अर्थमन्त्री जनार्दन शर्माले सामुदायिक पूँजी निर्माण गर्न पत्रकार सहकारी बनाएर उत्पादनमा सञ्चारकर्मी पनि जोडिनुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल ललितपुर शाखाको चौथो जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले पत्रकारले पत्रकार सहकारी बनाएर जान सक्ने बताउनुभएको हो ।
पत्रकारिता पेसा मात्र नभएर अरू हिसाबले पनि आत्मनिर्भर र उत्पादनसँग जोडिन पत्रकारको सहकारी समूह बनाउन सकिने मन्त्री शर्माको भनाइ छ । “पत्रकारिता मात्र पूर्ण पेसा नभएर अरू हिसाबले पनि आत्मनिर्भर हुनका लागि पत्रकारको सहकारी समूह बनाएर तपाईंहरू सञ्चालन गर्न सक्नुहुन्छ”, उहाँले भन्नुभयो, “एकातिर आत्मनिर्भर हुँदै पनि जाने र सामुदायिक शक्ति तथा क्षमतालाई पनि विकास गर्दै जाने गर्न सक्नुहुन्छ ।” त्यसबाट समग्र सामाजिक तथा राजनीतिक विचारलाई पनि स्थापित गर्दै लान सकिने उहाँले बताउनुभयो ।
मन्त्री शर्माले तत्काल राष्ट्रिय पूँजी निर्माण हुने सम्भावना कम रहेकाले पहिले सामुदायिक पूँजी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यक्तिगत प्रतिस्पर्धालाई पनि कायम गरी समुदायलाई बलियो बनाउन स्रोत र साधनको स्वामित्व समुदायलाई प्रदान गर्नुपर्ने उल्लेख गर्नुभयो ।
पत्रकारलाई गलत अवस्थामा पार्टीको आलोचना गर्ने स्वतन्त्रता रहेको पनि उहाँले बताउनुभयो । आस्थाकै आधारमा गलत कार्य तथा प्रवृत्तिको आलोचना गर्न नपाउने भन्ने नहुने मन्त्री शर्माको भनाइ छ । “प्रेस सेन्टर पार्टीसँग सम्बन्धित सङ्गठन होला, तर पार्टीको मान्छेले गल्ती गर्दा उसको आलोचना गर्ने छुट तपाईंहरूसँग छ”, उहाँले भन्नुभयो, “त्यस कारण तपाईंहरूसँग आफ्नो विचार राख्ने कुरामा स्वतन्त्र हुनुहुन्छ ।” सम्मेलनले रामहरि कार्कीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।
यो पनि – नेविसङ्घ पूर्वअध्यक्ष महरद्वारा उम्मेदवारी घोषणा
नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष नैनसिंह महरले नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी आफ्ना १४ एजेण्डासहित कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । कांग्रेसका युवा नेता महरले आफू कुनै पनि पदमा नदोहोरिने प्रतिबद्धता व्यक्त गर्दै पार्टीको क्रियाशील सदस्यतालाई व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । डडेल्धुराबाट महाधिवेशनमा निर्वाचित उहाँले एक व्यक्ति, एक पद, दुई पटक मात्र, प्रशिक्षण र मापदण्डका आधारमा क्रियाशील सदस्यता वितरण हुनुपर्ने, सरकार र पार्टी सञ्चालनका लागि ‘थिंक ट्यांक’ स्थापना गर्नुपर्ने बताउनुभयो ।
नेता महरले बीपी विचारको समयसापेक्ष कार्यान्वयन, व्यवहार र आचरणमा शुद्धता, आर्थिक पारदर्शिता तथा रुपान्तरणका लागि युवा कांग्रेस स्थापना, लोकतन्त्रको संस्थागत विकास एवं असल नेतृत्व, कुशल व्यवस्थापनलगायतका आफ्ना विभिन्न १४ एजेण्डाका बारेमा जानकारी गराउनुभयो । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।



प्रतिक्रिया