आगलागी भएको लामो समयसम्म भवन पुनःनिर्माण नहँुदा रोल्पाको एक विद्यालयका बालबालिका खुला आकाशमुनि पढ्न बाध्य छन् । रोल्पा नगरपालिका– १ धारपानीस्थित कृष्ण आधारभूत विद्यालयका बालबालिका कक्षाकोठा अभावमा खुला आकाशमुनि पढ्न बाध्य भएका हुन् ।
गत असोजमा भएको आगलागीबाट विद्यालय भवन नष्ट भएसँगै बालबालिका खुला आकाशमुनि बसेर पढ्ने गरेका छन् । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयको एउटा भवनमा आगलागी हुँदा ६ कक्षाकोठा जलेर पूर्णरुपमा नष्ट भएका थिए । आगलागीबाट फर्निचर तथा विद्यालयको अन्य सामान पनि जलेर नष्ट भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरख महराले जानकारी दिनुभयो ।
“भवन जलेको लामो समय बित्दासमेत पुनःनिर्माणका लागि कसैको ध्यान जान सकेको छैन, बालबालिका खुला आकाशमुनि बसेर पढ्न बाध्य छन्”, उहाँले भन्नुभयो । विद्यालय भवन तत्काल पुनःनिर्माणका लागि रोल्पा नगरपालिकासँग आग्रह गरे पनि सुनुवाइ नभएको महराको भनाइ छ ।
बालबालिका कठ्याङ्ग्रिदो जाडोमा खुला आकाशमुनि बसेर पढ्न बाध्य भएको प्रधानाध्यापक थामबहादुर कँुवर बताउनुहुन्छ । “जाडो विस्तारै बढ्दै छ, पुस– माघमा खुला आकाशमुनि पढाउनुपर्ने अवस्था आउँदैछ”, उहाँले भन्नुभयो । सम्बन्धित निकायले यथाशीघ्र ध्यान दिनुपर्ने कुँवरको माग छ । आगलागीपछि पढ्न गाह्रो भएको कक्षा ५ की छात्रा अनिता विकले बताउनुभयो ।
सबै विद्यार्थीलाई पठनपाठन गराउन समस्या भएको प्रधानाध्यापक कँुवर बताउनुहुन्छ । “एउटै भवनमा मात्र विद्यार्थी नअटाउँदै समस्या भएको छ”, उहाँले भन्नुभयो । छिमेकी विद्यालय बालकल्याण नमूना माविले सो विद्यालयलाई फर्निचर सहयोग गरेको छ । विद्यालयले १० थान डेस्क बेञ्च सहयोग गरेको सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानले बताउनुभयो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको निर्वाचन क्षेत्रभित्र पर्ने उक्त विद्यालय रहेको गाउँ पूर्वसभामुख कृष्णबहादुर महराको जन्मस्थल पनि हो ।
यो पनि – बाँकेको नरैनापुरमा छात्रालाई निःशुल्क साइकल
बाँकेको नरैनापुर गाउँपालिकाले छात्रालाई विद्यालयमा नियमितताका लागि निःशुल्क साइकल वितरण कार्यक्रम सञ्चालन गरेको छ ।नरैनापुरका कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण गरिएको छ । तल्लो कक्षादेखि माथिल्लोमा उक्लिँदा विद्यालय छोड्नेक्रम बढेपछि गाउँपालिकाले छात्रालाई विद्यालयसँग जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा निःशुल्क साइकल वितरण कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पालिकामा रहेका तीन माध्यमिक विद्यालय र एक आधारभूत तहमा कक्षा ६ देखि १२ सम्म अध्ययन गर्दै आएका ५०२ छात्रालाई साइकल वितरण गरेको हो । नरैनापुरमा रहेका सामुदायिक विद्यालयमध्ये तीन मावि, एक आधारभूत तथा ४२ प्राविमा कक्षा ५ सम्म पढेर विद्यालय टाढा भएको बहाना बनाउँदै कक्षा छाड्ने गरेको गुनासो आएपछि गाउँपालिकाले छात्रालाई साइकल वितरण गर्न थालेको अध्यक्ष शाहको भनाइ छ ।
नरैनापुरको शैक्षिक क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले छात्राको विद्यालयसम्म पहुँच बढाउन साइकल उपलब्ध गराइएको हो । लुम्बिनी प्रदेश सरकार र नरैनापुर गाउँपालिकाको सहकार्यमा रु ५० लाख बजेटमा साइकल वितरण कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिनुभयो ।



प्रतिक्रिया