नेपाल बार एशोसिएशनले यही मङ्सिर १५ गतेदेखि सर्वोच्च अदालतमा गोलाप्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने कार्यको स्वागत गरेको छ ।
बारको सोमबार बसेको बैठकले उक्त कार्यको स्वागत गर्दै जिल्ला, उच्च र विशेष अदालतमा पनि गोलाप्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ । बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च अदालतमा गत साउन १७ र जिल्ला, उच्च, विशेषमा यही मङ्सिर १ गतेदेखि लागू गर्ने भनिए पनि सोअनुसार नभएकाले सर्वोच्च अदालत नियमावली संशोधन गरी लागू गर्न सर्वोच्च अदालतको पूर्ण बैठकसँग माग गर्ने निर्णय गरिएको उल्लेख छ ।
उक्त नियमावली संशोधन भई नआएसम्म विरोधस्वरुप जिल्ला, उच्च तथा विशेष अदालतमा कालोपट्टी बाँधी दैनिक एक घण्टा धर्ना गरी बाँकी समयमा व्यवसाय गर्न, गराउन सम्पूर्ण एकाइलाई लेखी पठाउने बारले निर्णय गरेको छ ।
यो पनि – प्रधानसेनापति शर्माद्वारा बाहिनीको निरीक्षण
प्रधानसेनापति प्रभुराम शर्माले तनहुँको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीको निरीक्षण गर्नुभएको छ । मध्यकमाण्डअन्तर्गतका हिमाली र उच्च पहाडी इलाकामा अवस्थित युनिटको भ्रमणको सिलसिलामा प्रधानसेनापति शर्माले आज खैरेनीटारस्थित बाहिनीको निरीक्षण गर्नुभएको हो ।
सो क्रममा प्रधानसेनापति शर्माले बाहिनीमा तैनाथी फौजको वर्तमान अवस्था, जिम्मेवारी इलाकामा कमाण्ड अवधारणाको कार्यान्वयनसम्बन्धी प्रगति तथा सामूहिक तालिम सञ्चालनको अवस्थालगायत विषयमा जानकारी लिनुभएको छ । साथै शर्माले सकलदर्जालाई सम्बोधनसमेत गर्नुभएको थियो ।
प्रधानसेनापति शर्माले तीन दिनदेखि मध्यकमाण्ड हेडक्वाटरअन्तर्गतका विभिन्न युनिटको निरीक्षण गर्नुभएको नेपाली सेनाले जनाएको छ । शर्माले मनाङस्थित गुल्म, मुस्ताङको जोमसोमस्थित श्री नम्बर २३ बाहिनी अड्डा र बागलुङस्थित गुल्मको निरीक्षण भ्रमण गर्नुभएको छ ।



प्रतिक्रिया