नेकपा (एमाले)को अध्यक्षमा उम्मेदवारी दिनुभएका नेता डा भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताउनुभएको छ । चितवनमा जारी एमालेको दशौँ महाधिवेशनमा मङ्गलबार बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम स्वीकार्ने बताउनुभएको हो । निर्वाचन परिणाम जे आए पनि स्वीकार्ने तर केन्द्रीय सदस्य भने नबस्ने नेता रावलको भनाइ थियो । रावल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धामा हुनुहुन्छ । प्रतिस्पर्धामा पराजित भए आफू केन्द्रीय समितिमा नरहने उहाँले घोषणा गर्नुभएको छ । अध्यक्ष ओलीले सोमबार मध्यराति सर्वसम्मतिका लागि भन्दै सार्वजनिक गरेको ३०१ जनाको सूचीमा रावलको नाम केन्द्रीय सदस्यमा राखिएको थियो । उहाँले विद्युतीय भोटिङ मेसिनमा आफ्नो नाम रहेको भन्दै त्यसमा आफ्नो उम्मेदवारी नरहेको प्रष्ट पार्नुभयो ।
एमाले पदाधिकारीका उम्मेदवारलाई स्वतः केन्द्रीय कमिटीको उम्मेदवारका रुपमा राखिएको छ । रावलले आफूले अध्यक्ष पदका लागि मात्र फारम भरेको स्पष्ट पार्नुभयो । रावलले देश, जनता र लोकतन्त्रको हितमा निरन्तर काम गरिरहने बताउनुभयो । बिहान ४ बजेदेखि सुरु भएको मतदान जारी छ ।
यो पनि – कांग्रेस महाधिवेशन : बागलुङमा शेरचन, उदयपुरमा कार्की विजयी
नेपाली कांग्रेस बागलुङको सभापतिमा जीतबहादुर शेरचन विजयी हुनुभएको छ । कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि आइतबार मतदान भएको थियो । केहीबेर अघि सार्वजनिक मत परिणामअनुसार शेरचन ८१८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी जगदीशचन्द्र उपाध्यायले ७२४ मत ल्याउनुभएको प्रमुख निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । शनिबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि अर्का प्रत्यासी द्रोर्ण कँवर निर्वाचनबाट बाहिरिनुभएको थियो । त्यसपछि शेरचन र उपाध्यायबीच पुनः प्रतिस्पर्धा भएको हो ।
यस्तै जिल्ला उपसभापतिमा सागर छन्त्याल र तारानाथ पौडेल विजयी हुनुभएको छ । छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त गर्नुभयो । सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी निर्वाचित हुनुभएको छ । शर्माले ९०८ र अधिकारीले ७०७ मत प्राप्त गर्नुभयो । सहसचिवमा फमबहादुर खत्री र ज्ञानकुमारी शर्मा श्रीष विजयी हुनुभयो । खत्रीले ८५५ र श्रीषले ८८० मत प्राप्त गर्नुभयो ।
उदयपुरको सभापतिमा कार्की विजयी
उदयपुर ः नेपाली कांग्रेसको उदयपुर जिल्ला सभापतिमा हिमाल कार्की निर्वाचित हुनुभएको छ । दुई सदस्यबाहेक अरु सबै पदाधिकारीमा कार्की प्यानल विजयी भएको छ । कार्कीले ६७६ तथा उहाँका प्रतिद्वन्द्वी निवर्तमान सभापति विदुर बस्नेतले ५८९ मत प्राप्त गर्नुभयो । नवनिर्वाचित जिल्ला सभापति कार्की निर्वाचन क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्य तथा प्रदेश १ को भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत हुनुहुन्छ ।
यस्तै उपसभातिमा भीमचन्द्र राई, सचिवमा मुरारी खड्का र राजेशचन्द्र श्रेष्ठ तथा सहसचिवमा चन्द्रदीप पौडेल र टीकाराम बुढाथोकी निर्वाचित हुनुभएको छ । सदस्यमा कूल ३८ सदस्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यसअघि निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा खगेन्द्रकुमार राई र क्षेत्र नं २ को सभापतिमा राकुमार राई विजयी हुनुभएको थियो ।
प्रतिक्रिया