देश विकासमा उपयोगी हुने सीपमूलक शिक्षा नै आजको आवश्यकता : प्रधानमन्त्री देउवा

देश विकासमा उपयोगी हुने सीपमूलक शिक्षा नै आजको आवश्यकता : प्रधानमन्त्री देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले रोजगारीका लागि विदेशिनु पर्ने परिस्थितिलाई मनन गर्दै युवा जनशक्तिलाई देश विकासको कार्यमा उपयोगी हुने सीपमूलक शिक्षा, आधुनिक कृषि तथा वन विज्ञानतर्फको अध्ययनको विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । सुदूरपश्चिम विश्वविद्यालयको आज यहाँ आयोजित नवौँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालयले विशेषतः त्यस क्षेत्रका नागरिकलाई उच्च शिक्षामा सहज पहुँचको सुनिश्चिता गर्दै शिक्षित समाज निर्माणमा आफूलाई अग्रपङ्क्तिमा उभ्याउने छ भन्ने अपेक्षा गर्नुभयो ।

एक्काइसौँ शताब्दीको विश्वपरिवेशमा समायानुकूल उत्कृष्ट जनशक्ति उत्पादन गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा योगदान दिन सक्ने शैक्षिक कार्यक्रम विश्वविद्यालयले सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले हाल विश्वविद्यालयले सञ्चालन गरेका शैक्षिक गतिविधिलाई अझै व्यावसायिक, वैज्ञानिक, अनुसन्धानमूलक, सेवामूलक तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने थलोका रूपमा विकसित गरी देशको चौतर्फी विकासमा कोसेढुङ्गा बनोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।

विश्वविद्यालयले सुदूरपश्चिमको भाषा, संस्कृति र प्राकृतिक सम्पदाको अध्ययन अनुसन्धान गर्ने कार्यमा विशेष जोड दिनेछ भन्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणले विश्वविद्यालयका विभिन्न शैक्षिक गतिविधि सञ्चालन गर्न कठिनाइ भएको सर्वविदितै छ । यस महामारीको अवधिमा पनि वैकल्पिक विधिबाट शैक्षिक, प्राज्ञिक, अध्ययन तथा अनुसन्धान एवं परीक्षाका सम्पूर्ण गतिविधि समयमा नै सफलतापूर्वक सम्पन्न भएका छन् ।”

यस विश्वविद्यालयको शैक्षिक एवं प्राज्ञिक उन्नयनका सन्दर्भमा रहेका चुनौतिहरूप्रति आफू जानकार नै रहेको बताउँदै प्रधानमन्त्री देउवाले यसमा पदाधिकारी, सभासद्लगायत विद्वतवर्गले सहकार्य र सहजीकरण गर्दै विश्वविद्यालयलाई गतिशील बनाउनुहुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले विश्वविद्यालयको विकासमा नेपाल सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सुदूरपश्चिम विश्वविद्यालयले उच्च शिक्षामा जनताको पहुँच विस्तार गर्दै राष्ट्रलाई आवश्यक गुणस्तरीय जनशक्तिको परिपूर्ति गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयका जनशक्तिसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरी देशको आवश्यकता परिपूर्ति गर्ने कार्यमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले देश निर्माणका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने प्राज्ञिक थलोका रूपमा आफूलाई उभ्याई एक दशकमै शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न सफल भएकोमा विश्वविद्यालय परिवारलगायत सबैलाई धन्यवाद दिनुभयो ।

यो पनि – न्यायपालिकालाई सहयोग गर्छौँ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् पुनःस्थापनका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको बताउनुभएको छ । पत्रकारसँग आज कुराकानी गर्दै उहाँले संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट भएको सकारात्मक कामको गुन तिर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो तपाईंहरुले थाहा पाइराखेकै कुरा हो नि ! संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको छ । त्यो बिर्सेका छैनौँ । अहिले न्यायपालिकालाई समस्या पर्दा त्यसलाई सहयोग गर्छाैँ ।” उहाँले थप्नुभयो, “हामीले सहयोग हिजो पनि गरिहाल्यौँ नि ! गठबन्धनको बैठक बसेर प्रधानन्यायाधीश अस्पतालमा बसेको समयमा कम्तीमा पनि बिदा बसेर कार्यवाहक तोक्नु राम्रो हुन्छ भनेर भनियो । त्यो पनि सहयोग नै गरेको हो ।”

सहयोग न्यायपालिकालाई सहयोग गर्दै जाने उहाँको भनाइ थियो । प्रधानन्यायाधीश डिस्चार्ज भएर आउनुभएको भन्दै उहाँले अब फेरि सत्ताधारी गठबन्धन दल बसेर सल्लाह गर्ने उहाँले बताउनुभयो । फरक प्रसङ्गमा अध्यक्ष दाहालले सरकारले यही मङ्सिर २८ गतेका लागि आह्वान गरेको संसद् बैठकले आफ्ना नियमित कामलाई अघि बढाउने बताउनुभयो । एमालेले संसद् बैठक अवरुद्ध गर्ने भनेको छ नि भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो, “उहाँहरुले सुरुदेखि नै अवरोध गरिराख्नुभएको छ तर अधिवेशन पनि चल्यो, बजेट पनि प्रस्तुत भयो, पारित पनि भयो । त्यसैगरी चल्छ ।” उहाँहरुको नियत चाहिँ ठीक छैन भन्नेकुरा पूरै नेपालीले देखिसकेको उहाँको भनाइ थियो ।

उहाँले थप्नुभयो, “अहिले महाधिवेशन गरेपछि सकारात्मक हुन्छ कि भनेको त्यो पनि नहुने भो भन्ने कुरा आजको वक्तव्यबाट देखियो ।” पेल्ने भन्ने कुरा नभएको भन्दै उहाँले सदनबाट गर्नुपर्ने काम अघि बढ्दै जाने बताउनुभयो । अहिले तत्काल निर्वाचन सम्भव नभएको उहाँको भनाइ थियो । उहाँले निर्वाचनका लागि आयोग र राजनीतिक दलसँग सल्लाह गरेर मात्रै निर्वाचन अघि बढ्ने बताउनुभयो । अहिले निर्वाचनको टुङ्गो लागि नसकेको भन्दै उहाँले भन्नुभयो, “मलाई जहाँसम्म लाग्छ तत्काल निर्वाचन हुँदैन ।”

यो पनि – ताजा जनादेश नै सही विकल्प ः अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ताजा जनादेशमा जानु नै अहिलेको विकल्प भएको बताउनुभएको छ । सो पार्टीको हालै चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष ओलीले आज पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै वर्तमान अहिलेको राजनीतिक निकास ताजा जनादेश भएको दोहो¥याउनुभएको हो ।

एमालेले कारबाही गरेका सांसदलाई समावेश गरेर पार्टी विभाजन गराइएको आरोप उहाँको थियो । यही मङ्सिर २८ गते सङ्घीय संसद्को दुवै सदन आह्वान गरिएका सन्दर्भमा अध्यक्ष ओलीले भन्नुभयो, “हामीले कारबाही गरेका सांसदलाई कायम राखेर सदनको कारबाही चल्न सक्दैन । हाम्रो अवरोध कायमै रहन्छ ।”

नवनिर्वाचिन अध्यक्ष ओली वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाल, सचिवहरु गोकर्णराज विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, पद्मा अर्याललगायतले आज पदबहाली गर्नुभएको थियो । उहाँहरुलाई पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले स्वागत गर्नुभएको थियो । यही मङ्सिर १० गतेदेखि १४ गतेसम्म चितवनको सौराहामा भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको थियो ।

यो पनि – माओवादी स्थायी समिति बैठक : राष्ट्रिय सम्मेलनको तयारीका लागि उपसमिति गठन

नेकपा (माओवादी केन्द्र)ले आसन्न राष्ट्रिय सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलन सफल पार्न व्यवस्थापन, प्रचारप्रसार, स्वयम्सेवक तथा स्वास्थ्य उपसमिति गठन गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

नेता हितमान शाक्यको नेतृत्वमा सम्मेलन व्यवस्थापन उपसमिति र प्रवक्ता महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । बैठकले स्वयंसेवक र स्वास्थ्य उपसमिति पनि बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा आयोजना गरिएको छ । सम्मेलनको उद्घाटन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । “यो राष्ट्रिय सम्मेलन हो, महाधिवेशन होइन, हामीले उद्घाटन गर्छौं, आमसभा हुँदैन, यसले पार्टीको आगामी कार्यदिशा तय गर्छ”, उहाँले भन्नुभयो ।

बैठकले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोटका लागि प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको छ । हरेक प्रदेशबाट ३० र पार्टी सदस्यताका आधारमा थप प्रतिनिधिको टुङ्गो लगाउने पनि निर्णय गरेको छ । जनयुद्धका घाइते र अपाङ्गता भएकाबाट पनि सम्मेलनका लागि प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरिएको प्रवक्ता महराले जानकारी दिनुभयो । प्रत्येक प्रदेशबाट कम्तीमा एक घाइते तथा अपाङ्गता भएका प्रतिनिधि समावेश हुनेछन् । राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको शुल्क प्रतिव्यक्ति रु दुई हजार तोकिएको छ ।

बैठकले पार्टी विधानमा केही विषय संशोधन गर्नुपर्ने आवश्यकता महसुस गर्दै विधान संशोधनका लागि पाँच सदस्यीय उपसमिति गठन गरेको उहाँले जानकारी दिनुभयो । सो उपसमितिमा स्थायी समिति सदस्य देव गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मातृका यादव रहनुभएको छ ।

उपसमितिले विधान परिमार्जनको विषयलाई यही मङ्सिर २५ गतेसम्मे टुङ्गो लगाइसक्ने उहाँले जानकारी दिनुभयो । बैठकले लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ । अधिकांश स्थानीय तहमा अधिवेशन सम्पन्न भएको र पालिकामा अधिवेशन सम्पन्न हुने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । “केही स्थानमा प्राविधिक समस्या देखिएको छ, मङ्सिर २५ गतेसम्म सबै सकिन्छ”, उहाँले भन्नुभयो । माओवादीले यही मङ्सिर ११ गते देशभरका पालिकामा सम्मेलन आयोजना गरेको थियो ।

एमसिसीका बारेमा छलफल गर्न बाँकी

आउँदो संसद् अधिवेशनलाई सफल बनाउन माओवादीले भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । “माओवादीले संसद् बैठकमा सक्रियताका साथ भाग लिन्छ”, प्रवक्ता महराले भन्नुभयो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही मंसिर २८ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का सन्दर्भमा संसद्मा माओवादीको भूमिका के हुन्छ ? भन्ने पत्रकारको जिज्ञाशामा उहाँले त्यस विषयमा छलफल गर्न बाँकी रहेको बताउनुभयो ।