पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ ः नेता पौडेल

पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ ः नेता पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाएर लैजानु अहिलेको आवश्यकता भएको बताउनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि पोखरामा सुरु गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा उहाँले बिपीको विचार र सिद्धान्तबाट पार्टी अलग भइरहेको बताउँदै बिपीको आदर्श र चिन्तनलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

समय र मागअनुसार कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले विगतको समीक्षाका आधारमा दीर्घकालीन योजनाका साथ क्रियाशील बन्नुपर्ने बताउनुभयो । लोकतान्त्रिक पद्धतिबाट चल्न नसक्दा यसले पार्टी सङ्गठनलाई कमजोर बनाएको बताउँदै उहाँले पार्टीका आदर्श र सिद्धान्तलाई आत्मसात गर्दै सङ्गठित र एकताबद्ध बनाएर लैजाने नेतृत्व अहिलेको आवश्यकता भएको बताउनुभयो ।

कांग्रेसका महामन्त्री डा.सशाङ्क कोइरालाले बिपीले देखाएको बाटोमा हिँड्न नसक्दा पार्टी कमजोर बन्दै गएको बताउँदै उहाँका आदर्श र चिन्तनलाई अवलम्बन गर्दै सङ्गठनलाई थप मजबुद र क्रियाशील बनाएर जानुपर्ने बताउनुभयो । महाधिवेशनले आगामी दिनमा पार्टीलाई अझै सङ्गठित र एकताबद्ध बनाएर लैजाने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महाधिवेशनले पार्टीको आन्तरिक सङ्गठनलाई चलायमान बनाएको बताउँदै यही जोश र उमङ्गलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसका पूर्वमहामन्त्री एवं पूर्वसभामुख तारानाथ रानाभाटले महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई सशक्त बनाएको बताउँदै निर्वाचित नेतृत्वले पार्टीलाई थप मजबुद र क्रियाशील बनाएर लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुर थापा, नेता देवराज चालिसेलगायतले बोल्नुभएको थियो । सङ्घीय संरचनाअनुसार पहिलोपटक हुन लागेको अधिवेशनका लागि नेताहरु अर्जुन जोशी, शुक्रराज शर्मा, यज्ञबहादुर थापा, देवराज चालिसे र रघुनाथ पौडेललगायतले पार्टीको प्रदेश सभापतिमा इच्छा देखाउनुभएको छ ।

यो पनि – कांग्रेस घमण्ड नभई विनम्रताको तागतले सबैलाई लिएर अघि बढ्छ ः महामन्त्री खड्का

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले घमण्ड र अहङ्कारले होइन कि विनम्रताको तागतले कांग्रेस सबैलाई लिएर अघि बढ्ने बताउनुभएको छ । कांग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनलाई आज वीरेन्द्रनगरमा सम्बोधन गर्दै उहाँले धैर्यता, सहिष्णुता र लोकतान्त्रिक संस्कारकै कारण केन्द्रदेखि सातै प्रदेशको शासनमा सहभागी हुने अवसर प्राप्त भएको बताउनुभयो ।

महामन्त्री खड्काले केन्द्रदेखि स्थानीय तहसम्मको शासन प्रक्रियामा सहभागी कांग्रेस नेताले असल आचरणको माध्यमबाट जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभयो । “विसं २०७४ को निर्वाचनमा हामी प्रतिपक्षी थियौँ, कम्युनिष्ट पार्टीहरुले शासन चलाउन सकेनन्, त्यो दायित्व कांगे्रसकै काँधमा आयो”, उहाँले भन्नुभयो, “समय र स्रोत साधन सीमित भए पनि जनतालाई पीर पर्ने काम नगरौँ, जनतालाई मन फर्काएर आउने वातावरण बनाउन अहिलेदेखि नै तयार पारौँ ।”

उहाँले जनता रिसाउने काम नगर्न नेतृत्वमा रहेका कांग्रेसका जिम्मेवार नेताहरूलाई आग्रह गर्नुभयो । विगतको भड्किलो जीवनशैली, बोली, व्यवहार, तौरतरिका परिवर्तन गरेर जनताको मन जित्नतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

महामन्त्री खड्काले वर्तमान सत्ता समीकरणको परिवर्तनको बाहक र उद्गम थलो कर्णाली भएको बताउँदै भन्नुभयो, “हामीले कर्णालीमा सत्ता समीकरणको गृहकार्य नगरेको भए दुईतिहाइ कम्युनिष्टको बलशाली सरकार ढल्थेन, यहाँबाटै सत्ता समीकरणको प्रारम्भ र बिजारोपण भयो, एमाले सरकारविहीन भयो ।” पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा आफूलाई चित्त नबुझ्नेबित्तिकै अन्तर्घात गर्ने, टिकट नपाएपछि विपक्षी पार्टीलाई भोट दिने प्रवृत्ति त्याग्नसमेत कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो । साथै उहाँले कूटनीतिक संवादका माध्यबाट मिचिएका भूमिहरु फिर्ता ल्याउनुपर्ने दायित्व पनि कांग्रेसकै काँधमा रहेको बताउनुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका कांग्रेस केन्द्रीय सदस्य एवं प्रदेश अधिवेशन आयोजक समितिका संयोजक जीवनबहादुर शाहीले आफ्नो नेतृत्वको सरकारले जनतालाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको प्रष्ट पार्नुभयो । उद्घाटन कार्यक्रममा कांगे्रसका विभिन्न जिल्लाका सभापतिहरु, सङ्घीय र प्रदेश सांसदहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।