प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको : मुख्यमन्त्री राई

प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको : मुख्यमन्त्री राई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । प्रदेश नं १ आइटिफ तेक्वान्दो सङ्घको २० औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित उत्कृष्ट महिला र पुरुष खेलाडी, प्रशिक्षक, जिल्ला र डोजाङलाई सम्मान कार्यक्रमको उद्घाटन गर्दै उहाँले खेलकुदलाई प्रविधिसँग जोडी व्यवसायीकरण गरी आयआर्जनको माध्यम बनाउन विशेष ध्यान दिइने धारणा राख्नुभयो ।

मुख्यमन्त्री राईले ताइकान्दोले दक्षिण एशियाली खेलकुद र एशियन खेलकुद प्रतियोगितामा नेपालले सबैभन्दा धेरै पदक जित्न सफल भएको स्मरण गराउँदै ओलम्पिक प्रतियोगितामा पदक जित्ने लक्ष्यका साथ कार्य गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।उहाँले प्रदेशका दुर्गम क्षेत्रमा खेलकुद सामग्रीको अभावका कारण खेलाडीको प्रशिक्षणमा समस्या भएको चर्चा गर्दै आगामी दिन सरकारले यसका लागि थप बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री राईले प्रदेशमा खेलकुद अधिकतम प्रतियोगिता गर्न आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी दिँदै बजेटको सही ढङ्गले सदुपयोग गर्न आग्रह गर्नुभयो ।

प्रदेशका मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठले खेलकुदको विकासका लागि आवश्यक बजेटको व्यवस्थाका लागि कानून परिमार्जन गर्ने विश्वास दिलाउनुभयो । आइटिफका तेक्वान्दोका प्रदेश अध्यक्ष प्रवीणकुमार कार्की, नेकपा एकीकृत (समाजवादी)का पोलिटब्यूरो सदस्य महेश रेग्मी, आइटिफका प्रदेश उपाध्यक्ष चतुरलाल चौधरी र रविन नगरकोटीले राष्ट्रको पहिचान दिलाउन तेक्वान्दोले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश उत्कष्ट महिला खेलाडीमा झापाकी दीक्षा लिम्बू, पुरुष खेलाडीमा झापाका मिशन श्रेष्ठ, प्रशिक्षकमा राजेन्द्र धिमाल मोरङ, उदयमान प्रशिक्षक नितेश खवास मोरङ, उत्कष्ट जिल्लामा सुनसरी र उत्कृष्ट डोजाङमा मोरङको कानेपोखरीलाई सम्मान गर्नुभएको थियो ।

आइटिफ प्रदेशका १२ जिल्लामा ४०० महिलासहित एक हजार १०० खेलाडीले दैनिक प्रशिक्षण लिइरहेका छन् । सङ्घले वार्षिकोत्सवको उपलक्ष्यमा सप्ताहव्यापी रुपमा विभिन्न जिल्लामा प्रतितियोगिता, रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

यो पनि – एकताको महाधिवेशनको पक्षमा छुः अध्यक्ष जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले आफू एकताको महाधिवेशनका पक्षमा रहेको र उम्मेदवारी नदिने निर्णय गर्नुभएको छ । राप्रपा पार्टी कार्यालय चाबहिलमा आज आयोजित पत्रकार सम्मेलनमा आफू निर्वाचनभन्दा एकता महाधिवेशनको पक्षमा रहेको हुँदा सर्वसम्मतिको पक्षमा रहेको बताउनुभएको हो । “आजको सन्दर्भमा पार्टी एकता सर्वोपरि सत्य बनेको छ, नेतृत्वको रस्साकसीमा फेरि पनि टुट र फुटको श्रृङ्खला नदोहोरियोस् भन्ने मेरो चाहना हो”, अध्यक्ष राणाले भन्नुभयो, “त्यसैकारण देशव्यापी सद्भावना र समर्थनका बाबजुत, पार्टीको एकता र बृहत्तर हितका लागि निर्वाचन प्रक्रियाबाट अलग रहने मैले निधो गरेको छु ।”

महाधिवेशनको उर्जाबाट आफ्नो लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै उहाँले जिम्मेवारीलाई निष्कर्षमा पु¥याउनु सबैको जिम्मेवारी भएको बताउनुभयो । राप्रपाको महाधिवेशन यही मङ्सिर १५, १६ र १७ गते काठमाडौँमा हुने तय भएको छ भने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।