एकसट्ठी जिल्लामा कांग्रेसको अधिवेशन सम्पन्न

एकसट्ठी जिल्लामा कांग्रेसको अधिवेशन सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत बुधबारसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन सम्पन्न गरेको छ । यसबाहेक सबै जिल्लाका कूल १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।  प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट औषतमा २६ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने र प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट औषतमा १८ जनाका दरले प्रदेश प्रतिनिधि चयन हुने पार्टी विधानको व्यवस्था छ । बुधबारसम्म सबै जिल्लामा प्रतिनिधि सभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

कांग्रेसले यसअघि देशभरका सबै वडा र पालिकामा पार्टीको अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसले बिहीबारदेखि सातै प्रदेशमा पार्टीको प्रदेश अधिवेशन प्रारम्भ गर्दैछ । जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन भने पार्टीको महाधिवेशन पछि मात्र हुने समितिले जनाएको छ ।

बिहीबारदेखि सुरु हुँदै प्रदेश अधिवेशन

समितिले मङ्सिर १६ गतेदेखि प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका तय गरेको छ । मङ्सिर १६ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित गर्ने, मङ्सिर १७ गते बिहान ८ देखि ११ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने, सोही दिन दिउँसो ११ देखि १ बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने र मङ्सिर १७ गते २ बजे सो उपर निर्णय गर्ने प्रदेश निर्वाचन कार्यतालिका रहेको छ ।

मङ्सिर १७ दिउँसो २ देखि साँझ ५ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपी) पहिलो नाम प्रकाशित गर्ने, सोही दिन साँझ ६ः३० मनोनयन फिर्ता लिने, साँझ ७ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मङ्सिर १८ गते विहान ८ बजेदेखि प्रदेश कार्यसमितिका लागि मतदान सुरु हुने समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

यो पनि – रिपोर्टिङमा सोलुखुम्बु गएका सञ्चारकर्मीमाथि हातपात

सोलुखुम्बुको सल्लेरीमा रिपोर्टिङका क्रममा सञ्चारकर्मीमाथि हातपात भएको घटनाप्रति विभिन्न सङ्घ सङ्गठनले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका छन् । घटनाको विषयमा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सोलुखुम्बु, पत्रकार महासङ्घ प्रदेश नं १, प्रेस सेन्टर प्रदेश नं १, जिल्ला शाखासहितले विज्ञप्ति जारी गरेका हुन्् ।

यस्तै सोलु एफएमले समेत विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ भने पीडित पत्रकारले जाहेरी दरखास्त दिएको बताएका छन् । नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सभापतिका लागि मङ्गलबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा रिपोर्टिङमा गएका उज्यालो अनलाइनका जिल्ला संवाददातासमेत रहनुभएका सोलु एफएमका समाचार सहायक सुवास दर्नाल र सोलु एफएममै कार्यरत रमन वनमाथि हातपात भएको थियो ।

हातपात गर्नेमा नेपाल विद्यार्थी सङ्घका जिल्ला उपाध्यक्ष जीवन बस्नेत, क्षेत्रीय प्रतिनिधि प्रदीप बस्नेत, नेविसङ्घ माप्यदूधकोशी अध्यक्ष विभूषण राईको समूह रहेको पत्रकार दर्नालले बताउनुभयो । मतगणनास्थल बाहिर स्थलगत रिपोर्टिङमा रहेका सञ्चारकर्मीमाथि आफ्नो अन्तरवार्ता लिन धम्की दिँदै आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमणबाट रिपोर्टिङमा प्रयोग गरिएको माइक, रेकर्डरसहितका सामग्रीमा समेत क्षति पुगेको छ ।

रिपोर्टिङका क्रममा पत्रकारमाथि यसरी आक्रमण भएको जिल्लामा पहिलो घटना हो । यता जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले भने दोषीउपर कानूनी कारबाहीको प्रक्रिया तत्काल अघि बढाउने जनाएको छ । नेपालको संविधान २०७२ को भाग ३ धारा १९ ले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेको छ । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा सङ्घीय एकाइबीचको सु–सम्बन्ध वा विभिन्न जात, जाति, धर्म वा सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पर्ने, राज्यद्रोह, गाली बेइज्जती वा अदालतको अवहेलना हुने वा अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार, नैतिकताको प्रतिकूल कार्य गर्ने, श्रमप्रति अवहेलना गर्ने र जातीय छुवाछूत एवं लैङ्गिक भेदभावलाई दुरुत्साहन गर्ने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरीबाहेक विद्युतीय प्रकाशन, प्रसारण तथा छापा लगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्व प्रतिबन्ध नलगाइने प्रष्टरुपमा उल्लेख छ ।