कञ्चनपुरमा ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, १२ जना घाइते

कञ्चनपुरमा ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, १२ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पुर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै से १ त ३८४१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–९ पिपरैयाका वर्ष ६५ का द्रोपती राना र वर्ष ३३ का रतन कुमारी राना रहेका छन् । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।

कृष्णपुर नगरपालिका–९ पिपरैयाबाट बेदकोट नगरपालिकाको दैजीमा जन्ती पुर्याएर फर्कने क्रममा चालकले नियन्त्रण गुमाउदा ट्र्याक्टर सडक छेउमै पल्टीएको हो । प्रहरीका अनुसार ट्र्याक्टरमा ३० जना बढी सवार रहेका थिए । घाइतेको झलारीस्थीत नीजि मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि कैलालीको धनगढीतर्फ पठाइएको छ ।

यो पनि – दोब्बर रकम दिन्छु भन्दै ठग्ने पक्राउ

सापटी दिएको रकम केही दिनको अन्तरालमा दोब्बर दिने आश्वासनको पछि लाग्दा नेपाली नागरिक ठगिएका छन् । कहिलै भेटघाट नभएका मान्छेको विश्वास गर्दा उनीहरुबाट रु एक करोड २२ लाख ठगिएको हो । यसरी ठगी गर्ने उनीहरुले मानिसहरुसँग रकम लिएर केही दिनमा दोब्बर फिर्ता गर्ने आश्वासन दिएका थिए । तर लामो समयसम्म पनि रकम फिर्ता नपाएपछि ठगिएका व्यक्ति प्रहरीसमक्ष पुगेका थिए ।

प्रहरीले सो कार्यमा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१० का ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौँ महानगरपालिका–१३ ताहाचलका २८ वर्षीय रोजन भुजेल छन् । उनीहरुलाई विभिन्न मितिमा काठमाडौँबाट पक्राउ गरी कानूनी कारबाही थालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त सूचना आएपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पीडितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा बेन्जामिन फ्रयाङ्कलिन भनेर चिनाउने विदेशी नागरिकले आफू प्लाष्टिक सर्जन डाक्टर भएको र कोर्सका लागि मलेसिया आएकामा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाई सहयोग गरेमा बेलायत पुगेपछि सबै रकमको दोब्बर रकम फिर्ता दिने प्रलोभन देखाएका थिए ।

ती विदेशी नागरिकले प्रलोभन देखाई भण्डारी र भुजेलसमेतको बैंक खाता नम्बर प्रयोग गरी विभिन्न मितिमा भण्डारीको नामको गरिमा विकास बैंकको खातामा रु ७८ लाख, भुजेलको नामको नविल बैंकको खातामा नगद रु नौ लाख ५० हजार र अन्य मानिसबाट थप रकमसमेत गरी ठगी गरेको खुल्न आएको छ । उनीहरुलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले सूचना जारी गरी जनाएको छ ।

यसैबीच रक्तचन्दनको तेलको अवैध कारोबार गरेको अभियोगमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ । बुढानीलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट ४४ लिटर रक्तचन्दनको तेलसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा काठमाडौँ बालाजु बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका–४ का २७ वर्षीय रामबहादुर खत्री र काठमाडौँ बुढानीलकण्ठ–५ बस्ने कास्कीको लेखनाथका ४० वर्षीय गङ्गाबहादुर पुन रहेका छन् ।

रक्तचन्दनको तेल प्रतिलिटर रु पाँच लाखका दरले अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएकोे छ ।