नेकपा (एमाले)को दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै हुने भएको छ । नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशन स्थल सौराहामै हुने तय भएको नेता विष्णु रिजालले जानकारी दिनुभयो ।एमालेमा नयाँ नेतृत्व चयनका लागि आज बिहान मतदान भएको छ । अहिले मतगणना सकिएको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यका लागि निर्वाचन भएको थियो । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन भइसकेका छन् ।
सबै मतपरिणाम आएपछि सदस्यको टुङ्गो लाग्ने जनाइएको छ । मतदानमा दुई हजार १५३ जनाको मताधिकार रहेकामा दुई हजार ९६ जनाले मात्रै मत खसालेको निर्वाचन आयोगले जनाएको छ । एमालेको यही मङ्सिर १० गतेदेखि चितवनमा जारी १० औँ महाधिवेशन आज सकिँदैछ । दुई दिनका लागि तय भएको महाधिवेशन चार दिनसम्म लम्बिएको छ ।
यो पनि – कर्णाली प्रदेशसभा : मुख्यमन्त्री शाहीद्वारा विश्वासको मत लिने प्रस्ताव टेबुल
मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेशसभाको बैठकमा विश्वासको मत लिने प्रयोजनार्थ प्रस्ताव टेबुल गर्नुभएको छ । निर्धारित कार्यसूचीअनुसार आज बसेको प्रदेशसभाको बैठकमा उहाँले उक्त प्रस्ताव टेबुल गर्नुभएको हो । उक्त प्रस्तावमाथि बुधबार छलफल हुनेछ । संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिइसक्नुपर्छ । कांगे्रस संसदीय दलका नेता शाही मुख्यमन्त्री पदमा नियुक्त भएको पर्सी बिहीबार ३० दिन पुग्दैछ ।
बैठकको प्रारम्भमा सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेशका मुख्यमन्त्रीको नियुक्ति, मन्त्रालयको कार्यविभाजन र प्रदेश प्रमुखले प्रदेशसभा अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउनुभएको थियो । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रदेशसभा सदस्य अनुपस्थित रहेकाले मुख्यमन्त्री शाहीले प्रस्तुत गरेको उक्त प्रस्तावमाथि छलफल सुरु नभएको हो । एमालेका सदस्य पार्टीको दशौँ महाधिवेशनका लागि चितवनमा छन् । कांगे्रस प्रमुख सचेतक हिमबहादुर शाहीले सरकारका तर्फबाट बुधबारको बैठकमा एमालेलाई उपस्थित हुन आग्रह गरिएको र उहाँहरुको सहभागिता हुने आफूहरुको अपेक्षा रहेको बताउनुभयो ।
विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री शाहीको योजना छ । हाल मन्त्रिपरिषद्मा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट एक मन्त्री हुनुहुन्छ । यसैबीच नेकपा (माओवादी केन्द्र) संसदीय दलको आजै बसेको बैठकले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने निर्णय गरेको छ
प्रतिक्रिया