जनकपुर–ढल्केबर खण्डअन्तर्गत धनुषाको महेन्द्रनगरमा आज बिहान मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ । काठमाडौँबाट ज१२प ५२२५ नंको मोटरसाइकलमा घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाको कमला नगरपालिका–३ लगमा निवासी २३ वर्षीय विजय मोरबैता यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते यादवलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सुन र नगदसहित दुई युवक पक्राउ
प्रहरीको टोलीले सिरहाको लहान नगरपालिका–७ बाट ५० ग्राम सुन र रु ५४ हजार नगदसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका–११ निवासी २५ वर्षीय तौहिद आलम र सप्तरीकै बोदे वर्साइन नगरपालिका–६ निवासी २५ वर्षीय मो.समिम अख्तर रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले रु तीन लाख ९१ हजार ८०३ मूल्य बराबरको ५० ग्राम सुन र रु ५४ हजार नगद बरामद गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपन दाहालले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले स८प ६०७७ नंको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुवै जनालाई सुन र नगदसहित पक्राउ गरेको उहाँले बताउनुभयो ।
यो पनि – जुम्लामा बस दुर्घटना : दुई जनाको मृत्यु
जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नंको बस सिंजा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो । बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिनुभयो । प्रारम्भिक जानकारीअनुसार घटनास्थलमा नवीन रावल र विशाल बमको मृत्यु भएको उहाँले बताउनुभयो ।
बसमा चार जना मात्र सवार थिए । घाइतेको उद्धार गर्न प्रहरी निरीक्षक युवन चौधरी नेतृत्वको प्रहरी टोली त्यसतर्फ गएको छ । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान एम्बुलेन्स पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



प्रतिक्रिया