नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ताजा जनादेशमा जानु नै अहिलेको विकल्प भएको बताउनुभएको छ । सो पार्टीको हालै चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष ओलीले आज पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै वर्तमान अहिलेको राजनीतिक निकास ताजा जनादेश भएको दोहो¥याउनुभएको हो ।
एमालेले कारबाही गरेका सांसदलाई समावेश गरेर पार्टी विभाजन गराइएको आरोप उहाँको थियो । यही मङ्सिर २८ गते सङ्घीय संसद्को दुवै सदन आह्वान गरिएका सन्दर्भमा अध्यक्ष ओलीले भन्नुभयो, “हामीले कारबाही गरेका सांसदलाई कायम राखेर सदनको कारबाही चल्न सक्दैन । हाम्रो अवरोध कायमै रहन्छ ।”
नवनिर्वाचिन अध्यक्ष ओली वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाल, सचिवहरु गोकर्णराज विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, पद्मा अर्याललगायतले आज पदबहाली गर्नुभएको थियो । उहाँहरुलाई पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले स्वागत गर्नुभएको थियो । यही मङ्सिर १० गतेदेखि १४ गतेसम्म चितवनको सौराहामा भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको थियो ।
यो पनि – माओवादी स्थायी समिति बैठक : राष्ट्रिय सम्मेलनको तयारीका लागि उपसमिति गठन
नेकपा (माओवादी केन्द्र)ले आसन्न राष्ट्रिय सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलन सफल पार्न व्यवस्थापन, प्रचारप्रसार, स्वयम्सेवक तथा स्वास्थ्य उपसमिति गठन गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
नेता हितमान शाक्यको नेतृत्वमा सम्मेलन व्यवस्थापन उपसमिति र प्रवक्ता महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । बैठकले स्वयंसेवक र स्वास्थ्य उपसमिति पनि बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा आयोजना गरिएको छ । सम्मेलनको उद्घाटन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । “यो राष्ट्रिय सम्मेलन हो, महाधिवेशन होइन, हामीले उद्घाटन गर्छौं, आमसभा हुँदैन, यसले पार्टीको आगामी कार्यदिशा तय गर्छ”, उहाँले भन्नुभयो ।
बैठकले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोटका लागि प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको छ । हरेक प्रदेशबाट ३० र पार्टी सदस्यताका आधारमा थप प्रतिनिधिको टुङ्गो लगाउने पनि निर्णय गरेको छ । जनयुद्धका घाइते र अपाङ्गता भएकाबाट पनि सम्मेलनका लागि प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरिएको प्रवक्ता महराले जानकारी दिनुभयो । प्रत्येक प्रदेशबाट कम्तीमा एक घाइते तथा अपाङ्गता भएका प्रतिनिधि समावेश हुनेछन् । राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको शुल्क प्रतिव्यक्ति रु दुई हजार तोकिएको छ ।
बैठकले पार्टी विधानमा केही विषय संशोधन गर्नुपर्ने आवश्यकता महसुस गर्दै विधान संशोधनका लागि पाँच सदस्यीय उपसमिति गठन गरेको उहाँले जानकारी दिनुभयो । सो उपसमितिमा स्थायी समिति सदस्य देव गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मातृका यादव रहनुभएको छ ।
उपसमितिले विधान परिमार्जनको विषयलाई यही मङ्सिर २५ गतेसम्मे टुङ्गो लगाइसक्ने उहाँले जानकारी दिनुभयो । बैठकले लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ । अधिकांश स्थानीय तहमा अधिवेशन सम्पन्न भएको र पालिकामा अधिवेशन सम्पन्न हुने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । “केही स्थानमा प्राविधिक समस्या देखिएको छ, मङ्सिर २५ गतेसम्म सबै सकिन्छ”, उहाँले भन्नुभयो । माओवादीले यही मङ्सिर ११ गते देशभरका पालिकामा सम्मेलन आयोजना गरेको थियो ।
एमसिसीका बारेमा छलफल गर्न बाँकी
आउँदो संसद् अधिवेशनलाई सफल बनाउन माओवादीले भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । “माओवादीले संसद् बैठकमा सक्रियताका साथ भाग लिन्छ”, प्रवक्ता महराले भन्नुभयो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही मंसिर २८ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का सन्दर्भमा संसद्मा माओवादीको भूमिका के हुन्छ ? भन्ने पत्रकारको जिज्ञाशामा उहाँले त्यस विषयमा छलफल गर्न बाँकी रहेको बताउनुभयो ।
प्रतिक्रिया