जुम्लामा कोरोना पीडित र अपाङ्गता भएका व्यक्तिलाई राहत

जुम्लामा कोरोना पीडित र अपाङ्गता भएका व्यक्तिलाई राहत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्लामा अपाङ्गता भएका कोरोना पीडित २४९ र विपन्न गरी पाँच ५५५ जनालाई राहत वितरण गरिएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकामा रहेका यस्ता व्यक्तिको दैनिक जीवन सहज बनाउनका लागि राहत वितरण गरिएको हो ।

कोरोनाबाट पीडित परिवारलाई सहायता कार्यक्रमअन्तर्गत करिब छ महिना पुग्ने खाद्यान्न वितरण गरिएको जिल्लास्थित अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्रका अध्यक्ष नन्दराज धितालले बताउनुभयो । सिबिएम नेपालको सहयोगमा आईएनएफ नेपाल जुम्ला शाखाले स्थानीय सरकारको समन्वयमा दुई चरणमा चामल ६० केजी, दाल १५ केजी, एक किलो नुन, दुईवटा साबुन, जिरा, खुर्सानी, धनियासहित खाद्य सामग्री वितरण गरेको परियोजना संयोजक ठालुराम चौधरीले बताउनुभयो । विपन्न परिवारमा अपाङ्गता भएका व्यक्ति बढी भएकाले राहत वितरणमा तिनलाई प्राथमिकता दिएर टुहुरा बालक, एकल महिला, ज्येष्ठ नागरिकलाई समेत राहत वितरण गरिएको थियो। कोरोनाका कारण आम्दानी गुमाएका तथा अन्य विपन्न नागरिकलाई तेस्रो चरणमा राहत वितरण कार्यक्रमको तयारी भइरहेको छ ।

कनकासुन्दरी र चन्दननाथमा विपन्नलाई राहत कार्डसमेत वितरण गरिएको छ । विपन्नले सोही कार्डको आधारमा तेस्रो चरणको राहत पाउनेछन् । कोरोनाले लामो समयसम्म आम्दानीविहीन बनाएकाले करिब छ महिनासम्म पुग्नेगरी खाद्यान्न वितरण गरिएको हो । कोरोनाको समयमा आइएनएफले राहत वितरण, महासङ्घले सचेतना तथा सिएमसीले मनोसामाजिक समस्या भएका व्यक्तिलाई तनाव व्यवस्थापनसम्बन्धी तालिम दिँदै आएको महासङ्घका कर्णाली प्रदेश अध्यक्ष विष्णु शर्माले बताउनुभयो ।सङ्कटको समय आर्थिक अवस्था कमजोर भएका घर परिवारका व्यक्तिलाई राहत उपलब्ध गराउनु सकारात्मक रहेको चन्दननाथ नगरपालिका उपप्रमुख अप्सरादेवी न्यौपानेले बताउनुभयो ।

यो पनि – अपाङ्गतता भएकालाई सहयोग सामग्री

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा कास्कीको रुपा गाउँपालिकामा छात्रवृत्ति र सामग्री वितरण गरिएको छ । सगोल कास्कीले दिवसकै अवसर पारेर अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।  अपाङ्गता भएका १६ छात्रा र १४ छात्र गरी ३० जनाका लागि झोला, कापी, कलम, विद्यालय पोशाक र मास्क सहयोग प्रदान गरिएको सगोल कास्कीका अधिकृत विमला केसीले जानकारी दिनुभयो । छात्रवृत्ति प्राप्त गरेका सबै विद्यार्थीलाई गाउँपालिकाको तर्फबाट पोशाक सिलाइका लागि प्रतिविद्यार्थी रु ५०० का दरले कूल रु १५ हजार प्रदान गरिएको थियो ।

त्यस्तै गाउँपालिकाभित्र अपाङ्गता भएका १५ नागरिकका लागि आवश्यकताअनुसारका सामग्री प्रदान गरिएको छ । अपाङ्गताको प्रकृतिअनुसार ट्वाइलेट चियर, सेतोछडी, लठ्ठी र वैसाखी प्रदान गरिएको उहाँले बताउनुभयो । अपाङ्गतता भएका विद्यार्थी र व्यक्तिलाई सहयोगी सामग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष नवराज ओझाले अपाङ्गता भएका व्यक्तिलाई आर्थिकरुपमा सवल र आत्मनिर्भर बनाउन गाउँपालिकाले गरिरहेको प्रयासमा विभिन्न सङ्घ संस्थाको पनि सहयोग रहँदै आएको बताउनुभयो ।

गाउँपालिकामै चिकित्सक खटाएर स्वास्थ्य परीक्षण गरी घरदैलोमै अपाङ्गतता परिचयपत्र वितरण गरिएको बताउँदै उहाँले आगामी दिनमा पनि समाजका अपाङ्गता, असक्त, विपन्न वर्गको हितका लागि योजनाबद्ध रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बालबालिका विद्यालय पुगेपछि अपाङ्गतामैत्री वातावरण र संरचना अभाव देखिएका छन्, त्यस्ता संरचना निर्माणमा हामीले ध्यान दिइरहेका छौँ ।”

गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको आयआर्जनका लागि बाख्रापालन, मौरीपालन, कुखुरापालनलगायत बेलाबेलामा विभिन्न सीपमूलक तालिमसमेत आयोजना गर्दै आएको उहाँको भनाइ छ । गाउँपालिकाका उपप्रमुख लालसुवा गुरुङले अपाङ्गता भएका व्यक्तिको लागि छुट्टै सहकारी स्थापना गरी आर्थिक उन्नति र विकासमा ध्यान दिइएको बताउँदै आर्थिक अवस्था सुधार भएमात्र अपाङ्गता भएका व्यक्ति सक्षम हुनसक्ने विश्वास व्यक्त गर्नुभयो । रुपामा अपाङ्गताको क्षेत्रमा सगोल र परिलक्षित तथा बालबालिकाको क्षेत्रमा गोनेसाले गाउँपालिकासँग साझेदारी गरेर कार्यक्रम गरिरहेको बताउँदै उपाध्यक्ष गुरुङले गाउँपालिकामा गठित समूह र सञ्जाल एवं सहयोगी संस्थाका कारण अपाङ्गताको क्षेत्रमा काम गर्न सहज भएको बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुङ्गानाले सार्वजनिकस्थलको भौतिक पूर्वाधार निर्माणका क्रममा अपाङ्गमैत्री संरचना निर्माणमा गाउँपालिकाले जोड दिँदै आएको धारणा राख्नुभयो ।

रुपा अपाङ्गता संरक्षण समितिका अध्यक्ष सन्तबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा रुपा गाउँपालिका–५ का वडाध्यक्ष टेकबहादुर गुरुङ, गोनेसाका प्रज्वल पङ्गेनी, रुपा गाउँपालिका सामाजिक विकास शाखाका सीता सापकोटा सुवेदी, शिक्षा शाखा प्रमुख सन्दीप पौडेललगायतले अपाङ्गतता भएका व्यक्ति जीविकोपार्जनका लागि आवश्यक अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।