुण वा शिशु २८÷३० हप्तासम्म गर्भाशयबाट बाहिर निस्कनुलाई गर्भ तुहिनु÷खेर जानु भनिन्छ ।
गर्भावस्थामा गाह्रो काम गर्दा, गम्भीर चोटपटक लागेमा, जथाभावी औषधि सेवन गरेमा, शरीरमा हर्मोनको असन्तुलन भएमा, यौनजन्य रोग लागेमा, पाठेघर असामान्य भएमा, पाठेघरभित्र अनावश्यक तन्तु वृद्धि भएमा, उमेर नपुगी गर्भ धारण गरेमा र गर्भको भ्रुणमा क्रोमोजोम खराब भएमा गर्भ खेर जाने वा मृत जन्मने समस्या आउने डा कडेलले बताउनुभयो ।
कहिलेकाहीँ गर्भ ३८–४० साता आयु पुगेपछि पनि अचानक गर्भमै मृत्यु पनि हुन सक्छ । “गर्भमा शिशु पूरा आयु नरहने समस्या अक्सर वंशाणुगतअर्थात् भ्रूणमा जेनेटिक डिफेक्ट रहेछ भने प्राकृतिकरुपमा भ्रुण गर्भमा बस्न सक्दैन, आफै निक्लन्छ तर हाम्रोमा अधिकांश भ्रुण परिपक्क भएपछि वा गर्भको बच्चालाई जीवित जन्माउन सकिने सम्भावना रहे पनि असावधानी÷सचेतनाको कमीले मृत शिशु जन्माउने धेरै छन्”, उहाँले भन्नुभयो, “अधिकांश गर्भवती गर्भको चारपटक परीक्षण गराउँदैनन् । नियमित गर्भ परीक्षण नहुँदा पाठेघरमा शिशुको अवस्थिति, पाठेघरको अवस्था र अन्य जटिलता थाहा हुँदैन । एक्कासि बच्चा चलेन भन्दै आउँछन् । बच्चा पेटभित्रै मरिसकेको हुन्छ । तीन महिनाभित्रको भ्रूण जाने÷तुहिने घटना त अभिलेख नै गरिँदैन ।”



प्रतिक्रिया