बेलका नगरपालिकालाई माछामा आत्मनिर्भर बनाउने उद्देश्यले उदयपुरको बेलका नगरपालिका–२ स्थित रामनगरमा व्यावसायिक माछापालन सुरु गरिएको छ ।
बेलका माछा सहकारी संस्था दर्ता गरेर नगरपालिकाको साझेदारीमा व्यावसायिकरूपले माछा पालन गर्न थालिएको हो । कोशी नदीको किनारमा खाली रहेको १४६ बिघा जमिन नगरपालिकासँग भाडामा लिएर गत बैशाखदेखि माछा पालन सुरु गरिएको संस्थाका अध्यक्ष अशोक कार्कीले जानकारी दिनुभयो ।
हाल ३३ वटा पोखरी बनाई ३ लाख २८ हजार माछाका भुरा छाडिएको उहाँले बताउनुभयो । अहिले दुई केजीसम्मका माछा भइसकेको र विक्री गर्न पनि थालिएको छ । प्रदेश सरकारको रू ४५ लाख र सहकारीको रू ५५ लाखको लगानीमा फार्म सुरु गरिएको हो । उदयपुरमा माछा जोनको कार्यक्रम परेकाले यस अघिदेखि व्यावसायिकरूपले माछा पालन गर्दै आउनु भएका कार्कीको सकृयतामा बेलका नगरमा माछा फार्म खोलिएको सहकारी संस्थाका सदस्य शरद कोइरालाले बताउनुभयो ।
कृषि पर्यटनको केन्द्र बनाइने
बेलका नगरको सदरमुकाम रामपुरबाट करिव चार किमी दक्षिणपूर्वमा रहेको कोशी टप्पु क्षेत्रलाई कृषि पर्यटकीय गन्तव्य बनाउने गरी काम थालिएको छ । निकट भविष्यमा ७००विघा जमिनमा ५० वटा पोखरी बनाउने तयारी गरिएको छ । उक्त पोखरी वरपर फन पार्क, कर्टेज निर्माण, र बोटिङसमेत गर्न मिल्ने गरी डिपिआर गर्न लागिएकोे अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
“कोशीको किनारलाई प्रदेश कै आकर्षक गन्तव्य बनाउन हामी लागेका छौँ । यसमा प्रदेश सरकार र स्थानीय सरकारको सहयोग रहेको छ,” उहाँले भन्नुभयो, “यहाँ पाइने बदेल, हरिण, मृग, अर्नालगायत अन्य जङ्गली जन्तु अवलोकन गर्न सकिने छ । पर्यटकहरुलाई यही उत्पादन भएको माछा, अन्य सागसब्जी खुवाएर बिदा गर्छौ ।” पर्यटकहरुलाई धेरै दिनसम्म राख्न प्राङ्गारिक खानेकुरा मात्र पाउने घरबास, होटल र स्विमिङ पुल निर्माणको तयारी थालिएको छ । विशेषगरी माछाका परिकारहरु बनाउने र माछाका सुकुटी विदेश निर्यात गर्ने गरी व्यवसाय थालिएको अध्यक्ष कार्कीले बताउनुभयो ।
यहाँ कोशी किनारबाट सूर्योदय हेर्न, कोशी टप्पु बन्यजन्तु आरक्ष वरपर रहेका हरिण, मृग, बदेल, अर्नाजस्ता जनावर देख्न सकिन्छ । यस क्षेत्रमा ठूलो मात्रामा एलानी जमिन छ । कोशी कटानबाट बनेको समथल भूभागमा विभिन्न जिल्लाबाट आएका कृषकहरुले भैसी पालन र कृषि पेशा गर्दै आएका छन् । यहाँ उत्पादन भएका तरकारी उदयपुर, र सुनसरीका बजारमा बिक्री हुँदै आएको छ ।
यो पनि – छात्रवृत्ति तथा सहयोग सामग्री प्रदान
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा कास्कीको रुपा गाउँपालिकामा छात्रवृत्ति र सहयोगी सामग्री वितरण गरिएको छ । पोखरा–१५ नयाँ गाउँमा रहेको सगोल कास्कीले अपाङ्गता भएका १६ छात्रा र १४ छात्रलाई झोला, कापी, कलम, विद्यालय पोशाक र फेस मास्क सहयोग प्रदान गरेको हो । सस्थाका सिबिआर अधिकृत विमला केसीले छात्रबृत्ति प्राप्त गरेका सबै विद्यार्थीलाई गाउँपालिकाको तर्फबाट पोशाक सिलाइका लागि रु ५०० प्रदान गरिएको छ ।
त्यस्तै अपाङ्गता भएका १५ जना नागरिकका लागि आवश्यकताअनुसारका सहयोगी सामग्री प्रदान गरिएको छ । अपाङ्गताको प्रकृतिअनुसार ट्वाइलेट चियर, सेतोछडी, लठ्ठी र वैशाखी प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले अपाङ्गता भएका व्यक्तिलाई आर्थिकरुपमा सवल र आत्मनिर्भर बनाउन गाउँपालिकाले गरिरहेको प्रयासमा विभिन्न सङ्घसंस्थाको पनि उत्तिकै सहयोग मिलेको बताउनुभयो ।
गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको आयआर्जनका लागि बाख्रापालन, मौरीपालन, कुखुरापालनलगायत बेलाबेलामा विभिन्न सीपमूलक तालीमसमेत आयोजना गर्दै आएको छ । गाउँपालिकाकी उपप्रमुख लालसुवा गुरुङले अपाङ्गता भएका व्यक्तिका लागि छुट्टै सहकारी स्थापना गरी आर्थिक उन्नति र विकासमा ध्यान दिइएको जानकारी दिनुभयोे ।
सो अवसरमा रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुङ्गानाले सार्वजनिकस्थलको भौतिक पूर्वाधार निर्माणका क्रममा अपाङ्गमैत्री संरचना निर्माणमा गाउँपालिकाले जोड दिएको जानकारी दिनुभयो । रुपा अपाङ्गता संरक्षण समितिका अध्यक्ष सन्तबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा रुपा – ५ का वडाध्यक्ष टेकबहादुर गुरुङ, गोनेसाका प्रज्वल पङ्गेनी, रुपा गाउँपालिका सामाजिक विकास शाखाका सीता सापकोटा सुवेदी, शिक्षा शाखा प्रमुख सन्दिप पौडेल लगायतले अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि सरकारले ध्यान दिनुपर्छ भन्नुभयो ।



प्रतिक्रिया