१४ मङ्सिर (रासस÷एएनआई) ः भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । पछिल्लो एक दिनमा थप छ हजार ९९० जना मात्रै कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या निकै कम हो । भारतमा यसअघि औसतमा दैनिक दश हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका थिए ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ५४३ मा झरेको अधिकारीहरुले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले १० हजार ११६ जना पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको जनाएको छ । एउटै समयमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या घट्दै गएको छ । भारतमा अहिलेसम्म तीन करोड ३० लाख १८ हजार २९९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएका छन् ।
यो पनि – ऐतिहासिक भीमसेन मन्दिरका छानामा झिँगटीले छाइँदै
ललितपुर, १४ मङ्सिर (रासस)ः ऐतिहासिक पाटन दरबार परिसरस्थित भीमसेन मन्दिरको छानामा झिँगटी छाउने काम जारी छ । विसं २०७२ को गोरखा भूकम्प र पटकपटक आएको पराकम्पनका कारण मन्दिरको दलिन, बिम र माथिल्लो तलाको गारो थाम्ने थामसमेत भाँचिएर चिराचिरा परेको थियो ।
तीनतले मन्दिरको सबैभन्दा माथि गजुर हाल्ने,सुन लेपन गरिएको तामाको पाता छाउने काम सकिएर दोस्रो तलामा झिँगटी छाउने काम धमाधम भइरहेको ललितपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दोस्रो तलामा झिँगटी छाउने काम आज सम्पन्न हुन्छ ।” मन्दिरको भुइँबाट पहिलो अर्थात् माथि छानाबाट हेर्दा तेस्रो तलामा भने आउँदो शनिबार बिहान जनश्रमदानबाट जनताको सहयोगमा झिँगटी छाउने काम पूर्ण गरिने उहाँले जानकारी गराउनुभयो ।
झिँगटी छाएपछि मन्दिरको तोरण सफा गरी हालिने योजना बनाइरहेको मन्दिरका साइट इन्जिनियर प्रणाम होराले बताउनुभयो । मन्दिर पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरभित्रको सरसफाइ गरी छिट्टै शुभारम्भ गरिने भएको सङ्घका अध्यक्ष मनोजबहादुर न्याछयोंले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पाटनको यस धरोहरलाई ‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराका साथ मन्दिर पुनःनिर्माणमा लाग्दा विदेशीसँग हात फैलाउन नपर्ने उदाहरण प्रमाणित गर्न सफल भइरहेका छाँै ।”
प्राचीन शैलीमा निर्माणाधीन मन्दिर सम्पन्न भएपश्चात् माथिदेखि स्काफोल्डिङ झिक्दै आउने भएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम श्रेष्ठले बताउनुभयो । व्यापारीको आराध्य देवता मानिने भीमसेन मन्दिर पुनःनिर्माणमा सुन लेपन खर्चबाहेक रु चार करोड ९३ लाख लागत लाग्ने अनुमान गरेकामा दाताबाट रु पाँच करोडभन्दा बढी चन्दा सङ्कलन गरेको सङ्घले जानकारी गराएको छ । चार शताब्दीभन्दा पुरानो इतिहास बोकेको मल्लकालीन भीमसेन मन्दिर उपत्यकाकै नमूना धरोहरका रुपमा प्यागोडा शैलीमा निर्माण भएको थियो ।
भारत सरकारले पुनःनिर्माण गर्ने भनिएको सो मन्दिर भूकम्प गएको चार वर्ष बितिसक्दा पनि कसैले चासो नदेखाएपछि जीर्ण रहेको मन्दिरले परिसरबाट आवतजावत गर्ने हजाराँै स्वदेशी तथा विदेशीलाई नोक्सानी पु¥याउने डरका कारण ललितपुरवासी स्वयं अग्रसर भएका थिए । मन्दिर पुनःनिर्माणमा प्राविधिक सहयोगको जिम्मा काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रष्ट (केभिपिटी) ले लिनाका साथै नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, मङ्गल टोल सुधार समिति, ललितपुरका जातीय समाज पुरातत्व विभागलगायत विभिन्न सङ्घसंस्थासमेत लागिपरेका छन् ।
पाँच पाण्डवका माइला भाइ भीमसेनको दर्शन र पूजापाठ गर्नाले व्यापारमा फलिफाप हुने विश्वास आम व्यवसायीहरुको छ । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ मा उक्त मन्दिर अवस्थित छ । पाटनमा भीमसेन मन्दिरका अलवा मल्लकालीन समयमा एकतले गुम्बज शैलीमा निर्माण भएको मणि केवशनारायण, प्रस्तरबाट निर्मित २१ गजुरले सुशोभित कृष्ण, नेपाली छाने शैलीमा निर्माण भएको हरिशङ्कर, चारनारायण, विश्वनाथ, शिखर एवं गन्धकूट शैलीमा निर्माण भएको ज्वाला नरसिंह मन्दिरसमेत रहेका छन् ।
पाटनका प्रसिद्ध अन्य धरोहरमा पाटन दरबार सङ्ग्रहालय, अशोक स्तम्भ, हिरण्यवर्ण महाविहार, देगुतलेजु, रातो मच्छिन्द्रनाथ, कुम्भेश्वर, मङ्गलहिटी आदि रहेका छन् । पाटनमा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन भीमसेनको खटजात्रा गरिने चलन रहेको मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्रापछि भीमसेनको खटजात्रालाई दोस्रो ठूलो पर्वका रुपमा मनाइने गरिन्छ ।”



प्रतिक्रिया