मुस्ताङमा हिमपात

मुस्ताङमा हिमपात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गलेश्वर, १७ मङ्सिर (रासस) : गएरातिदेखि मुस्ताङमा हिमपात भएको छ । म्याग्दीका उच्च लेकाली क्षेत्रमासमेत शुक्रबार बिहानदेखि हल्का हिमपात सुरु भएको स्थानीय बासिन्दाले बताएका छन् ।लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रका साथै म्याग्दीको गुर्जामा पनि हिमपात सुरु भएको स्थानीयवासी मनबहादुर विकले जानकारी दिनुभयो ।

माथिल्लो क्षेत्रमा हिमपात भएपछि तल्लो क्षेत्रमा वर्षासँगै कुहिरो र हुस्सु लागेको छ । मुस्ताङको सदरमुकाम जोमसोम र म्याग्दीको सदरमुकाम बेनी आसपास क्षेत्रमा आज बिहानैदेखि पानी परेको छ । वर्षा, हिमपात, हुस्सु र कुहिराका कारण जोमसोम–पोखरा हवाई उडान पनि हुन सकेको छैन । मौसम प्रतिकूल बनेको हुँदा पोखराबाट जहाजले उडान भर्न नसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुस्ताङमा यो बेला दोस्रो पटक हिमपात भएकाले यहाँको जनजीवनमा समेत असर परेको छ । हिमपात र वर्षाका कारण त्यहाँको तापक्रम माइनसतर्फ झर्दै गइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।मुस्ताङ र म्याग्दीका उच्च लेकाली क्षेत्रमा हिमपात भएपछि तल्लो म्याग्दीमा जाडो बढेको छ । अत्यधिक चिसोका कारण गाउँगाउँका शिवालयमा शतबीज छर्ने भक्तजनलाई समस्या भएको छ ।

हिउँदे वर्षा गहुँबालीका लागि निकै उपयुक्त हुने स्थानीय तहको कृषि शाखाले जनाएको छ । गहुँबालीका लागि मात्रै नभएर हिउँदे फलफूलदेखि स्याउका नयाँ बिरुवालाई वर्षाका कारण राहत मिलेको छ । अहिले हिउँदे फलफूलका बिरुवा रोप्ने समय भएको र फल लाग्ने हिउँदे फलफूलका लागि पनि वर्षाको आवश्यकता पर्छ । गहुँ छरिसकेका किसान पनि हिउँदे वर्षा भएपछि बाली सप्रने भन्दै खुसी भएका छन् ।

अत्यधिक जाडो

वर्षाले म्याग्दीको उच्च लेकाली क्षेत्रमा जाडो बढाएको छ । केही क्षेत्रमा हिमपातसमेत भएको स्थानीयवासीले बताएका छन् । वर्षासँगै जिल्लाको धेरैजसो ठाउँमा जाडो बढेकाले त्यहाँको जनजीवन कष्टकर भएको बेनी नगरपालिका–२ का बेदप्रसाद उपाध्यायले बताउनुभयो । जाडोले बालबालिका र वृद्धवृद्धालाई समस्या भएको छ । बिहीबार रातिदेखि जिल्लामा लगातार पानी परिरहेको छ ।

यो पनि – सर्वोच्च अदालतमा सबै खाले मुद्दामा पेसी

सर्वोच्च अदालतमा आज बन्दीसहित सबै खाले मुद्दाका पेसी तोकिएको छ तर सुनुवाइ सुरु हुन सकेको छैन ।सुनुवाइका लागि ११ वटा इजलास गठन भएकामा नौ संयुक्त र दुई एकल इजलास रहेको छ । ती इजलासमा १३६ मुद्दा सुनुवाइका लागि राखिएको छ । सर्वोच्चमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ गरे पनि आन्तारिक विवादका कारण गत कात्तिक ८ गतेदेखि नै बन्दीका रिट निवेदनबाहेक अन्य मुद्दामा सुनुवाइ हुन सकेको छैन । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण सोमबार अस्पतालमा भर्ना हुनुभएकामा आज घर फर्कनुभएको छ ।

यो पनि – टेकु अस्पतालको इमर्जेन्सी सेवा निःशुल्क

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको इमर्जेन्सी सेवा निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निर्देशनपछि सो सेवा निःशुल्क गरिएको हो । नेपालको संविधानमा नागरिकले स्वास्थ्य सुविधा प्राप्त गर्ने अधिकारलाई मौलिक हकका रुपमा उल्लेख गरेसँगै सबै सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्यअन्तर्गत पहिलो चरणमा टेकुबाट यो अभियान सुरु गर्न लागिएको हो ।

कोरोना भाइरसको तेस्रो लहरले हुनसक्ने सम्भावित जोखिमसमेतलाई मध्यनजर गर्दै जनताको स्वास्थ्यको हक सुनिश्चित गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले यही मङ्सिर १९ गतेदेखि यो व्यवस्था लागू गर्न लागेको हो ।यसका लागि आवश्यक सहजीकरण र व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने भएको छ । अस्पतालका तर्फबाट निर्देशक डा मनिषा रावलले मङ्सिर १५ गते पत्र लेखेर आवश्यक सहयोग र सो सेवाबारे जानकारी गराइसक्नुभएको छ । सो अस्पतालमा इमर्जेन्सी विभागमा आएका बिरामीको पछिल्लो २४ घण्टाभित्र हुने परीक्षण र उपचार शुल्कदेखि टिकटसम्म सबै निःशुल्क हुने व्यवस्था गरिएको हो ।

निःशुल्कअन्तर्गत रगत परीक्षण, एक्सरे, इसिजी, टिकटलगायतका सुविधा र २४ घण्टाभित्रको परीक्षण सुविधा तथा त्यसमा लाग्ने औषधिसमेत रहेको मन्त्री खतिवडाको सचिवालयले जनाएको छ ।सिविसी, आरबीएस, युरिया क्रियटिभ, सोडियम, पोटासियम, युरिन आरएमइ, स्टुल आरएमइ, एक्सरे चेस्ट, इसिजी, ब्लड ग्रुपिङ, सिटी स्क्यानलगायत रहेका छन् । “यो व्यवस्थासँगै नागरिकले जनमुखी सरकारको प्रत्याभूति प्राप्त गर्ने र नेपाल सरकारको स्वास्थ्यसम्बन्धी नीति तथा कार्यक्रम पनि कार्यान्वयनमा आउने”, मन्त्री खतिवडाका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिनुभयो । उहाँले आगामी दिनमा अन्य सरकारी अस्पतालमा पनि यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइने विषयमा पहल भइरहेको बताउनुभयो ।

यो पनि – प्रधानन्यायाधीश जबरा घर फिर्ता

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आज सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुबाट स्वास्थ्यलाभ गरी घर फर्कनुभएको छ । कोभिड–१९ को सङ्क्रमण निमोनियाका कारण उहाँ यही मङ्सिर १३ गतेदेखि सो अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालद्वारा आज यहाँ जारी विज्ञप्तिमा प्रधानन्यायाधीश राणा स्वास्थ्य लाभ गरी घर फर्कनुभएको उल्लेख छ ।