माओवादी केन्द्रको अधिवेशनः तीनवटा पालिकामा नयाँ नेतृत्व चयन

माओवादी केन्द्रको अधिवेशनः तीनवटा पालिकामा नयाँ नेतृत्व चयन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा माओवादी केन्द्रले बैतडीमा पनि पालिका अधिवेशन कार्यलाई अघि बढाएको छ । मङ्सिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत हालसम्म जिल्लाको तीन पालिकामा अधिवेशन सम्पन्न भएको हो । माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टका अनुसार पुर्चौंडी नगरपालिका, दोगडाकेदार र सिगास गाउँपालिकामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनबाट तीनवटै स्थानीय तहमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ ।

पुर्चांैडी नगरपालिकामा आनन्द सिंह धामीको अध्यक्षतामा ६५ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा उज्ज्वल सिंह साउँद, लीला जोशी, मने लुहार, सचिवमा धर्मानन्द बडू, सहसचिवमा निराजन ढुँगाल र कोषाध्यक्षमा पुष्कर विष्ट चयन भएका हुन् । दोगडाकेदारमा तारासिंह कुँवरको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरिएको जनाएको छ । उपाध्यक्षमा हेमराज भट्ट, मानसिंह गोयला र नरेन्द्रसिंह कार्की, सचिवमा धनबहादुर महरा, कोषाध्यक्षमा लक्ष्मी ओड, सहसचिवमा जयन्त बिष्टलगायत अन्य सदस्यहरु रहेका छन् ।

यस्तै सिगास गाउँपालिकामा प्रकाश साउँदको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ । सो कमिटीको उपाध्यक्षमा उद्धव धामी, लक्ष्मण धामी र लक्ष्मी पोखरेल, सचिवमा रवीन्द्र चन्द, कोषाध्यक्षमा भीम धामी र सहसचिवमा दानसिंह साउँद चयन भएका छन् ।अन्य बाँकी सात पालिकाहरुमा पनि मङ्सिर २५ गते अगाडि नै पालिका सम्मेलन सम्पन्न हुने माओवादी केन्द्र बैतडीले जनाएको छ । माओवादी केन्द्रले पहिलोपटक देशभर एकै दिन पालिका अधिवेशन गरेको हो । तत्कालीन समयमा नेकपा (एमाले)सँग पार्टी एकता हुँदा समिति रहेको भए पनि अलग भएपछि पहिलोपटक विधिवत् रूपमा समिति बनाइएको हो । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले यसअघि वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।  माओवादी केन्द्रले २५ मङ्सिरमा सातै प्रदेशमा अधिवेशन गर्ने जनाएको छ । प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा उक्त पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ ।

यो पनि – एमाले अध्यक्षमा ओली विजयी

नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ । कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले एक हजार आठ सय ४० मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा दुई हजार एक सय ५३ प्रतिनिधि रहेका थिए । मत परिणामबारे केहीबेरपछि आधिकारिक घोषणा हुने आयोगका सचिव बाबुराम दाहालले बताउनुभयो ।

यही मङ्सिर १० गतेदेखि चितवनको सौराहामा सुरु महाधिवेशनमा गए राति भएको मतदानमा ओलीका प्रतिस्पर्धी डा भीमबहादुर रावलले दुई सय २३ मत प्राप्त गर्नुभएको हो । विद्युतीय भोटिङ मेसिनका आधारमा गरिएको मतदान र गणनाका करण छिटै परिणाम निस्किएको हो । कतिपय प्रतिनिधिले अध्यक्षका दुवै उम्मेदवारलाई मत दिएको बुझिएको छ । अध्यक्ष ओली गत नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई झिनो मतान्तरले पराजित गर्दै विजयी हुनुभएको थियो । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङकर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित हुनुभएको छ । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।

महाधिवेशनको बन्दसत्रको पहिलो दिन यही मङ्सिर ११ गते अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई ३०१ सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्न अधिकार दिएको थियो । अध्यक्ष ओलीले विभिन्न नेताहरुसँगको परामर्शमा १२ गतेको बन्दसत्रमा नामावली प्रस्तुत गर्दा अधिकांशले सहमति जनाएकामा डा रावल, नेता घनश्याम भुसाललगायतका नेताले अस्वीकार गरेपछि निर्वाचन भएको हो । उपाध्यक्ष पदमा हलमा प्रस्तुत भएको नामावली अतिरिक्त उम्मेदवारी दिएका भुसाल अन्य उम्मेवारका तुलनामा पछि पर्नुभएको छ । नयाँ केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक आजै सौराहामा हुँदैछ ।