चार पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न

चार पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (माओवादी केन्द्र)ले बैतडीका चार पालिकामा अधिवेशन सम्पन्न गरेको छ । मङ्सिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत हालसम्म चार पालिकामा अधिवेशन सम्पन्न गरेको हो । माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमप्रकाश भट्टका अनुसार पाटन र पुर्चौडी नगरपालिका तथा दोगडाकेदार र सिगास गाउँपालिकामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले सबै स्थानीय तहमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको छ । पाटनमा तर्क ठगुन्नाको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा पूजा भट्ट, कृष्ण भाट र कृष्ण पन्त चयन भएका छन् । नगर कमिटीको सचिवमा गजेन्द्र बोहरा, सहसचिवमा केशव भट्ट र कोषाध्यक्षमा चन्द्रा पाण्डेय छनोट भएका छन् ।

यस्तै पुर्चौडीमा आनन्दसिंह धामीको अध्यक्षतामा ६५ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा उज्जलसिंह साउद, लीला जोशी र मने लुहार, सचिवमा धर्मानन्द बडु, सहसचिवमा नीराजन ढुङ्गाल र कोषाध्यक्षमा पुष्कर विष्ट चयन भएका हुन् । दोगडाकेदारमा तारासिंह कुँवरको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरिएको संयोजक भट्टले जानकारी दिनुभयो । उपाध्यक्षमा हेमराज भट्ट, मानसिंह गोयला र नरेन्द्रसिंह कार्की, सचिवमा धनबहादुर महरा, कोषाध्यक्षमा लक्ष्मी ओड र सहसचिवमा जयन्त विष्टलाई चयन गरिएको छ ।

यसैगरी सिगासमा प्रकाश साउदको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा उद्धव धामी, लक्ष्मण धामी र लक्ष्मी पोखरेल, सचिवमा रवीन्द्र चन्द, कोषाध्यक्षमा भीम धामी र सहसचिवमा दानसिंह साउद चयन भएका छन् । जिल्लाका अन्य पालिकामा मङ्सिर २५ गते अअघि नै पालिका सम्मेलन सम्पन्न गरिने माओवादी केन्द्र बैतडीले जनाएको छ । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादी केन्द्रले यसअघि वडा अधिवेशन सम्पन्न गरिसकेको छ । माओवादी केन्द्रले मङ्सिर २५ गते सातै प्रदेशमा तथा आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।

यो पनि-कांग्रेस प्रदेश अधिवेशन : ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८ गते हुन लागेको प्रदेश अधिवेशनका लागि देशभरका ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो ।

कांग्रेस निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका आठ प्रदेशसभा निर्वाचन क्षेत्रबाहेक सबै प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको राससलाई जानकारी दिनुभयो । “सर्लाहीको चार निर्वाचन क्षेत्रको आठ प्रदेशसभा अधिवेशन आजै सम्पन्न गर्ने गरी निर्वाचन समितिले काम गरिरहेको छ”, उहाँले भन्नुभयो । देशभर १६५ निर्वाचन क्षेत्रको ३३० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ ।

कांग्रेस क्रियाशील सदस्यको विवादका कारण सर्लाही र रसुवाको वडा अधिवेशन ढिला गरी सुरु भएको थियो । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६० भन्दा बढी जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । कांग्रेसको आगामी मङ्सिर १७ र १८ गते एकैसाथ सातै प्रदेशमा प्रदेश अधिवेशन हुँदैछ । कांग्रेसको केन्द्रीय महाधिवेशन मङ्सिर २४ गतेदेखि काठमाडौँमा हुँदैछ ।