जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नंको बस सिंजा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो । बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिनुभयो । प्रारम्भिक जानकारीअनुसार घटनास्थलमा नवीन रावल र विशाल बमको मृत्यु भएको उहाँले बताउनुभयो ।
बसमा चार जना मात्र सवार थिए । घाइतेको उद्धार गर्न प्रहरी निरीक्षक युवन चौधरी नेतृत्वको प्रहरी टोली त्यसतर्फ गएको छ । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान एम्बुलेन्स पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो पनि – जीप दुर्घटनामा एक जनाको मृत्यु
बागलुङको काठेखोला गाउँपालिका–१ पालामा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन घाइते भएका छन् ।मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षते सडकखण्डको पाला खहरेमा आज बा१८च ५६७७ नंको जीप दुर्घटना हुँदा बागलुङ नगरपालिका–७ सिमका ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार दुर्घटनामा बागलुङ नगरपालिका–१ रामरेखाका ४६ वर्षीय टकबहादुर बोहोरा, ४४ वर्षीय दिनेश गिरी र २५ वर्षीय अजय शिवाकोटी घाइते भएका छन् ।
घाइतेको धवलागिरि अस्पतालमा उपचार भइरहेको छ । जीपमा सात जना सवार थिए । चालक र अन्य एक यात्रु फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि – बेनीमा सडक अतिक्रमण
म्याग्दी जिल्ला सदरमुकाम बेनी बजारमा सडक अतिक्रमण भएको छ । सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचनाका कारण बजारमा विभिन्न किसिमको समस्या भएको छ ।सडक अतिक्रमण गर्दा आवतजावत गर्न, सवारीसाधन दुर्घटना तथा बजारको सौन्दर्यमा असर परेको छ । जताततै होडिङबोर्ड, पेटीमा सामान राख्ने, सडकमा निर्माण सामग्री थुपार्ने तथा जस्तापाताको छाप्रो बनाएर सडक अतिक्रमण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्र नेपालीले जानकारी दिनुभयो ।
“साँघुरो सडक अतिक्रमण गरी बनाइएका संरचनाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “त्यस्ता संरचना हटाउनका लागि सहजीकरण गरिदिन बेनी नगरपालिकालाई पत्राचार गरेका छौँ ।” बेनीबजार बेनी नगरपालिका–७ र ८ मा पर्छ । न्यूरोड, गणतान्त्रिक चोक, हुलाक चोक, क्याम्पस चोक, अस्पताल चोक, गणेश टोल, सङ्गम चोक र बालमन्दिर चोक क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना हटाउनुपर्ने देखिएको छ ।
घर बाहिर बनाइएका अस्थायी छाप्रा र होडिङ बोर्डले सडक साँघुरिएको छ । पैदलयात्रु सडकबाटै हिँड्नुपर्दा दुर्घटनाको जोखिम बढेको नेपाली बताउनुहुन्छ । बेनी नगरपालिकाका पदाधिकारी, प्रशासन, सुरक्षा निकाय, उद्योग वाणिज्य सङ्घ र ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिबीच मङ्गलबार बेनीमा अतिक्रमण हटाउनेबारे छलफल भएको छ । त्यस्ता संरचना १५ दिनभित्र हटाउन समय दिइएको छ ।
नगरप्रमुख हरिकुमार श्रेष्ठले सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन आजदेखि लागू हुने गरी १५ दिनको समय दिएको बताउनुभयो । “बेनी बजारलाई सुन्दर बनाउने अभियान छ”, उहाँले भन्नुभयो, “होडिङ बोर्ड नगरपालिका र सुरक्षा निकाय मिलेर हटाउने निर्णय भएको छ ।”
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सरोकारवालाको निर्णय बेनी बजारका व्यवसायीले कार्यान्वयन नगरेमा सुरक्षा निकाय बल प्रयोग गर्न बाध्य हुने बताउनुभयो । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बजारका सार्वजनिकस्थलका अस्थायी छाप्रा हटाएर पार्किङ व्यवस्थित गरिने बताउनुभयो । बेनीमा ट्राफिक व्यवस्थापनका लागि एकतर्फी पार्किङ, कालीगण्डकी र म्याग्दी नदी किनारका वैकल्पिक सडक सञ्चालन, खुला ठाउँमा पार्किङस्थल निर्माण र बहुउद्देश्यीय खेलमैदानमा बसपार्क सञ्चालन गरिएको थियो ।



प्रतिक्रिया