नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणाली (पश्चिमी ट्रफ) र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्र (कम दबाब प्रणाली) को प्रभावले आगामी तीन दिन हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसाम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर उक्त प्रणालीका कारण आज बेलुकादेखि देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भ–ूभागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना देखिनाका साथै उक्त प्रदेशका पहाडी तथा तराईका केही भूभागमा फाटफुटदेखि हल्का वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।
यी प्रणालीका कारण आगामी दिनमा तापक्रममा गिरावट आई चिसो बढ्नसक्ने सम्भावना रहेको बताइएको छ । विभागले यस मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।आगामी आइतबार साँझदेखि पुनः अर्काे पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्नसक्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव तीन डिग्री र अधिकतम तापक्रम २१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
यो पनि – बाढीपहिरो पीडितलाई राहत वितरण
गत असोज ३१ गतेदेखिको वर्षाका कारण आएको बाढीपहिराले पीडित बनेका यहाँको सायल गाउँपालिका वडा नं १ देखि ५ का १५० भन्दा बढी घर परिवारलाई राहत वितरण गरिएको छ । वडा तथा गाउँपालिकासँगको समन्वयमा मानवीय सेवामा अनेकौँ प्रयास नामक संस्था साइन नेपाल धनगढीले केयर एन्ड रिलिफ परियोजनाको आपत्कालीन राहत कार्यक्रमअन्तर्गत उक्त राहत वितरण गरेको हो ।
उक्त संस्थाले पीडित परिवारलाई २५ किलो चामल, तीन किलो दाल, एक लिटर तेल, दुई पोका स्वयाबिन र एक थान कम्बल वितरण गरेको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो । यसैगरी उक्त बाढीपहिरामा परी ज्यान गुमाएका यहाँका छजनाको परिवारलाई राहतसँगै नगद रु पाँच हजार पनि प्रदान गरिएको छ ।
संस्थाले जिल्लाकै आदर्श गाउँपालिका–५ का १२४ घरपरिवारलाई पनि राहत वितरण गरेको छ । बाढीपहिरामा परी खेतीयोग्य जमिन र घरबारविहीन भएका यहाँका नागरिकलाई २५ किलो चामल, तीन किलो दाल, एक लिटर तेल, दुई पोका सोयाबिन र एक थान कम्बल वितरण गरेको संस्थाका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिनुभयो ।
बाढीपहिरा पीडितले स्थानीय सरकारसँग राहत तथा व्यवस्थापनका लागि पटकपटक माग गरे पनि तत्काल दिन सकिने अवस्था नभएपछि साइन नेपालले राहत सहयोग गरेको वडाध्यक्ष टीका सिंहले बताउनुभयो । जिल्लामा विपद्, महामारीलगायतका घटना हुँदा उक्त संस्थाले विभिन्न कार्यक्रम ल्याएर यहाँका नागरिकलाई राहत प्रदान गर्ने गरेको आदर्श गाउँपालिकाका स्थानीय हरि खड्काले बताउनुभयो ।



प्रतिक्रिया