यात्रुले नै जहाज धकेलेपछि…….

यात्रुले नै जहाज धकेलेपछि…….

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं । तर बुधबार कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहरुले नै जहाज धकेलिरहेको ।  जिल्लाको पूर्वी उत्तरी भेगको कोल्टी विमानस्थलमा यात्रु लिन गएका जहाज आकाशमा उडिरहेको थियो । यात्रु विमानस्थलमा जहाज आउन थालेपछि एयरपोर्टमा भरिन थाले तर विमानस्थलमा जहाज अवतरण गर्न सकिरहेको थिएन ।

जहाज अवतरण गर्न नसक्दा यात्रु आत्तिन थाले । विमानस्थल खाली हुँदा पनि जहाज अवतरण गर्न नसक्नुको के कारण हुन सक्छ भन्ने यात्रु एकापसमा कुरा गर्न थालेका थिए । त्यसैबेला एक जना यात्रुले विमानस्थलतिर हेर्दै भन्नुभयो, “विमानस्थलको बीचमा त हवाईजहाज राखिएको छ ।” त्यो जहाज थियो तारा एयरलाइन्सको । सो जहाजको टायर पड्किएर धावनमार्गको बीचमा हुँदा अर्काे जहाज अवतरण गर्न सकेको थिएन । जहाज अवतरण गर्न नसकेर धावनमार्गमा रहेको तारा एयरको ९ एन एभीइको जहाजलाई यात्रुले धकेलेर सुरक्षित स्थानमा राखेपछि अर्को जहाज अवतरण भएको थियो ।

तारा एयरलाइन्सको उक्त जहाजको टायर पड्किएर बीच धावनमार्गमा रहेको र सो जहाजलाई यात्रुले धकेल्दै गरेको भिडियो र फोटो भाइरल बनेको छ । कोल्टीबाट धनगढी जाने यात्रु खगेन्द्र खड्काका अनुसार धावनमार्गमा राखिएको जहाजको टायर पड्कियो । जसले गर्दा अर्को जहाज उडाउन समस्या भएपछि हामीले धक्का लगाएर उक्त जहाजलाई साइड लगाएको बताउनुभयो । उहाँका अनुसार जहाजको पर्खाइमा रहेका यात्रु, सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियतामा धावनमार्गमा टायर पड्किएर अरु जहाज अवतरणमा समस्या हुँदा धकेलेर अन्यत्र राखिएको हो ।

धावनमार्गबाट जहाज हटाएपछि आफू बुधबार नै अर्को जहाज चढेर धनगढी आइपुगिसकेको उहाँले बताउनुभयो । जहाजलाई यात्रु, सुरक्षाकर्मी र स्थानीय मिलेर ट्याक्सी–वेबाट धकेलेर किनारा लगाएको खड्काको भनाइ छ । तारा एयर यति एयरलाइन्सको भगिनी कम्पनी हो । उक्त जहाजले हुम्लाको सिमकोटबाट ९ एन–एभीइ जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो । जहाज धावनमार्गबाट ट्याक्सी–वेमा पुगिसकेपछि पछाडिको टायर पड्किएको बताइएको छ । यस विषयमा बुझ्न कोल्टी विमानस्थलमा फोन गर्दा त्यहाँ सम्पर्क हुन सकिरहेको छैन ।

यो पनि – ठूलो परिमाणमा तस्करीको कपडा बरामद

भारतदेखि तस्करी भएर आएको अवैध कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा बेस क्याम्प सरमुजवा बङ्कुलबाट खटिएको टोलीले अवैध कपडा बरामद गरेको हो ।  क्याम्पका सशस्त्र प्रहरी निरीक्षक भरत गौतमको नेतृत्वमा खटिएको टोलीले भारतबाट भन्सार छली गरेर ल्याएको दुई मोटरसाइकलसहित करिब रु साढे चार लाख मूल्य बराबरको कपडा बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद गरेको कपडा क्यारिङ्ग गर्नेले ल्याएको खुलेको छ । यस क्षेत्रका कपडा व्यापारीले राजस्व छल्न क्यारिङ्ग गर्नेलाई कपडा ल्याउने जिम्मा दिने गर्दछन् । व्यापारीसँग क्यारिङ्ग गर्नेले पिसको हिसावले कपडा गन्तब्यसम्म पु¥याउने जिम्मा लिएपछि अवैध रूपमा उनीहरूले तस्करी गर्ने गरेको सुरक्षा स्रोतले जनाएको छ । कपडा ल्याउने क्यारिङ गर्ने तस्करले प्रहरीलाई देखेपछि मोटरसाइकल र कपडा छोडेर फरार भएको र उनीहरुको खोजतलास जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

भारतको घोडासहनबाट बारा र रौतहटको विभिन्न बजारमा क्यारिङ गरेर कपडा तस्करी गर्ने ठूलो समूह रहेको बताइएको छ । बरामद भएको कपडा र मोटरसाइकललाई आवश्यक कानूनी कारबाहीका लागि गौर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी निरीक्षक गौतमले जानकारी दिनुभयो ।

बारा र रौतहट जिल्लाका विभिन्न नाका हुँदै भारतबाट लत्ताकपडा, किराना, हार्डवेयरसहित प्रतिबन्धित लागुऔषधको पनि चोरी तस्करी बढेको स्थानीयवासीले बताएका छन् । नेपालबाट सुपारी, लागुऔषध गाँजालगायतका मालसामान भारततर्फ चोरी तस्करी हुने गरेको पाइएको छ । स्थानीय प्रहरीको मिलोमतोमा तस्करी हुने गरेको स्थानीयवासीको आरोप छ ।