कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता शाही निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले असोज १५ गते राजीनामा दिएपछि १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थानुसार आज उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) भने अनुपस्थित रहने भएको छ । एमालेको मङ्सिर १० गतेदेखि चितवनमा जारी १०औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन सौराह पुगेका कारण आफूहरु सहभागी हुन नसक्ने प्रदेशसभामा एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिनुभयो । मुख्यमन्त्रीले विश्वासको मत नलिँदा संवैधानिक जटिलता आउने भएकाले बैठक नरोकिने कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो । प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भए पनि बैठक अगाडि बढ्ने उहाँको भनाइ छ ।
यो पनि – एमाले महाधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु
नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो ।
नेकपा (एमाले)का अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र डा भीम रावल तथा अन्य शीर्षनेताले मतदान गरिसक्नुभएको छ । विद्युतीय प्रक्रियामा मतदान भइरहेको छ । पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि निर्वाचन हुँदैछ । त्यस्तै केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश नं १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश नं १ महिला, समावेशी क्षेत्रतर्फ दलित (खुला), थारू (खुला), पिछडिएको क्षेत्र र सुदूरपश्चिम प्रदेशको महिलातर्फ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ । अरू सबै पदमा सर्वसम्मत भएको छ ।
अध्यक्ष पदका लागि ओली र रावलले उम्मेदवारी दिनुभएको छ । यस्तै ६ उपाध्यक्षका लागि सात र सात सचिवका लागि नौ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र घनश्याम भुसालको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । यस्तै सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, भीम आचार्य र टङ्क कार्कीकोे उम्मेदवारी परेको छ ।
केन्द्रीय समितिमा ८४ खुला केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेदवारी परेको छ । प्रदेश नं १ (भौगोलिक क्षेत्र) खुलातर्फ ६ सदस्यका लागि सात जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश नं १ महिलामा तीन सदस्यका लागि चार जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । त्यस्तै समावेशी क्षेत्रको दलित खुलातर्फ आठ सदस्यका लागि नौ जना, थारू खुलामा पाँच सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा तीन सदस्यका लागि चार तथा सुदूरपश्चिम प्रदेशको महिलातर्फ तीन सदस्यका लागि पाँच जनाबीच प्रतिस्पर्धा हुँदैछ ।
महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै छ । महाधिवेशनको उद्घाटनसत्र यही मङ्सिर १० गते नारायणगढको नारायणी नदी किनारमा भएको थियो भने बन्दसत्र सौराहामा भएको हो । सर्वसम्मत पदाधिकारीलगायत सदस्य चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया थालिएको हो ।
प्रतिक्रिया