धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । आइतबार उच्च अङ्कले ओरालो लागेको नेप्से आज केही थामिए जस्तो भए पनि कारोबार बन्द हुँदासम्म २१.४८ अङ्कले घटेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २१.४८ अङ्कले घटेर दुई हजार ६३०.०१ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६ अङ्कले घटेर ४९५.४५ मा सीमित भएको छ । नेप्से परिसूचक ओरालो लागे जस्तै कारोबार रकम पनि रु चार अर्बमा सीमित भएको छ । कूल २२८ कम्पनीको ८२ लाख २५ हजार ८२२ कित्ता शेयर रु चार अर्ब ८९ लाख ३७ हजार १३३ मूल्यमा खरिद बिक्री भए ।
सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब ९२ अर्ब ७१ करोड ३० लाख ९० हजारको हाराहारीमा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । जलविद्युत् ०.५९ र सामूहिक लगानी कोष ०.०२ अङ्कले बढेको छ । बैंकिङ १०.८९, व्यापार ५.९४, होटल तथा पर्यटन ७३.३, विकास बैंक ६७.४४, वित्त ३१.९२, निर्जीवन बीमा ६७.८३, उत्पादन ६१.९५, अन्य ४१.१३, लघुवित्त ४०.८३, जीवन बीमा ११७.०४ र लगानी ०.६४ अङ्कले ओरालो लागेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ६१ करोड चार लाख ७५ हजार ३४० बराबरको कारोबार भयो । नेशनल हाइड्रोपावर रु १५ करोड १२ लाख तीन हजार ४४६, आइसिएफसी फाइनान्स रु १२ करोड ४९ लाख ४७ हजार ४१८, नेपाल दूरसञ्चार कम्पनी रु नौ करोड ९५ लाख ४५ हजार ४४५ र नबिल बैंक रु नौ करोड १४ लाख ९९ हजार ९०६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
कारोबारका आधारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाए । सामालिङ पावर ९.९८, सानिमा लार्ज क्याप ४.२८, कालिका पावर कम्पनी ३.६७ र स्वाभिमान लघुवित्तका लगानीकर्ताले ३.५९ प्रतिशतले कमाए । त्यस्तै, आइसिएफसी फाइनान्स १०, चन्द्रागिरी हिल्स ५.२०, महालक्ष्मी विकास बैंक ५, मानुषी लघुवित्त ४.६८ र उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ३.९६ प्रतिशतले गुमाएका छन् ।
यो पनि – मकवानपुरमा ५९ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाए
मकवानपुर जिल्लामा हालसम्म ५९ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोरोनाविरुद्धको खोप पर्याप्तमात्रामा रहे पनि जिल्लाका ५९ प्रतिशत नागरिकले सो खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हेटाँैडा उपमहानगरपालिकामा ८८ प्रतिशत र अन्य पालिका र स्थानीय ग्रामीण तथा दुर्गम क्षेत्रमा २४ देखि ३० प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएको जनाइएको छ । जिल्लामा एकमात्रा मात्र खोप लगाएका ५१ प्रतिशत र दुई मात्रा खोप लगाएका ५९ प्रतिशत रहेको बताइएको छ । मकवानपुर जिल्लामा अठार वर्षमाथिकाको जनसङ्ख्या तीन लाख चार हजार ६४७ रहेको र ती सबैलाई सो खोप दिने लक्ष्य रहेको सो कार्यालयले जनाएको छ ।
सबै गाउँपालिकामा खोपको व्यवस्था गरिएको सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताउनुभयो । कोरोनाविरुद्धको कार्यक्रमअन्तर्गत कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तथा हेटौँडा अस्पतालसँगको सहकार्यमा नियमितरुपमा कार्यक्रम सञ्चालन भइरहेको र कोरोनाविरुद्धको खोपको विवरण सङ्कलन भई सार्वजनिक पनि हुँदै आएको कार्यालयले जनाएको छ ।
कोरोना नियन्त्रणका साथै कोरोना सङ्क्रमितको सहज उपचारका लागि १७ वटा एम्बुलेन्समा जिपिएस जडान गरी कोरानाविरुद्धको खोपलाई प्राथमिकतामा राखेर खोप दिइएको कार्यालयले जनाएको छ ।साथै सो कार्यालयले क्षयरोग, कुष्ठरोग, मानसिक रोग र एचआइभी सङ्क्रमको उपचार भइरहेको बताइएको छ । सो कार्यालयले चालू आर्थिक वर्षमा विभिन्न स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यस कार्यालयबाट बाल स्वास्थ्य कार्यक्रमअन्तर्गत पोषण कार्यक्रम, बालबालिकामा नियमित खोप, बालभिटा, जुकाको औषधि वितरण, परिवार स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत सुरक्षित मातृत्व सेवा, परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजनसम्बन्धी सेवाका स्थायी साधन र विभिन्न आवश्यक सामग्री स्थानीय तहसँग समन्वय गरेर सेवा उपलब्ध गराइएको छ ।यस्तै सामुदायिक स्वास्थ्य सेवाअन्तर्गत गाउँघर क्लिनिक, सुत्केरी सेवा तथा राष्ट्रिय भिटामिन ए कार्यक्रम र गर्भ जाँच गर्ने जस्ता सेवालगायतका जनचेतना कार्यक्रम सो कार्यालयले गर्दै आएको बताइएको छ ।



प्रतिक्रिया