एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई

एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संस्थागत सुशासन, दिगो विकासमा योगदान, ‘डिजिटल’ प्रविधिको उपयोग गर्र्दै नवीनतम सेवा प्रवाह र उत्पादन गरेवापत एनएमबी बैंक एशियाको उत्कृष्ट बैंक बन्न सफल भएको छ । बेलायतको लण्डनबाट प्रकाशन हुने प्रसिद्ध समाचारपत्र ‘द बैंकर’को निर्णायक मण्डलले एनएमबीलाई ‘द बैंक अफ द इयर २०२१’ प्रदान गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष पवनकुमार गोल्यान, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र सञ्चालक समितिका सदस्यलाई सामूहिकरूपमा उक्त सम्मान हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले मुलुकको बैंक तथा वित्तीय क्षेत्रको विकासका साथै हरित उद्यम प्रवद्र्धनमा योगदान गरेबापत विश्व प्रसिद्ध सम्मान प्राप्त गरी नेपालको ‘बैंकिङ’ इतिहासमा नयाँ अध्याय प्रारम्भ गरेकामा बैंकमा आबद्ध सबैप्रति बधाई ज्ञापन गर्नुभयो । राष्ट्रको अर्थतन्त्र उजिल्याउन थप मेहनतका साथ काम गर्न पनि उहाँले बैंक व्यवस्थापनलाई सुझाव दिनुभयो ।

यसैबीच, आजै अपराह्न यहाँ आयोजित कार्यक्रममा अध्यक्ष गोल्यानले कृषि क्षेत्रको व्यावसायिकीकरण, पर्यटनको दिगो विकास, जलविद्युत्लगायत स्वच्छ ऊर्जाको प्रवद्र्धनबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउँदै देशको आर्थिक उन्नयनलाई केन्द्रमा राखेर एनएमबी बैंकले काम गरिरहेको जानकारी दिनुभयो । प्रमुख कार्यकारी अधिकृत केसीले हालै स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा प्रधानमन्त्री देउवाले कार्बन उत्सर्जनलाई शून्यमा झार्ने, हरित, उत्थानशील एवं दिगो विकासमा लाग्न व्यक्त गर्नुभएको प्रतिबद्धतामा सहायक भएर अघि बढ्न एनएमबी बैंक प्रतिबद्ध रहेको बताउनुभयो ।

यो पनि – काठमाडौँ, १५ मङ्सिर (रासस)ः चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ ।

गत आवको सुरुको चौमासिकमा रु चार खर्ब ४२ अर्ब ६९ करोड दुई लाख ४२ हजार रहेको मुलुुकको वैदेशिक व्यापार चालु आवको सो अवधिमा रु सात खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख आठ हजार पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कानुसार गत आवका तुलनामा आयात ६१ दशमलव ५७ प्रतिशतले बढेको छ । गत आवको पहिलो चार महिनामा रु चार खर्ब दुई अर्ब ४९ करोड एक लाख ७८ हजार मूल्य बराबरको आयात भएकामा चालु आवको कात्तिक मसान्तसम्म रु छ खर्ब ५० अर्ब २९ करोड ४३ लाख १३ हजार पुगेको छ ।

त्यस्तै गत आवको पहिलो चौमासिकका तुलनामा चालु आवको निर्यात १०४ दशमलव २९ प्रतिशतले बढेको छ । गत आवको पहिलो चौमासिकमा रु ४० अर्ब दुई करोड ६४ हजारको निर्यात भएकामा चालु आवको समीक्षा अवधिमा रु ८२ अर्ब १२ करोड ४२ लाख ९५ हजारको निर्यात भएको छ ।

विभागका अनुसार चालु आवको कात्तिकसम्म व्यापार वृद्धि भए पनि मुलुकको व्यापार घाटा ५६ दशमलव ८३ प्रतिशतले बढेर रु पाँच खर्ब ६८ अर्ब १७ करोड १८ हजार पुगेको छ । गत आवको पहिलो चार महिनामा व्यापार घाटा रु तीन खर्ब ६२ अर्ब २९ करोड एक लाख १३ हजार थियो ।

गत आवको पहिलो चौमासिकसम्म कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ९२ प्रतिशत रहेकामा यस्तो हिस्सा दुई दशमलव ३४ प्रतिशतले घटेर चालु आवमा ८८ दशमलव ७९ प्रतिशतमा आएको छ । त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २३ दशमलव ४८ प्रतिशतले बढेको छ । गत आवको कात्तिक मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा नौ दशमलव ०८ रहेकामा चालु आवमा ११ दशमलव २१ प्रतिशत पुगेको छ ।

चार महिनाका अवधिमा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी डिजेल आयात भएको विभागले जनाएको छ । चालु आवको पहिलो चार महिनामा रु ३४ अर्ब ३३ करोड २१ लाख ९७ हजार बराबरको डिजेल आयात भएको देखिन्छ । त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रोमा छ ।

नेपालमा व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुुनःनिर्यात गर्दै आएका छन् । चालु आवको पहिलो चार महिनामा करिब १७ करोड लिटरभन्दा बढी भटमासको तेल रु २७ अर्ब २२ करोड ७१ लाख ९५ हजार मूल्य बराबरको आयात भएकोे छ । त्यस्तै टेलिफोन रु २० अर्ब ३५ करोड ८६ लाख १६ हजार, पाम आयल रु १९ अर्ब १७ करोड ५७ लाख २८ हजार र पेट्रोल रु १८ अर्ब ६६ करोड ६५ लाख ९४ हजारको आयात भएको विभागले जनाएको छ । नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ ।

विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कानुसार स्वदेशबाट रु २६ अर्ब ४० करोड ११ लाख एक हजार मूल्य बराबरको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर भारतमा निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलले योगदान गरेको देखिन्छ । सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाम तेल पनि हो ।

सार्वजनिक विवरणानुसार चालु आवको पहिलो चार महिनामा रु १९ अर्ब दुई करोड ३० लाख ९० हजार मूल्य बराबरको पाम तेल निर्यात भएको छ । रु तीन अर्ब ९३ लाख १७ हजार बराबरकोे गलैंँचा तथा रु दुई अर्ब ३१ करोड ५५ लाख ७८ हजार मूल्य बराबरका जुटका बुनिएका तथा अन्य कपडा निर्यात भएको विभागको तथ्याङ्क छ ।

विभागको विवरणानुसार सबैभन्दा धेरै वीरगन्ज नाकाबाट रु दुई खर्ब २३ अर्ब ९० करोड ५० लाख ७४ हजार मूल्य बराबरको आयात तथा भैरहवा नाकाबाट रु एक खर्ब छ अर्ब ४८ करोड ८३ लाख ३० हजार र त्रिभुवन विमानस्थल नाकाबाट रु ८१ अर्ब ७० करोड ९१ लाख ५६ हजार बराबरको वस्तु आयात भएको छ । त्यस्तै नेपालले निर्यातमा वीरगन्ज भन्सारबाट रु ३९ अर्ब ५६ करोड ३४ लाख ५० हजार, विराटनगर भन्सारबाट रु २२ अर्ब ५१ करोड ४७ लाख ५२ हजार तथा त्रिभुवन विमानस्थल नाकाबाट रु ११ अर्ब ७५ करोड ४१ लाख ३५ हजार बराबरको वस्तु विदेश निर्यात गरेको छ ।