महेन्द्रनगर, १७ मङ्सिर (रासस) : आज विश्व अपाङ्ग दिवस मनाइरहँदा अपाङ्गता भएका मदन पुरस्कार विजेता कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का नरबहादुर साउँद महेन्द्रनगर बजारमा स्कुटी मर्मतमा व्यस्त भेटिनुभयो । शारीरिकरुपले अशक्त भए पनि उहाँको अध्ययन र लेखनप्रतिको लगाव भने जो कोहीका लागि पनि प्रेरणादायी छ । शारीरिकरुपले अशक्त, उमेर ५८ वर्ष र पारिवारिक स्थिति पनि सुखद् नहुँदा पनि मदनपुस्कार विजेता नरबहादुरले लेखन र अध्ययनलाई निरन्तरता दिँदै आउनुभएको छ । न सन्तति न त श्रीमती । ९१ वर्षीया आमा गुमाएर पीडामा रहेका नरबहादुरको ध्यान अहिले अध्ययनमा रहेको छ ।

विसं २०६६ मा ‘नेपालका बालीनाली र तिनको दिगो खेती’ नामक पुस्तक लेखेर मदन पुरस्कार जितेका उहाँ अहिले महेन्द्रनगरस्थित शारदा विद्यापीठमा स्नातक तहमा शास्त्री अध्ययन गर्दै हुनुहुन्छ । “संस्कृत ग्रन्थ पनि अध्ययन गर्नुपर्ने भएकाले शास्त्री अध्ययनको दोस्रो वर्ष अहिले घरबाट अनलाइन कक्षा लिँदैछु”, उहाँले भन्नुभयो, “तरकारी खेती नाकम किताब लेखन अध्ययनका कारण अधुरोजस्तै छ ।”
उहाँले शास्त्री अध्ययन सकिएपछि आगामी वर्ष ‘तरकारी खेती’ नामक किताब बजारमा ल्याउने बताउनुभयो । आफू अशक्त, घरमा ९३ वर्षीय बुबा धनबहादुर र ४५ वर्षीया बहिनी जानकीको स्याहार पाएर लेखन तथा अध्ययनमा मन दिएका उहाँले परिवारमा निकै कष्ट रहेको सुनाउनुभयो ।
“बहिनीको पनि अवस्था शारीरिक र मानसिक रुपले पूर्णरुपमा ठीक छैन”, उहाँले भन्नुभयो, “तर पनि बहिनीले बुबा र मलाई खाना पकाएर खुवाएकै छ ।” नरबहादुरको पुर्खौली घर बैतडी हो भने लामो समयदेखि कञ्चनपुरको भीमदत्त–२ मा बस्दै आउनुभएको छ । पुस्तक लेखनमा सक्रिय उहाँ ओछ्यानमै पल्टिएर कम्प्युटरमा अक्षर थिच्न सक्रिय हुनुहुन्छ ।
“अपाङ्गता भएका व्यक्तिले पनि समाजका लागि केही सकारात्मक काम र सन्देश दिन सक्छन भन्नेमा ढुक्क छु”, उहाँले भन्नुभयो, “त्यो अवस्था भएका व्यक्तिलाई सोहीअनुसारको सीप र काममा लगाउने गरी सरकारले योजना बनाउनु आवश्यक छ ।” दोस्रो पुस्तक ‘च्याउ खेती’ पनि बजारमा ल्याएका उहाँले नयाँ पुस्तक ‘तरकारी खेती’ लेखन जारी राख्नुभएको छ ।
विसं २०४७ मा दुग्ध संस्थानको जागीर हुँदा बुटवलदेखि सुर्खेत आउँदै गर्दा संस्थानको ट्याङ्कर बाँकेको कुसुममा दुर्घटनाग्रस्त हँुदा उहाँ मेरुदण्ड नै भाचिएर अपाङ्गता हुन पुग्नुभएको थियो । दुर्घटनाको केही समयपछि श्रीमतीले पनि बेवास्ता गर्दै माइतमा बसेपछि आफ्नो पीडा थपिएको उहाँको भनाइ छ । स्कुटी चलाएर उहाँ अध्ययनका लागि हरेक दिन १२ किलोमिटर दूरी पार गर्दै क्याम्पस पुग्नुहुन्छ । बैतडीको रिम गाविस–३ बण्डामा २०१९ सालमा जन्मिनुभएका उहाँको पुस्तकले मदन पुरस्कार पाएपछि उहाँमा थप ऊर्जा मिलेको छ ।



प्रतिक्रिया