सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ९१ हजार ३०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९० हजार ८०० तोकिएको छ जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार १९० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ दैनिक सुनचाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७३ डलर आसपास कारोबार भइरहेको छ ।
यो पनि – वर्षा र हिमपातको सम्भावना
हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकाको आकाशमा बिहानैदेखि बदली छ । घाम राम्रो नखुलेका कारण उपत्यकामा बढी चिसो महसुस गरिएको छ । न्यूनतम तापक्रम स्थिर अर्थात् १० डिग्री सेल्सियस रहे पनि बदलीका कारण चिसो बढेको छ । पछिल्लो साता काठमाडौँको न्यूनतम तापक्रम छदेखि आठ डिग्री सेल्सियस हाराहारी थियो । आज काठमाडौँको न्यूनतम १० दशमलव आठ र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ ।
महाशाखाका अनुसार दिउँसो सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र देशको उच्च पहाडी र हिमाली भेगका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।
रातिको समयमा पनि कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने छ । देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुनका साथै देशको उच्च पहाडी र हिमाली भेगका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।
भोलि शनिबार दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश नं १ का पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । मङ्सिर १९ गते आइतबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया