प्रधानमन्त्री शेरबहादुर देउवाले अवरोधरहित वातावरणमा अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगार, सहभागिता, सामाजिक सुरक्षा र पुनःस्थापना सहज पहुँचका लागि सरकार क्रियाशील रहेको बताउनुभएको छ । अपाङ्गता भएका व्यक्तिहरुको ३०औँ अन्तराष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले कोभिड–१९ को महामारीका कारण अपाङ्गता भएका व्यक्तिहरुको रोजगार तथा जीवनयापन अझ धेरै प्रभावित भएको उल्लेख गर्नुभएको छ । तसर्थ उहाँले अपाङ्गता भएका व्यक्तिलगायत सबै सिमान्तकृत समुदायका आवश्यकता र समस्यालाई विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले अपाङ्गता भएका व्यक्तिहरुले भोगिरहेका भौतिक दृष्टिकोणजन्य, कानूनी र सञ्चारमा रहेका अवरोध न्यूनीकरण गरेर सम्मानपूर्वक, स्वाबलम्बी, आत्मनिर्भर जीवनयापन गर्न पहुँचयुक्त वातावरण निर्माण गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ । अपाङ्गता भएकै कारण स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिलाई डाइफर क्याथेटर जस्ता सामानको लागि यो सरकारले मासिक रु पाँच हजार सुविधा निर्णय गरेको छ भने अपाङ्गताको गाम्भिर्यताको आधारमा अन्य अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सुविधा वृद्धि गरेको छ ।
उहाँले दिवसले यस क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था र सम्बन्धित सबै सरोकारवालालाई अपाङ्गता भएका व्यक्तिको हित र अधिकारको प्रवद्र्धनमा एकीकृत रुपमा प्रभावकारी कार्यक्रम लिई अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
यो पनि- बिपीको विचार र अग्रजको योगदान सम्झेर कांग्रेसलाई सुदृढ बनाउन लाग्नुपर्छ ः सभापति देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननायक बिपी कोइरालाको विचार अनि अन्य अग्रज नेताहरुको योगदानलाई स्मरण गरेर सबैले कांग्रेसलाई सदृढ र बलियो बनाउन लाग्नुपर्ने बताउनुभएको छ ।उहाँले भर्चुअल माध्यमबाट प्रदेशको पहिलो अधिवेशनको आज उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेशहरुमा पहिलोपटक प्रदेश अधिवेशन शुरु भएको छ । प्रधामन्त्री देउवाले भन्नुभयो, “मलाई विश्वास छ, आज हुने प्रदेश अधिवेशनमा तपाईहरुले कांग्रेसलाई थप सशक्त र बलियो बनाउने र जनताको मन जित्ने गरी रणनीति बनाउने विषयमा पनि छलफल गर्नुहुनेछ ।”
लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि सहादत प्राप्त गर्ने योद्धाहरूमा श्रदाञ्जलि अर्पण गर्दै उहाँले जननायक बिपी कोइरालाले छाडेर जानुभएको विचार अनि अन्य अग्रज नेताहरुको योगदानलाई स्मरण गरेर अब सबैले कांग्रेसलाई सदृढ र बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले कांग्रेसले सबै ठूला परिवर्तनको नेतृत्व गरेको र समृद्धिको पूर्वाधार खडा गरेको उल्लेख गर्दै आगामी महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा पार्टीलाई विजयी गराउनुपर्ने सबैको दायित्व भएको बताउनुभयो । सो अवसरमा उहाँले प्रथम प्रदेश अधिवेशनको पूर्ण सफलताको कामना गर्दै सहभागी सबैलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
प्रतिक्रिया