बागलुङमा २५ विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

बागलुङमा २५ विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विदेशमा कोरोनाको तेस्रो भेरियन्टको त्रास बढिरहेको सन्दर्भमा बागलुङमा कोरोना सङ्क्रमणदर पुनः उकालो लाग्न थालेको छ । बिहीबारमात्रै बागलुङमा एकै विद्यालयका २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै समुदायस्तरमा बिहीबार नै तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

बागलुङ नगरपालिकाको बलेवास्थित एक विद्यालयमा कोरोनाको लक्षणपछि ८२ जनाको परीक्षण गर्दा एकसाथ २५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । उक्त विद्यालय व्यवस्थापन समितिको निर्णयानुसार अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विद्यालयमा पुनः शुक्रबार थप विद्यार्थीको कोरोना परीक्षणपछि मात्रै विद्यालयको नाम खुलाइने छ ।

घिमिरेका अनुसार विद्यालय भएको समुदायको तीन जनामा समेत कोरोना पुष्टि भएकाले धेरै मात्रमा समुदायमा कोरोना सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयको अनुमान छ । त्यस क्षेत्रमा स्वास्थ्य कार्यालयको टोली शुक्रबार जाने र अवस्था बुझेपछि जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन समितिले निर्णय गर्ने जनस्वास्थ्य निरीक्षक घिमिरेले बताउनुभयो ।

कोरोना पुनः बढेसँगै स्वास्थ्य सचेतना अपनाउन कार्यालयले अनुरोध गरेको छ । बागलुङमा बुधबारसम्म जम्मा १३ सक्रिय सङ्क्रमित रहेकामा बिहीबारमात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ । अहिले धवलागिरि अस्पताल बागलुङको आइसोलेशनमा दुई सङ्क्रमितको उपचार भइरहेको छ ।

यो पनि – पछिल्लो २४ घण्टामा थप ३१५ मा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ११ हजार ४०३ जनाको पिसीआर परीक्षण गरिएको थियो । यससँगै नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षणपछि भएका सङ्क्रमितको सङ्ख्या आठ लाख २१ हजार ९४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ५४६ पुगेको छ । पछिल्लो समय थप २७३ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख २०१ पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप छ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४५ रहेको छ । हाल होमआइसोलेशनमा छ हजार ७१५, संस्थागत आइसोलेशनमा ३३०, आइसीयूमा ११० र भेन्टिलेटरमा ३८ जनाको उपचार हुँदैछ ।

यो पनि – ‘ओमिक्रोन’ फैलन नदिन सुदूरपश्चिमका नाकामा कडाइ

दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ ।
भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण फैलिए सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम पर्ने भएकाले सीमा नाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो ।

सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका मुख्य नाका गड्डाचौकी, त्रिनगर, झुलाघाट, पुलघाटलगायत नाकामा उच्च सतर्कता अपनाइएको हो । यी नाकाबाट आवागमन बढी हुने गरेको छ । “आवागमन निर्वाध भइरहेकाले उक्त भेरियन्ट नेपालमा पनि फैलिन समय लाग्दैन ।” उहाँले भन्नुभयो, “ओमिक्रोन फैलन नदिन सीमानाकामा कोरोना परीक्षण गर्ने र नाकामै खोप लगाउने व्यवस्था गरिएको छ ।”

पहिलो चरणको कोरोना सङ्क्रमण फैलिँदा परीक्षणको दायरा बढाइएको र दोस्रो चरणमा अक्सिजन आपूर्ति गरिएकाले अब यो नया भेरियन्टले कस्तो रुप लिन्छ त्यहीअनुसार थप तयारी गरिने उहाँको भनाइ थियो । डा। अवस्थीले बताउनुभयो, “सङ्घीय स्वास्थ्य मन्त्रालयको कस्तो निर्देशन आउँछ त्यसपछि थप तयारी गर्छौँ।”

सुदूरपश्चिममा पूर्णरुपमा खोप लगाउने कार्यसमेत सम्पन्न नभएका कारण झनै सङ्क्रमण फैलिने खतरा बढेको बताइन्छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पूरा गर्न बेवास्ता भइरहेका बेला ओमिक्रोनको सङ्क्रमण फैलिए नियन्त्रण गर्न थप समस्या हुुने भएको छ । उहाँले भन्नुभयो, “हामीले प्रदेशभरिका १८ वर्षमाथिका सबै नागरिकलाई मङ्सिरभित्र पूर्ण लगाइसक्छौँ, सोहीअनुसार सुदूरपश्चिमलाई पूर्ण खोपयुक्त प्रदेश घोषणा गर्छौं ।”

सरकारकातर्फबाट खोप आपूर्तिमा कमी नभएकाले सबैलाई पूर्ण खोप लगाउनसमेत आग्रह गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सबैलाई मास्क अनिवार्य लगाउन, सामाजिक दूरी कायम गर्न र साबुन वा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न नागरिकलाई आग्रहसमेत गरेको छ ।

 

राजनीतिक दल तथा सरकारका उच्च ओहोदामा बसेका व्यक्तिबाटै स्वास्थ्य मापदण्डका नियमको उल्लङ्घन हुँदा सर्वसाधारण नागरिकलाई नियम पालना गराउन समस्या हुने गरेकाले सबैले मापदण्ड पालना गर्नुपर्नेमा जोड दिइएको छ । ओमिक्रोन फैलिहाले पनि सघन उपचार कक्ष, भेन्टिलेटर, अक्सिजन प्लान्टलगायत आवश्यक उपकरण जडान भएकाले पहिलाको जस्तो समस्या नहुने स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म ४८ हजार ३९ जनामा कोरोना पुष्टि हुँदा ६०९ जनाको मृत्यु भएको थियो । विश्वस्वास्थ्य सङ्गठनले कोभिड–१९ नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपाललाई उच्च सतर्कता अपनाउन सुझाव दिएको थियो ।