गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव पुसमा

गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव पुसमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव’ आगामी पुस १५ देखि २६ गतेसम्म गलकोट नगरपालिका–६ मजुवा फाँटमा हुने भएको छ । ‘ड्रिम टिम गलकोट’को आयोजनामा हुने महोत्सवको तयारी अगाडि बढाइएको संस्थाका अध्यक्ष रुपक पाण्डेले बताउनुभयो । १२ दिनसम्म चल्ने महोत्सवमा खुला भलिबल प्रतियोगिता, गलकोट डान्स आइडल–२०७८, रत्यौली, माछा छोप्ने (हत्केला खेल्ने), दौड, ब्याडमिन्टन, टेबुलटेनिसलगायत प्रतियोगिता हुनेछन् ।

महोत्सवमा मौलिक कला, संस्कृतिको प्रदर्शन, रमाइलो मेला र साङ्गीतिक कार्यक्रम पनि हुने उहाँले जानकारी दिनुभयो । “महोत्सव सफल पार्न स्थानीय प्रशासन, राजनीतिक दल, सङ्घसंस्थादेखि सबै पक्षसँग समन्वय गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।कोरोना सङ्क्रमण मत्थर भएको र दुई वर्षदेखि गलकोटमा खेल, कला र मनोरञ्जनका गतिविधि नभएकाले महोत्सव आयोजना गरिएको ड्रिम टिम गलकोटले जनाएको छ । महोत्सवबाट खेल, कला, संस्कृतिसँगै व्यापार प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास आयोजकको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारको साङ्गीतिक प्रस्तुति पनि रहने जनाइएको छ । यसअघि पनि गलकोट उद्योग वाणिज्य सङ्घ, गलकोट घुम्टे पर्यटन विकास केन्द्रलगायतका सङ्घसंस्थाले गलकोटमा मेला, महोत्सवको आयोजना गर्दै आएका थिए । कोरोना महामारीका कारण दुई वर्षदेखि त्यस्ता कार्यक्रम रोकिन पुगेका थिए । अहिले कोरोना सङ्क्रमण दर न्यून रहेको र कोरोनाविरुद्ध खोपको पहुँच पनि बढ्दै गएकाले सार्वजनिक समारोह, मेला तथा महोत्सव हुन थालेका हुन् ।

गत हप्ता बडिगाड गाउँपालिकामा परम्परागत न्वागी मेलाको आयोजना गरिएको थियो । त्यसअघि ताराखोला गाउँपालिकामा भुस पोल्ने पर्व, हरिबोधनी एकादशी मेलालगायत कार्यक्रम भएका थिए । जनस्वास्थ्यकर्मीले भने कोरोनाको जोखिम कामयै रहेकाले भिडभाडजन्य गतिविधि गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न नहिच्किचाउन सचेत गराउँदै आएका छन् ।

यो पनि – निकुञ्जमा पर्यटकीय गतिविधि बढ्यो

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका कारण चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ । एमालेको चितवनमा जारी महाधिवेशनका लागि आएका पार्टीका नेता, प्रतिनिधि तथा कार्यकर्ताका कारण निकुञ्ज र मध्यवर्ती क्षेत्रको पर्यटकीय चहल पहल बाक्लिएको हो

बाघमारा सामुदायिक वनका कार्यालय सचिव हरि आचार्यले पछिल्लो तीन दिनमा हात्ती सफारी र जङ्गल सफारी गर्नेको सङ्ख्यामा तीन दोब्बरभन्दा धेरैले वृद्धि भएको जानकारी दिनुभयो । “कोरोनाका कारण लामो समय बन्द रहेको पर्यटकीय गतिविधिमा एमाले महाधिवेशनले नयाँ तरङ्ग ल्याएको छ”, उहाँले भन्नुभयो, “अहिले देशभरबाट आएका प्रतिनिधि एवं शुभेच्छुकका कारण तत्काल केही पर्यटकीय गतिविधि बढेको छ । यसले दीर्घकालमा अझै धेरै सकारात्मक प्रभाव पार्ने हामीले विश्वास लिएका छौँ ।”

विश्वमै दुर्लभ मानिएको एक सिङ्गे गैँडा हेर्नका लागि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा आउने गरिन्छ । जङ्गल सफारीमा जाने व्यक्तिले छ वटासम्म एक सिङ्गे गैँडा, चराचुरुङ्गी, बँदेल, तीन प्रजातिका चित्तल, सङ्कटापन्न अवस्थाको घडियाल गोही सहजै देख्न सक्ने उहाँले बताउनुभयो । “यहाँको मध्यवर्ती क्षेत्रको सफारीमा जाँदा गैँडासहितका केही जनावर सहजरुपमा देख्न पाइन्छ”, सचिव आचार्यले भन्नुभयो, “कहिलेकाहीँ चितुवा र बाघसमेत देख्ने अवसर मिल्छ ।”

जङ्गल सफारीमा गएका व्यक्ति गैँडासहितका जनावर देख्दा उत्साहित हुने गरेका छन् । पर्वतका एमाले महाधिवेशन प्रतिनिधि हरिहर पोखरेलले जङ्गल सफारी निकै रोमाञ्चित भएको बताउनुभयो । “जङ्गल सफारी निकै रमाइलो भयो, दुर्लभ जनावर सहजै देख्न पायौँ”, उहाँले भन्नुभयो, “जङ्गल सफारीमा जाँदा त्यस क्षेत्रमा महत्वपूर्ण रुख ढलेर यसै खेर गइरहेका छन् । जङ्गल सफारीलाई केही व्यवस्थित गर्नुपर्ने देखिएको छ ।” साल सिसौँका रुख सरकारको महत्वपूर्ण सम्पत्ति भएको जनाउँदै नेता पोखरेलले रुखको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

“जङ्गल सफारीमा जाँदा धेरै रुख ढलेको देखेँ, तिनीहरुलाई व्यवस्थित गर्नु जरुरी छ”, उहाँले भन्नुभयो, “ढलेका र पुराना रुख हटाउँदै नयाँ बिरुवा रोपेर त्यसको संरक्षण र जगेर्ना गर्दै पर्यटकीय गतिविधि गर्नुपर्ने देखिन्छ ।”
महाधिवेशनका कारण पहिलोपटक चितवन आएको र यहाँको पर्यटकीय गतिविधिमा संलग्न हुन पाएको मोरङका नेत्रप्रसाद दाहालले बताउनुभयो । “चितवनमा आएर गैँडा हेर्ने धोको पहिल्यैदेखि थियो, यो धोको महाधिवेशनबाट पूरा भयो”, उहाँले भन्नुभयो, “यहाँ आएर मैले निकुञ्जको मध्यवर्ती वनमा जीप सफारी, हात्ती सफारी गर्ने अवसर पाएँ ।”

देशकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेका चितवन रहेको छ । पछिल्लो समय राष्ट्रिय निकुञ्जसहित आसपासका क्षेत्रमा पर्यटकीय गतिविधि बढेका हुन् । महाधिवेशनमा सहभागी हुन आउने व्यक्तिका कारण भरिभराउ भएको सौराहाबाट दैनिकरुपमा जीप सफारी तथा हात्ती सफारीबाट निकुञ्ज र मध्यवर्ती क्षेत्रको अवलोकनमा प्रतिनिधि जाने गरेका छन् । सौराहा र आसपासको क्षेत्रमा छुट्टै रौनकता थपिएको छ । सुस्त रहेको पर्यटकीय गतिविधिमा महाधिवेशनले दीर्घकालीन रुपमा प्रभाव पर्नेमा व्यवसायी विश्वस्त छन् ।