भारतदेखि तस्करी भएर आएको अवैध कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा बेस क्याम्प सरमुजवा बङ्कुलबाट खटिएको टोलीले अवैध कपडा बरामद गरेको हो । क्याम्पका सशस्त्र प्रहरी निरीक्षक भरत गौतमको नेतृत्वमा खटिएको टोलीले भारतबाट भन्सार छली गरेर ल्याएको दुई मोटरसाइकलसहित करिब रु साढे चार लाख मूल्य बराबरको कपडा बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद गरेको कपडा क्यारिङ्ग गर्नेले ल्याएको खुलेको छ । यस क्षेत्रका कपडा व्यापारीले राजस्व छल्न क्यारिङ्ग गर्नेलाई कपडा ल्याउने जिम्मा दिने गर्दछन् । व्यापारीसँग क्यारिङ्ग गर्नेले पिसको हिसावले कपडा गन्तब्यसम्म पु¥याउने जिम्मा लिएपछि अवैध रूपमा उनीहरूले तस्करी गर्ने गरेको सुरक्षा स्रोतले जनाएको छ । कपडा ल्याउने क्यारिङ गर्ने तस्करले प्रहरीलाई देखेपछि मोटरसाइकल र कपडा छोडेर फरार भएको र उनीहरुको खोजतलास जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतको घोडासहनबाट बारा र रौतहटको विभिन्न बजारमा क्यारिङ गरेर कपडा तस्करी गर्ने ठूलो समूह रहेको बताइएको छ । बरामद भएको कपडा र मोटरसाइकललाई आवश्यक कानूनी कारबाहीका लागि गौर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी निरीक्षक गौतमले जानकारी दिनुभयो ।
बारा र रौतहट जिल्लाका विभिन्न नाका हुँदै भारतबाट लत्ताकपडा, किराना, हार्डवेयरसहित प्रतिबन्धित लागुऔषधको पनि चोरी तस्करी बढेको स्थानीयवासीले बताएका छन् । नेपालबाट सुपारी, लागुऔषध गाँजालगायतका मालसामान भारततर्फ चोरी तस्करी हुने गरेको पाइएको छ । स्थानीय प्रहरीको मिलोमतोमा तस्करी हुने गरेको स्थानीयवासीको आरोप छ ।
यो पनि- अत्याधुनिक प्रविधियुक्त शीतगृह निर्माण शुरु
बाँकेको डुडुवा गाउँपालिकाले यहाँ उत्पादित तरकारी तथा फलफूललाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारमा पु¥याउन र त्यसको दिगो व्यवस्थापनका लागि शीतगृह निर्माण गर्ने भएको छ । गाउँपालिकाको सबैभन्दा ठूलो दोस्रो योजनाको रुपमा रहेको शीतगृहको निर्माण डुडुवा–६ हिरिमिनियामा सुरु भएको हो । सात सय मेट्रिक टन क्षमताको अत्याधुनिक उक्त शीतगृह भवनको बुधबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले पूजापाठ गरी शिलान्यास गर्नुभयो ।
करिब १३ कट्ठा जग्गामा रु छ करोड सात लाख ५४ हजारको लागतमा निमार्ण हुने शीतगृह अत्याधुनिक प्रविधिको हुनेछ । “हामीले सात सय मेट्रिक टन क्षमताको शीतभण्डारण निर्माण कार्य शुरु गरिसकेका छौँ”, गाउँपालिकाका अध्यक्ष चौधरीले भन्नुभयो, “आलुको पकेट क्षेत्र मानिएको हिरिमिनियाका किसानले उत्पादन गरेको तरकारी तथा फलफूल भण्डारणमा यसले सहयोग पु¥याउँछ ।” उहाँले आलुलगायतका तरकारी र फलफूल भण्डारण गर्नका लागि डुडुवाका किसानलाई विशेष फाइदा भएपछि कृषि उत्पादनमा वृद्धि तथा बजारीकरणको सम्भावना अझै बढने बताउनुभयो ।
शीतगृहसँगै, प्रशासनिक कार्यालय भवन, गेष्ट हाउस, शौचालय, पर्खाललगायतका संरचनासमेत निर्माण गरिने गाउँपालिकाका इन्जिनियर प्रकाश शाहीले बताउनुभयो । शीतगृहको निमार्णपछि डुडुवा गाउँपालिका तथा आसपासका पालिकाका किसान लाभान्वित हुने छ ।



प्रतिक्रिया