बसले ट्र्याक्टरलाई ठक्कर दिँदा एकको मृत्यु

बसले ट्र्याक्टरलाई ठक्कर दिँदा एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वतको कुश्मा नगरपालिका– ८ चुवाको पराधिमा आज बिहान बसले ट्र्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराबाट पर्वततर्फ आउँदै गरेको ग१ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को२त ६४२७ नम्वरको ट्र्याक्टरलाई ठक्कर दिँदा उदयपुरको चौवन्दी गाउँपालिकाका १८ वर्षीय विशाल लामिछानेको घटनास्थलमै मृत्यु भएको हो ।

ट्र्याक्टरमा मध्यपहाडी लोकमार्गका मजदुर सवार थिए । उनीहरुमध्ये पाँच जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार १४ जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पर्वत र गम्भीर घाइतेलाई पोखरा पठाइएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको छ ।

यो पनि – मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया

नवलपरासी (बर्दघाट–सुस्ता)मा मोतियाबिन्दु भएका १८३ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । काठमाडौँको तिलगङ्गा आँखा प्रतिष्ठान, रोटरी क्लब अफ कावासोती, मध्यबिन्दु जिल्ला अस्पतालको संयुक्त आयोजना तथा रोट्रयाक्ट क्लब अफ कावासोती, मध्यबिन्दु आँखा उपचार केन्द्रलगायत विभिन्न संस्थाको सहयोगमा मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो ।

कावासोती–१६ मा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा चार दिनसम्म सञ्चालन गरिएको शिविरबाट मोतियाबिन्दुका बिरामी लाभान्वित भएका रोटरी क्लब अफ कावासोतीका अध्यक्ष जीवन सापकोटाले जानकारी दिनुभयो । जिल्लाको आठवटै स्थानीय तहबाट आएका आँखाको बिरामीको परीक्षण गर्दा मोतियाबिन्दु भेटिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको सापकोटाले बताउनुभयो । आँखाको परीक्षण गर्न आएका एक हजारभन्दा बढीको बिरामीमध्ये करिब २०० मा मोतियाबिन्दुको समस्या देखिएको अध्यक्ष सापकोटाले बताउनुभयो ।

“शिविरमा आँखा परीक्षण गर्न आउँदा मोतियाबिन्दु देखिएका सबै बिरामीको शल्यक्रिया गर्न सकिएन”, अध्यक्ष सापकोटाले भन्नुभयो, “उहाँहरुको स्वास्थ्य समस्याका कारण हाललाई शल्यक्रिया गर्न नसकिएको हो ।” तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका लिना बज्राचार्यको नेतृत्वमा आएको नेत्र रोग विशेषज्ञ डा अनिमा देसार, डा क्षितिज जङ्गलगायत १५ को समूहले बिरामीको आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया गरेको थियो । रोटरी क्लबले आउँदा वर्षहरुमा पनि निःशुल्क आँखा परीक्षण र मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया कार्यक्रमलाई निरन्तरता दिनका लागि तिलगङ्गा आँखा प्रतिष्ठानसँग प्रस्तावसमेत गरेको अध्यक्ष सापकोटाले बताउनुभयो ।

आँखा परीक्षणका लागि पुगेका बिरामीको निःशुल्करुपमा मधुमेह परीक्षण, रक्तचाप परीक्षण, कोभिड–१९ को परीक्षण तथा आवश्यकताअनुसार निःशुल्करुपमा औषधि तथा चस्मा पनि प्रदान गरिएको थियो । आँखा शिविरको उद्घाटन कार्यक्रम रोटरी डिष्ट्रिक ३२९२ का पूर्वगभर्नर रवीन्द्र पियाले मानवीय अङ्गमध्ये आँखा संवेदनशील भएकाले यसको सुरक्षाको लागि सचते हुनुपर्ने बताउनुभयो । आँखामा केही समस्या देखिएमा जथाभावी औषधिको प्रयोग गर्न नहुने भन्दै पियाले तुरुन्तै आँखा रोग विशेषज्ञलाई देखाउनुपर्ने बताउनुभयो ।