म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बेनीदेखि बेगको सिमतर्फ जाँदै गरेको ग१ज ७२५१ नंको जिप औँलामा दुर्घटना भएको हो । प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङका अनुसार मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुढबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्मा छन् । उनीहरु सवै बेगका बासिन्दा हुन् । गौमाया रघुगङ्गा गाउँपालिका–१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन् । पुन र शर्माको घटनास्थलमा तथा चालक थापा र विकको उपचारका लागि बेनी ल्याउँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ । जिप सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो ।
यो पनि – पछिल्लो २४ घण्टामा २५९ मा कारोना सङ्क्रमण
पछिल्लो २४ घण्टामा मुलुकमा २५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सात हजार २३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ र दुई हजार ६५७ जनाको एन्टिजेन परीक्षण गर्दा १६ गरी कूल २५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या नौ लाख १६ हजार ६०९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २६४ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख दुई हजार ६५३ जना पुगेको मन्त्रालयले जनाएको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९४४ रहेका छन् । तीमध्ये ६ हजार ५४१ होम आइसोलेशनमा र ४०३ जना संस्थागत आइसोलेशनमा छन् । सङ्क्रमितमध्ये १५९ आइसीयू र ३७ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यसैगरी १० वर्ष मुनिका सात बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ देखि २० वर्ष उमेर समूहका १७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२४ पुगेको छ ।



प्रतिक्रिया