चितवनको सौराहामा जारी नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारको सूची बाँडिएको प्रति एमाले नेता डा भीम रावलले आपत्ति जनाउनुभएको छ । आज बिहान ४ बजेदेखि मतदान सुरु भएपछि रावलइतरको समूहले उम्मेदवारको सूची प्रकाशन गरेर प्रतिनिधिलाई बाँडेको थियो । मतदान सुरु भएपछि उम्मेदवारको सूची प्रकाशन गर्नु र प्रतिनिधिलाई वितरण आचारसंहिताविपरीत भएको भन्दै रावलले आपत्ति जनाउनुभएको हो । उहाँले भन्नुभयो, “मतदान इलाकामा पार्टी निर्वाचन आचारसंहिताविपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु ।”
निर्वाचन आचारसंहिताविपरीतको कामले पार्टीमा धब्बा लाग्ने र लोकतन्त्रलाई कमजोर बनाउने रावलको भनाइ छ । निर्वाचन आचारसंहिताविपरीतको गतिविधि रोक्नका लागि रावलले निर्वाचन आयोग र सुरक्षाकर्मीसँग आग्रह गर्नुभएको छ । रावलइतर पक्षले पदाधिकारीसहित केन्द्रीय सदस्यका उम्मेदवरको सूची प्रकाशन गर्दै ओली पक्ष बाहेककालाई मतदान गर्न सङ्केत प्रयोग गरेर वितरण गरेका हुन् ।
एमाले महाधिवेशन ः १६ सय बढी मत खस्यो
चितवनको सौराहामा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा एक हजार ६०० भन्दा बढी मत खसेको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार अहिले बिहान ९ः३० बजेसम्ममा एक हजार ६५० खसिसकेको छ । नयाँ नेतृत्व चयनका लागि बिहान ४ बजेदेखि मतदान सुरु भएको थियो । मतदाता लाइनमा बस्ने बेलासम्म मतदान जारी रहने भन्दै दाहालले ११ बजेसम्म मतदान सकिने जानकारी दिनुभयो । महाधिवेशनमा दुई हजार १५३ जनाले मतदान गर्दैछन् । मतदाताले अध्यक्ष, उपाध्यक्ष, सचिव तथा केन्द्रीय सदस्य पदका लागि मतदान गर्दैछन् । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव भने निर्विरोध चयन भइसकेका छन् ।
यो पनि – एमाले महाधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु
नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो । नेकपा (एमाले)का अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र डा भीम रावल तथा अन्य शीर्षनेताले मतदान गरिसक्नुभएको छ । विद्युतीय प्रक्रियामा मतदान भइरहेको छ । पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि निर्वाचन हुँदैछ । त्यस्तै केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश नं १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश नं १ महिला, समावेशी क्षेत्रतर्फ दलित (खुला), थारू (खुला), पिछडिएको क्षेत्र र सुदूरपश्चिम प्रदेशको महिलातर्फ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ । अरू सबै पदमा सर्वसम्मत भएको छ ।
अध्यक्ष पदका लागि ओली र रावलले उम्मेदवारी दिनुभएको छ । यस्तै ६ उपाध्यक्षका लागि सात र सात सचिवका लागि नौ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र घनश्याम भुसालको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । यस्तै सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, भीम आचार्य र टङ्क कार्कीकोे उम्मेदवारी परेको छ ।
केन्द्रीय समितिमा ८४ खुला केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेदवारी परेको छ । प्रदेश नं १ (भौगोलिक क्षेत्र) खुलातर्फ ६ सदस्यका लागि सात जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश नं १ महिलामा तीन सदस्यका लागि चार जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । त्यस्तै समावेशी क्षेत्रको दलित खुलातर्फ आठ सदस्यका लागि नौ जना, थारू खुलामा पाँच सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा तीन सदस्यका लागि चार तथा सुदूरपश्चिम प्रदेशको महिलातर्फ तीन सदस्यका लागि पाँच जनाबीच प्रतिस्पर्धा हुँदैछ ।
महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै छ । महाधिवेशनको उद्घाटनसत्र यही मङ्सिर १० गते नारायणगढको नारायणी नदी किनारमा भएको थियो भने बन्दसत्र सौराहामा भएको हो । सर्वसम्मत पदाधिकारीलगायत सदस्य चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया थालिएको हो ।
प्रतिक्रिया