मेलम्ची–इन्द्रावती बाढीबाट पूर्णरुपमा घर क्षति भएका मेलम्ची नगरपालिका वडा नं ११ का ४० परिवारलाई आज १२० बन्डल जस्तापाता प्रदान गरिएको छ । दोलखाको जिरी नगरपालिकामा रहेको असल मित्र नेपाल नामक संस्थाले जस्तापाता उपलब्ध गराएको हो । सो संस्थाले सिएचआइ र होप नामक संस्थाको आर्थिक सहयोगमा प्रतिघर तीन बन्डल रङ्गीन जस्तापाता बाढी प्रभावितलाई वितरण गरेको हो ।

कार्यक्रममा जिरीका नगर प्रमुख टङ्कबहादुर जिरेलले यो सानो सहयोग भए पनि यसले केही राहत मिल्ने जनाउँदै वितरित सामग्रीको सदुपयोग हुनेमा विश्वस्त रहेको बताउनुभयो । जिरी–९ का वडाध्यक्ष ज्ञानबहादुर सुनुवारले जस्ताको पूर्णरुपमा सदुपयोग गर्ने परिवारलाई आवश्यकता हेरी अन्य सहयोग गरिने बताउनुभयो । मेलम्ची–११ का वडाध्यक्ष रुद्र दुलालले सहयोगप्रति आभार प्रकट गर्दै सहयोगको जस्ताले अस्थायी आवास निर्माणमा सहयोग पुग्ने उल्लेख गर्नुभयो । असल मित्र नेपालका बोर्ड सदस्य रुथ मुखियाले संस्थाले यस्तै सहयोगी सामाजिक काम गर्दै आएको जानकारी दिनुभयो ।
यो पनि – बस दुर्घटनामा दुईको मृत्यु
अछामको मङ्गलसैनबाट टीकापुर जाँदै गरेको ना६ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै आज दिउँसो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा मङ्गलसैन नगरपालिका–१४ का ५७ वर्षीय टेक भण्डारी र सोही नगरपालिका–१ का अन्दाजी २२ वर्षीय एकेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी २९ जना घाइते भएका छन् ।
बस सडकबाट उल्टो पल्टिएकाले घाइतेको उद्धार भइरहेको छ । दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ । घाइते भएकालाई बयालपाटा र जिल्ला अस्पताल मङ्गलसैनमा उपचारमा लागि पठाइएको प्रहरी निरीक्षक अर्यालले बताउनुभयो ।



प्रतिक्रिया