राप्रपाको अध्यक्ष पदमा उम्मेदवारी दिने कमल थापाको घोषणा

राप्रपाको अध्यक्ष पदमा उम्मेदवारी दिने कमल थापाको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीको यही मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने एकता महाधिवेशनमा पुनःअध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।  उर्जाशील नेतृत्व, गतिशील र वैकल्पिक शक्ति निर्माणका लागि भन्ने नारासहित आयोजना गरिएको उक्त घोषणा सभामा उहाँले पार्टीलाई कहिल्यै विभाजन हुन नदिने संकल्पका साथ उम्मेदवारी दिन लागेको घोषणा गर्नुभयो । अध्यक्ष थापाले भन्नुभयो, “पार्टीका केही काम बाँकी छाडेर पलायन हुने अनुमति आफूलाई नभएकाले उम्मेदवारी दिन लागेको हुँ, एकता महाधिवेशनलाई नाम मात्रका लागि होइन, मन, बचन र कर्मले पनि एकताबद्ध तुल्याउनुपर्छ, पार्टीमा एकता, सद्भावना र सहमतिको सन्देश दिनपर्छ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को यही मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौँमा हुने एकता महाधिवेशनमा अध्यक्ष पदमा पुन उम्मेदवारी घोषणा गर्नुभएका अध्यक्ष कमल थापासहित नेता । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

विसं २०४७ मा गठन भएको राप्रपा र राप्रपा नेपालमा अध्यक्ष थापासँग केन्द्रीय सदस्य र अध्यक्ष तीन–तीन पटक भएको अनुभव छ । अध्यक्ष थापाले भन्नुभयो, “नेपालको भूराजनीतिक धरातलका आधारमा राजतन्त्रसहितको प्रजातन्त्र र सनातन हिन्दुअधिराज्यका मुद्दालाई प्रखररुपमा अघि बढाइनेछ, त्यसको आधार तयार भएपछि पार्टीको जिम्मेवारीबाट विश्राम लिनेछु ।”

विसं २०६२÷६३ को जनआन्दोलनपछि भएको संविधानसभामा २५ सदस्य पठाएर संविधान निर्माणमा योगदान पु¥याएको राप्रपाको हाल प्रतिनिधिसभामा राजेन्द्र लिङदेनले प्रतिनिधित्व गर्दै आउनुभएको छ । अध्यक्ष थापाले भन्नुभयो “सवैधानिक बाटोबाटै पुरा गर्नु पर्ने केही काम अधुरा छन्, त्यसका लागि सङ्घर्ष गर्नुपर्नेछ, त्यो कामका लागि अध्यक्षमा निरन्तरता दिन चाहेको हुँ, राप्रपाको एकीकृत अध्यक्षकारुपमा पार्टीलाई एक पटक जुरुक्क उठाउन चाहन्छु । आगामी चुनावमा मुलुकको तेस्रो ठूलो शक्तिका रुपमा स्थापित गर्न हरसम्भव प्रयत्न गर्नेछु ।”

मुलुकका ७५३ स्थानीय तहमध्ये एक नगरपालिकासहित ४ पालिकामा राप्रपाले नेतृत्व गरिरहेको छ । विसं २०७६ फागुन २९ गते तत्कालीन राप्रपा र राप्रपा संयुक्तबीच एकिकरण भएपछि एकता महाधिवेशन हुन लागेको हो । उक्त पार्टीका काठमाडौ जिल्ला अध्यक्ष नवराज सिम्खडाले अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित प्रखर र सहासिक व्यक्तित्वका रुपमा रहेका अध्यक्ष थापाको नेतृत्वमा राप्रपालाई एकताबद्ध तुल्याउँदै सुदृढ तुल्याउन आवश्यक रहेको बताउनुभयो ।
सभामा पार्टीका नेता दिपक बोहरालगायतका वक्ताले राष्ट्रियता, उदारबाद र समदर्शनको सिद्धान्तलाई अघि बढाएको राप्रपाले अब सत्ता होइन, सिद्धान्त र जनता केन्द्रित भएर राजनीतिक कार्यक्रम अघि बढाउने धारणा व्यक्त गर्नुभयो ।

यो पनि – कांग्रेस केन्द्रीय सदस्य पाण्डेद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले पार्टीको आसन्न १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी पार्टी विधानले व्यवस्था गरेको पिछडिएको क्षेत्र क्लष्टरअन्तर्गतको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँ कांग्रेसको १२ औँ महाधिवेशनमा सेती अञ्चलबाट केन्द्रीय सदस्यमा र १३औँ महाविधेशनमा खुला केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

नेपाल विद्यार्थी सङ्घ राजनीतिको लामो अनुभव संगाल्नुभएका केन्द्रीय सदस्य पाण्डेले चार ‘ब’ अर्थात् विचार, विधान, बैठक र व्यवस्थापनअन्तर्गतका आफ्ना एजेण्डा सुनाउँदै भन्नुभयो, “विचारमा एकरुपता र स्पष्टता, विधानको अक्षरशः पालना, नियमित बैठक तथा कार्यकर्ता, कार्यालय र अर्थको व्यवस्थापन नै पार्टी सुदृढीकरणको मेरो एजेण्डा हो ।” राजनीतिमा सुधारका लागि पार्टीमा सुधार हुनुपर्ने र देश सुधारका लागि राजनीतिमा सुधार हुनुपर्ने बताउँदै नेता पाण्डले पार्टी सुधार्न नेतृत्वले आन्मालोचना गरेर सुध्रिनुपर्ने धारणा व्यक्त गर्नुभयो । पार्टीमा जेसिजमा जस्तै एक व्यक्ति, एक पद र एक कार्यकालको व्यवस्था गर्नुपर्ने आफ्नो मान्यता रहेको सुनाउँदै उहाँले अब आफू कुनै पनि पदमा नदोहोरिने स्पष्ट पार्नुभयो ।

उहाँ विसं २०७० को संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य र २०७४ सालको राष्ट्रियसभा निर्वाचनमा राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । कांग्रेसको हालको विधानले महिला, आदिवासी÷जनजाति, दलित, मधेशी, खसआर्य, थारु, मुस्लिम, पिछडिएको क्षेत्र क्लष्टरबाट एक÷एक जना गरी आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरेको छ । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।