चीनमा १०६ बर्षे वृद्ध व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ । चिनियाँ स्वास्थ्य अधिकारीले मङ्गलबार दिएको जनाकारी अनुसार ती व्यक्ति खोप लिने मध्येका हालसम्का सबै भन्दा वृद्ध हुन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी झेङ झोङवेईले पत्रकार सम्मेलनमा बताएअनुसार ‘चीन भित्र र बाहिर गरी ६० वर्षभन्दा माथिका मानिसहरूलाई हालसम्म चिनियाँ कोभिड-१९ खोपको ५० करोड डोज दिइएको छ। चिनियाँ खोपले वृद्धहरूमा राम्रो प्रतिरोधात्मक क्षमता देखाएको पनि झेङले बताएका छन् । साठी वर्ष भन्दा माथिका मानिसहरूमा खोपको प्रतिकूल प्रभावको दर १८-५९ उमेर समूहमा देखाइएको तुलनामा थोरै कम रहेको अध्ययनले देखाएको छ।
यो पनि – जापानमा पनि भेटियो ओमिक्रोन
कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस जापानमा पनि भेटिएको छ । जापानका सरकारी अधिकारीले आफ्नो देशभित्र ओमिक्रोनबाट पहिलो सङ्क्रमित पनि भेटिएको पुष्टि गरेका हुन । गत आइतबार जापानको तारिता विमानस्थलमा ओर्लिएका एक यात्रुमा यस्तो सङ्क्रमण देखिएको अधिकारीले जनाएका छन् ।
अधिकारीका अनुसार ओमिक्रोनबाट सङ्क्रमित ३० वर्षीय पुरुष नामिवियाबाट जापान आएका हुन । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा देखिएको घोषणा गरेको थियो ।त्यही भाइरस अहिले अन्य विभिन्न देशमा पनि देखिन थालेको छ । यसअघिको कोरोनाभाइरसभन्दा घातक यस ओमिक्रोनका कारण अहिले फेरि विश्वभरी त्रास छाएको छ ।
कतिपय देशले उच्च सतर्कताका उपाय अपनाएका छन भने कतिपयले लापरवाही गरेकाले उनीरुका देशमा पनि भित्रिएको छ । जापानमा भने सतर्कता अपनाउदा अपनाउदै पनि ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको छ ।टोकियोले गत शुक्रवार नै अफ्रिकी ६ मुलुकबाट जापान आउनेहरुलाई कम्तीमा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरेको थियो । जापानले नयाँ विदेशी पर्यटकलाई सीमा बन्द गरिएको जनाएको छ । यस्तो नियम अन्य देशबाट आउनेलाई पनि बढाउदै लगिने तयारी भएको थियो ।
“कोरोनाभाइरसको महामारीविरुद्ध जापान सधैँ कठोररुपमा उभिएकै हो, अहिले ओमिक्रोनविरुद्ध पनि उत्तिकै कडारुपमा उभिने छ,” प्रधानमन्त्री किशिदाले भन्नुभयो ।उहाँले नयाँ भाइरसबाट जोगिन पनि मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भीडभाड नगर्ने र प्रतिवन्धात्मक व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
जापानमा कोरोनाका कारण अहिलेसम्म १८ हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ भने ७६.५ प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको खोप दिइसकिएको छ ।जापानमा यसअघि पनि महामारीलाई न्युनिकरण गर्न भन्दै अधिकांश नाका बन्द गरिएको थियो भने विदेशबाट आउनेलाई परीक्षणमा कडाइ गरिएको थियो ।अहिले पनि नयाँ भेरियन्ट ओमिक्रोन थप फैलिन नदिन र ठूलो मानवीय क्षति हुन नदिन विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले उच्च सतर्कता अपनाउन सवैलाई आह्वान गरेको छ ।
सङ्गठनले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै सङ्क्रमणको उच्च जोखिम बढाउने चेतावनी पनि दिएको छ ।नयाँ भेरिएन्ट अफ्रिकी मुलुक बाहेक बेलायत, क्यानाडा, पोर्चुगल, बेल्जियम र नेदरल्याण्डलगायत थुप्रै देशमा पनि देखिइसकेको डब्लुएचओले जनाएको छ ।नयाँ भेरिएन्ट पुष्टि भएपछि अमेरिका, बेलायत, युरोपेली सङ्घलगायत दर्जनौ देशले दक्षिण अफ्रिकी देशका नागरिकलाई आफ्नो देश आउन नदिने निर्णय गरिसकेका छन् ।
अस्ट्रेलियाले पनि सीमा प्रतिबन्ध खुकुलो पार्ने लामो समयदेखिको योजना स्थगित गरेको छ भने अस्ट्रेलिया जान चाहने विदेशी विद्यार्थी र कामदारलाई डिसेम्बर १५ तारिखसम्मका लागि जान नपाइने गराइएको छ ।अमेरिका, बेलायतलगायतका देशमा ओमिक्रोनको सङ्क्रमण न्युनिकरण गर्न थोरै भएपनि सहयोग हुने विश्वासका साथ १८ वर्षमाथिका सबैलाई कोरोनाभाइरस विरुद्धको खोपको अतिरिक्त मात्रा दिन थालिएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले त घरभित्र बस्दा पनि मास्क लगाउन आह्वान गर्नुभएको छ । तर लकडाउन लगाउने की नलगाउने भन्ने बारेमा भने स्पष्ट पार्नुभएको छैन ।



प्रतिक्रिया