मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छ : उपराष्ट्रपति पुन

मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छ : उपराष्ट्रपति पुन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ ।

चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उहाँले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षा आवश्यक रहेकाले शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने बताउनुभयो । “शिक्षामा आएका दरार हटाउँदै, समान शिक्षाका लागि आन्दोलन जरुरी छ, शिक्षा क्षेत्रमा विभेद हुनु हुँदैन, पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरसमेत बढेर गएको छ, विद्यालय व्यवस्थापन समिति र विद्यालय मिलेर अगाडि बढे शैक्षिक क्षेत्रको रुपान्तरण सम्भव छ”, उहाँले भन्नुभयो । सामुदायिक विद्यालयलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

विश्व हिन्दू महासङ्घका केन्द्रीय अध्यक्ष एवं पूर्वमन्त्री रामचन्द्र अधिकारीले सामुदायिक विद्यालयको भौतिक सुधारसँगै प्राविधिक शिक्षाको सञ्चालनका लागि सुरुआत भएको महायज्ञलाई सफल बनाउन स्थानीय सरकारको मुख्य दायित्व रहेको बताउनुभयो । पूर्वसांसद रुपा महर्जन, चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष गोपी सुर्खेतीले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि सबैको साथ र सहयोग रहेको उल्लेख गर्दै विद्यालयलाई प्रविधिमैत्री र गुणस्तरीय शैक्षिक वातावरण तयार गर्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

महायज्ञ मूल समारोह समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रवण सुवेदीले धार्मिक महायज्ञलाई सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका रूपमा आयोजना गर्न लागेको बताउनुभयो । सोमबारदेखि सुरु भएको महायज्ञ मङ्सिर २१ गतेसम्म सञ्चालन हुनेछ । उक्त महायज्ञमा पण्डित वासुदेव घिमिरेले कथा वाचन गर्नुहुनेछ ।

यो पनि – चार पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न

जाजरकोटका चार पालिकामा नेकपा ( माओवादी केन्द्र)को अधिवेशन सम्पन्न भएको छ । पार्टीको केन्द्रीय निर्देशनअनुसार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकसाथ भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्नुभएको हो । नलगाड, भेरी नगरपालिका, कुशे र बारेकोट गाउँपालिकामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नलगाड नगर कमिटीको अध्यक्षमा गणेश सिंह, उपाध्यक्षमा अमर वली, बालकुमारी बस्नेत, गुमान रावत, सचिवमा प्रचण्ड वली, सहसचिवमा वीरबहादुर खड्का र कोषाध्यक्षमा तेजबहादुर परियारलाई सर्वसम्मत चयन गरेको छ ।

यस्तै बारेकोट गाउँ कमिटीको अध्यक्षमा हरिबहादुर थापा, उपाध्यक्षमा योगेन्द्र सिंह, ओमबहादुर नेपाली, दलबहादुर सिंह, सचिवमा वसन्त शाही, सहसचिवमा प्रेम बोहरा र रमा रावत चयन हुनुभएको छ । भेरी नगर कमिटीको अध्यक्षमा दीपक बस्नेत, उपाध्यक्षमा मनबहादुर शाही, ललित बस्नेत, टेकबहादुर रोकाय, सचिवमा मीना पुन, सहसचिवमा खीमबहादुर विक र कोषाध्यक्षमा भीमहादुर खत्री चयन हुनुभएको छ । यस्तै कुशेमा गाउँ कमिटीको अध्यक्षमा हरिचन्द्र जैसी, उपाध्यक्षमा मानबहादुर विक, विकास रोकाय, नीरजकुमार पुन, कोषाध्यक्षमा सरस्वती विष्ट, सचिवमा कृष्णबहादुर शाही र सहसचिवमा बविता चनारालाई चयन गरिएको कुशेगाउँ कमिटीले जनाएको छ ।