न्युयोर्कमा एकैदिन ओमिक्रोनका पाँच संक्रमित भेटिए

न्युयोर्कमा एकैदिन ओमिक्रोनका पाँच संक्रमित भेटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

१७ मङ्सिर ९रासस÷सिन्ह्वा० ः पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन भाइरसका संक्रमितहरु अमेरिकाको न्युयोर्क सहरमा एकैदिनमा कम्तीमा पनि पाँच जनामा देखा परेको अमेरिकाको न्युयोर्क सहरका गभर्नर क्याथी होचुलले जानकारी दिनुभएको छ।

अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको बताएका थिए ।त्यसको भोलिपल्टै अर्थात् बिहीबार मात्र यो भेरियन्ट न्युयोर्कमा पनि पाइएको समाचार विभिन्न विदेशी सञ्चारमाध्यमहरुले दिएका छन् ।यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको जानकारी क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरुले बुधबार जानकारी दिएका थिए ।उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सीटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो ।

त्यसैगरी बुधबार नै अमेरिकाको अर्को शहर मिनेसोटामा पनि कोरोना भाइरसको नयाँ अर्थात् पछिल्लो घातक भेरियन्ट भनिएको ओमिक्रोन पत्ता लागेको बताइएको थियो । अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले क्यालिफोर्निया, मिनेसोटा राज्य र न्युयोर्क सहरमा ओमिक्रोनको संक्रमण भएको पुष्टि गरेको पनि समाचारमा जनाइएको छ । यो भाइरस हप्ता दिनमात्र अघि दक्षिण अफ्रिमा पत्ता लागेको बताइएको थियो । अहिले यो विश्वका करिब ३० देशमा भेटिइसकेको छ ।

यो पनि – भारतमा पनि भेटियो दुई जनामा ओमिक्रोनको सङ्क्रमण

कोरोनाभाइरसको नयाँ भेरिएन्टको रूपमा देखिएको ओमिक्रोनको सङ्क्रमण भारतमा पनि पुष्टि भएको छ । भारतको कर्नाटक राज्यका दुई जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले बिहिबार जानकारी दिएका छन् ।“एक जना ४६ बर्षीय र अर्का एक जना ६६ बर्षीय पुरुषमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको हो,” केन्द्रीय स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।

पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव लव अग्रवालले ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूको सम्पर्कमा रहेकाहरूको समेत परीक्षण गराइएको जानकारी दिनुभयो ।
उनीहरू सवैलाई आइसोलेसनमा राखेर उच्च सतर्कता अपनाइएको पनि सहचिव अग्रवालको भनाइ छ ।उहाँले अन्य कोरोनाभाइरसभन्दा ओमिक्रोन भाइरसको असर पाँच गुणा बढी हुने भएकाले पनि यसका बारेमा अझ बढी सतर्कता अपनाउनु परेको स्पष्ट पार्नुभयो ।

अहिले विश्वभरीका २९ देशमा ओमिक्रोनका सङ्क्रमितहरु भेटिएको र उनीहरुको सङ्ख्या अहिलेसम्म ३७३ पुगेको पनि उहाँले जानकारी दिनुभयो ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले ओमिक्रोनको सङ्क्रमण पहिलो पटक दक्षिण अफ्रिकामा नोभेम्बर २५ मा पुष्टि भएको जनाएको छ । सुरुमा वि.१.१.५२९ नाम दिइएको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले २६ तारिखका दिन ओमिक्रोन नामाकरण गरेको हो ।

यसलाई डब्लुएचओले उच्च सतर्कता अपनाउनु पर्ने खतरापूर्ण भाइरस भनेपछि विश्वभरी नै सतर्कता बढाउन थालिएको थियो । त्यसको केही समयमै धेरै देशहरुले उडान तथा नाका बन्द गर्दै सतर्कताका प्रक्रिया सुरु गरेका थिए । अहिले विश्वभरका दर्जनौ देशहरूले सतर्कतासम्वन्धी विभिन्न उपायहरु अपनाएका छन् ।

यो पनि – पछिल्लो २४ घण्टामा थप ३१५ मा कोरोना

देशभर पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ११ हजार ४०३ जनाको पिसीआर परीक्षण गरिएको थियो । यससँगै नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षणपछि भएका सङ्क्रमितको सङ्ख्या आठ लाख २१ हजार ९४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ५४६ पुगेको छ । पछिल्लो समय थप २७३ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख २०१ पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप छ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४५ रहेको छ । हाल होमआइसोलेशनमा छ हजार ७१५, संस्थागत आइसोलेशनमा ३३०, आइसीयूमा ११० र भेन्टिलेटरमा ३८ जनाको उपचार हुँदैछ ।

यो पनि – ‘ओमिक्रोन’ फैलन नदिन सुदूरपश्चिमका नाकामा कडाइ

दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ ।
भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण फैलिए सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम पर्ने भएकाले सीमा नाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो ।

सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका मुख्य नाका गड्डाचौकी, त्रिनगर, झुलाघाट, पुलघाटलगायत नाकामा उच्च सतर्कता अपनाइएको हो । यी नाकाबाट आवागमन बढी हुने गरेको छ । “आवागमन निर्वाध भइरहेकाले उक्त भेरियन्ट नेपालमा पनि फैलिन समय लाग्दैन ।” उहाँले भन्नुभयो, “ओमिक्रोन फैलन नदिन सीमानाकामा कोरोना परीक्षण गर्ने र नाकामै खोप लगाउने व्यवस्था गरिएको छ ।”

पहिलो चरणको कोरोना सङ्क्रमण फैलिँदा परीक्षणको दायरा बढाइएको र दोस्रो चरणमा अक्सिजन आपूर्ति गरिएकाले अब यो नया भेरियन्टले कस्तो रुप लिन्छ त्यहीअनुसार थप तयारी गरिने उहाँको भनाइ थियो । डा। अवस्थीले बताउनुभयो, “सङ्घीय स्वास्थ्य मन्त्रालयको कस्तो निर्देशन आउँछ त्यसपछि थप तयारी गर्छौँ।”

सुदूरपश्चिममा पूर्णरुपमा खोप लगाउने कार्यसमेत सम्पन्न नभएका कारण झनै सङ्क्रमण फैलिने खतरा बढेको बताइन्छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पूरा गर्न बेवास्ता भइरहेका बेला ओमिक्रोनको सङ्क्रमण फैलिए नियन्त्रण गर्न थप समस्या हुुने भएको छ । उहाँले भन्नुभयो, “हामीले प्रदेशभरिका १८ वर्षमाथिका सबै नागरिकलाई मङ्सिरभित्र पूर्ण लगाइसक्छौँ, सोहीअनुसार सुदूरपश्चिमलाई पूर्ण खोपयुक्त प्रदेश घोषणा गर्छौं ।”

सरकारकातर्फबाट खोप आपूर्तिमा कमी नभएकाले सबैलाई पूर्ण खोप लगाउनसमेत आग्रह गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सबैलाई मास्क अनिवार्य लगाउन, सामाजिक दूरी कायम गर्न र साबुन वा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न नागरिकलाई आग्रहसमेत गरेको छ ।

 

राजनीतिक दल तथा सरकारका उच्च ओहोदामा बसेका व्यक्तिबाटै स्वास्थ्य मापदण्डका नियमको उल्लङ्घन हुँदा सर्वसाधारण नागरिकलाई नियम पालना गराउन समस्या हुने गरेकाले सबैले मापदण्ड पालना गर्नुपर्नेमा जोड दिइएको छ । ओमिक्रोन फैलिहाले पनि सघन उपचार कक्ष, भेन्टिलेटर, अक्सिजन प्लान्टलगायत आवश्यक उपकरण जडान भएकाले पहिलाको जस्तो समस्या नहुने स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म ४८ हजार ३९ जनामा कोरोना पुष्टि हुँदा ६०९ जनाको मृत्यु भएको थियो । विश्वस्वास्थ्य सङ्गठनले कोभिड–१९ नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपाललाई उच्च सतर्कता अपनाउन सुझाव दिएको थियो ।