गत हप्ता ओस्लोमा १०० भन्दा बढी पाहुनाभेला भएको क्रिसमस भोजपछि कोभिड–१९ सङ्क्रमित भेटिएका कम्तीमा १७ जनालाई ओमिक्रोन भेरिएन्ट भएको आशङ्का गरिएको ओस्लोका सहरी अधिकारीहरूले शुक्रबार बताएका छन् । पार्टी जानेहरूमध्ये कोभिड सङ्क्रमण पुष्टि भएका अन्य व्यक्तिमा पनि ओमिक्रोन भाइरस देखिने सम्भावना भएकोले ओमिक्रोन सङ्क्रमित बढ्ने सम्भावना देखिएको छ ।
ओस्लो नगर प्रशासनले भनेको छ, “अहिलेसम्म पीसीआर परीक्षण भएका ६० र एन्टिजेन परीक्षण गरिएका अन्य चार जनालाई कोभिड सङ्क्रमण पुष्टि भएको छ ।”“१७ जनामा ओमिक्रोन सङ्क्रमणको प्रबल सम्भावना छ तर त्यो अझै पक्का भएको छैन । अहिलेसम्म एक जनालाई ओमिक्रोन भएको पुष्टि गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।
भोजमा सहभागी करिब १२० जनामध्ये सबैले खोप लगाएको बताइएको छ । सङ्क्रमितमध्ये केही व्यक्ति हालै दक्षिण अफ्रिका यात्रा गरेका पनि बताइएको छ । उनीहरू गत शुक्रबार आफ्नो मालिकद्वारा आयोजित क्रिसमस भोजमा सहभागी भएका थिए । नगर स्वास्थ्य अधिकारी टिन राभ्लोले एएफपीसँग भन्नुभयो, “उनीहरू सबैलाई खोप लगाइएको थियो, तिनीहरूमध्ये कसैलाई पनि जटिल लक्षणहरू थिएनन् र तिनीहरू सबैले आफै परीक्षण गरेका थिए । भोज लगायत सबै कुरा कोभिड कानून अनुसार गरिएको थियो र कुनै नियम भङ्ग गरिएको थिएन ।”
सङ्क्रमण देखिएका व्यक्तिमा सामान्य अहिलेसम्म टाउको दुख्ने, घाँटी दुख्ने र खोकी लाग्ने जस्ता हल्का लक्षण मात्र देखा परेका राभ्लोले बताउनुभयो । कुनै–कुनै परीक्षणहरूमा जाँच गरेपछि ओमिक्रोनको शङ्का उत्पन्न भयो यद्यपि सबैको पूर्णतया विश्लेषण गरिएको छैन ।यसको अर्थ पुष्टि गरिएका घटनाहरूको सङ्ख्या बढ्न सक्छ । बिहीबार ओमिक्रोम सङ्क्रमणको शकास्पद घटना देखा परेपछि नर्वे सरकारले ग्रेटर ओस्लोमा धेरै प्रतिबन्धको घोषणा गरेको छ र यो आजै मध्यरातदेखि लागु गरिएको छ ।
यो पनि- पछिल्लो २४ घण्टामा थप २४६ मा कोरोना सङ्क्रमण पुष्टि
देशभर पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा सात हजार ८३६ जनाको पीसीआर परीक्षण गरिएको थियो । यससँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षणपछि भएका सङ्क्रमितको सङ्ख्या आठ लाख २२ हजार १७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ५६९ पुगेको छ । पछिल्लो समय थप ३४७ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख तीन हजार ७१६ पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्मु नभएको मन्त्रालयले जानकारी गराइएको छ । यस रोगबाट हालसम्ममा मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९२१ रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ५७९, संस्थागत आइसोलेशनमा ३४२, आइसीयुमा १०७ र भेन्टिलेटरमा ३४ जनाको उपचार हुँदैछ । त्यसैगरी पछिल्लो २४ घण्टामा एक लाख ७५ हजार ५६७ जनाले खोप लगाएको पनि मन्त्रालयले जानकारी गराएको छ ।
यो पनि – सुदूरपश्चिममा १९ जनामा सङ्क्रमण पुष्टि
सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ८३९ जनाको नमूना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआरमार्फत १४ र एन्टीजेन विधिमार्फत पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआरबाट सेती प्रादेशिक अस्पतालमा आठ र महाकाली अस्पतालमा छ जनामा पुष्टि भएको छ । यस्तै एन्टीजेन विधिमार्फत कञ्चनपुरका तीन र बैतडीका दुई जनामा सङ्क्रमण देखिएको हो ।
यस्तै गएको २४ घण्टामा प्रदेशभर सात जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण मृत्यु भएको छैन् । यसअघि बिहीबार यस प्रदेशमा आठ जनामा सङ्क्रमण पुष्टि हुँदा ११ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६०९ जनाको ज्यान गइसकेको छ । –––
यो पनि – अमेरिकामा ओमिक्रोन भेरियन्टको तेस्रो सङ्क्रमण पुष्टि
संयुक्त राज्य अमेरिकामा ओमिक्रोन कोरोनाभाइरस संस्करणको तेस्रो केस कोलोराडो राज्यमा पुष्टि भएको छ । गभर्नर जेरेड पोलिसले बिहीबार पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिनुभएको हो । “केही क्षण अघि, कोलोराडोको सार्वजनिक स्वास्थ्य र वातावरण विभागले ओमिक्रोन संस्करणको पहिलो कोलोराडो केस पुष्टि गर्यो। सङ्क्रमित दक्षिणी अफ्रिकाको यात्रा गरी भर्खर फर्किएकी हुन् । उनमा हाल हल्का लक्षणहरू देखिएको छ र घरमा अलग्गै बसेकी छिन्। उनले खोप लिएकी तिइन तर बुस्टर डोज भने लिएकी थिइनन्” गभर्नरले थप्नुभयो । क्यालिफोर्निया र मिनेसोटामा अहिलेसम्म दुई अन्य केसहरू फेला परेका छन्। ती सङ्क्रमित तीनै जनालाई खोप लगाइएको थियो ।
नयाँ ओमिक्रोन संस्करणको बढ्दो त्रासका बीच अमेरिका लगायत विश्वभरका सरकारहरूले पछिल्लो समय यात्रा प्रतिबन्ध र सार्वजनिक स्वास्थ्य उपायहरू बढाएका छन्।
राष्ट्रपति जो बाइडेनले बिहीबार जाडो मौसममा कोभिड भाइरस र नयाँ भेरियन्ट विरुद्ध लड्न मद्दत गर्ने उद्देश्यले पाँच-बुदे योजना घोषणा गर्नुभएको थियो ।



प्रतिक्रिया