नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा तीन जनाको उम्मेदवारी

नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा तीन जनाको उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गराउनेमा क्रमशः इन्द्रबहादुर बानियाँ (मकवानपुर), जगदिश्वरनरसिंह केसी (नुवाकोट) र भीमसेनदास प्रधान (काठमाडौँ) हुनुहुन्छ ।  यसैगरी केसीको प्रस्तावकमा मधुप्रसाद आचार्य र सर्मथकमा कृष्ण बानियाँ (सवुज) हुनुहुन्छ । त्यस्तै अर्का सभापति पदका प्रत्यासी बानियाँको प्रस्तावकमा तीर्थ लामा र सर्मथकमा दुर्लभ थापा हुनुहुन्छ । अर्का उम्मेदवार प्रधानको प्रस्तावकमा शिवप्रसाद हुमागार्इँ र सर्मथकमा कुन्दनराज काफ्ले हुनुहुन्छ ।

उहाँहरुले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेर निर्वाचान कार्यालय हेटौँडामा आज उम्मेदवारी दर्ता गर्नुभएको हो । कांग्रेस बागमती प्रदेश समितिको सभापति र पदाधिकारीसहितको प्यानल बानियाँ आज उम्मेदवारी घोषणा गरी मनोनयन दर्ता गराउनु जानुभएको थियो । बानियाँको प्यानलमा उपसभापति पदका लागि मदनकृष्ण श्रेष्ठ (भक्तपुर) र धर्मराज गौतम (काठमाडौँ), महामन्त्रीमा राजु श्रेष्ठ (काठमाडौँ) र तिलक रुवाली (धादिङ), सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ(सिन्धुपाल्चोक), महेन्द्र थिङ र निरु खड्का (ललितपुर) उम्मेदवार हनुुहुन्छ । यससमेत ८३ सदस्य निर्वाचनमा भाग लिनुहुनेछ ।

यसैगरी सभापतिमा प्रत्यासी उम्मेदवार केसीको प्यानलमा उपसभापतिमा राजेन्द्र बुर्लाकोटी र मोहनबहादुर बस्नेत, महामन्त्री पदका लागि रामचन्द्र अर्याल (माइकल) र कञ्चनचन्द्र बादेलगायत हुनुहुन्छ । निर्वाचनअन्तर्गत यही मङ्सिर १८ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । प्रदेश प्रतिनिधिका रुपमा चुनिएर आएका करिब दुई हजार १०० मतदाताले मतदान गर्ने प्रदेश निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उक्त अधिवेशनबाट प्रदेश सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री तीनसहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिने भएको छ । प्रदेशको संरचनाअनुसार कांग्रेसको प्रदेश निर्वाचन पहिलोपटक हुन लागेको हो ।

यो पनि- आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउनुपर्ने दायित्व सबैको काँधमा छ : सभापति देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा विजयी गराउनुपर्ने दायित्व सबैको काँधमा रहेको बताउनुभएको छ ।

प्रदेश नं १ को प्रथम प्रदेश अधिवेशनको भर्चुअलरुपमा उद्घाटन गर्दै उहाँले अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कांग्रेसको अगुवाइमा आएको उल्लेख गर्दै कांग्रेसले सबै ठूला परिवर्तनको नेतृत्व गरेर मुलुकमा समृद्धिको पूर्वाधार खडा गरेको बताउनुभयो । संविधान जारी भएपछि प्रदेशको यो ऐतिहासिक पहिलो अधिवेशन भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “केही महिनाभित्रै स्थानीय तहको निर्वाचन तथा एक वर्षभित्र सङ्घ र प्रदेशको निर्वाचनमा जाँदैछाँै । त्यसैले पनि १४आँै महाअधिवेशन लगत्तै हाम्रो ध्यान तीनै तहका चुनावतर्फ हुनुपर्छ । पार्टीका आन्तरिक चुनावमा हुने जितहार एउटा स्वभाविक प्रक्रिया हो, लोकतान्त्रिक अभ्यास हो । त्यसैले तपाईहरुले आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रुपमा लिएर आगामी दिनमा पार्टीका सबै नेता तथा कार्यकर्ता एकढिक्का भएर जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।”

लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि सहादत प्राप्त गर्ने योद्धाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले जननायक बिपी कोइरालाको विचार अनि अन्य अग्रज नेताको योगदानलाई स्मरण गर्दै अब सबैले कांग्रेसलाई सदृढ र बलियो बनाउनुपर्ने उल्लेख गर्नुभयो । बलियो लोकतन्त्रमा मात्रै मुलुकको विकास र समृद्धि सम्भव हुने भन्दै प्रधानमन्त्री देउवाले मुलुकको विकास र समृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ भन्ने विगतका घटनाक्रमले पुष्टि गरिसकेको उल्लेख गर्नुभयो ।

“मलाई विश्वास छ, आज हुने प्रदेश अधिवेशनमा तपाईहरुले नेपाली कांग्रेसलाई थप सशक्त र बलियो बनाउने तथा जनताको मन जित्ने गरी रणनीति बनाउने विषयमा पनि छलफल गर्नुहुनेछ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री देउवाले प्रदेश अधिवेशनको पूर्ण सफलताको कामना गर्दै सहभागि सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

यो पनि- माओवादी स्थायी समिति बैठक : राष्ट्रिय सम्मेलनको तयारीका लागि उपसमिति गठन

नेकपा (माओवादी केन्द्र)ले आसन्न राष्ट्रिय सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलन सफल पार्न व्यवस्थापन, प्रचारप्रसार, स्वयम्सेवक तथा स्वास्थ्य उपसमिति गठन गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

नेता हितमान शाक्यको नेतृत्वमा सम्मेलन व्यवस्थापन उपसमिति र प्रवक्ता महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । बैठकले स्वयंसेवक र स्वास्थ्य उपसमिति पनि बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा आयोजना गरिएको छ । सम्मेलनको उद्घाटन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । “यो राष्ट्रिय सम्मेलन हो, महाधिवेशन होइन, हामीले उद्घाटन गर्छौं, आमसभा हुँदैन, यसले पार्टीको आगामी कार्यदिशा तय गर्छ”, उहाँले भन्नुभयो ।

बैठकले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोटका लागि प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको छ । हरेक प्रदेशबाट ३० र पार्टी सदस्यताका आधारमा थप प्रतिनिधिको टुङ्गो लगाउने पनि निर्णय गरेको छ । जनयुद्धका घाइते र अपाङ्गता भएकाबाट पनि सम्मेलनका लागि प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरिएको प्रवक्ता महराले जानकारी दिनुभयो । प्रत्येक प्रदेशबाट कम्तीमा एक घाइते तथा अपाङ्गता भएका प्रतिनिधि समावेश हुनेछन् । राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको शुल्क प्रतिव्यक्ति रु दुई हजार तोकिएको छ ।

बैठकले पार्टी विधानमा केही विषय संशोधन गर्नुपर्ने आवश्यकता महसुस गर्दै विधान संशोधनका लागि पाँच सदस्यीय उपसमिति गठन गरेको उहाँले जानकारी दिनुभयो । सो उपसमितिमा स्थायी समिति सदस्य देव गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मातृका यादव रहनुभएको छ ।

उपसमितिले विधान परिमार्जनको विषयलाई यही मङ्सिर २५ गतेसम्मे टुङ्गो लगाइसक्ने उहाँले जानकारी दिनुभयो । बैठकले लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ । अधिकांश स्थानीय तहमा अधिवेशन सम्पन्न भएको र पालिकामा अधिवेशन सम्पन्न हुने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । “केही स्थानमा प्राविधिक समस्या देखिएको छ, मङ्सिर २५ गतेसम्म सबै सकिन्छ”, उहाँले भन्नुभयो । माओवादीले यही मङ्सिर ११ गते देशभरका पालिकामा सम्मेलन आयोजना गरेको थियो ।

एमसिसीका बारेमा छलफल गर्न बाँकी

आउँदो संसद् अधिवेशनलाई सफल बनाउन माओवादीले भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । “माओवादीले संसद् बैठकमा सक्रियताका साथ भाग लिन्छ”, प्रवक्ता महराले भन्नुभयो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही मंसिर २८ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का सन्दर्भमा संसद्मा माओवादीको भूमिका के हुन्छ ? भन्ने पत्रकारको जिज्ञाशामा उहाँले त्यस विषयमा छलफल गर्न बाँकी रहेको बताउनुभयो ।