सुकुम्बासी समस्या समाधान गर्न पहल गर्छु ः मन्त्री श्रेष्ठ

सुकुम्बासी समस्या समाधान गर्न पहल गर्छु ः मन्त्री श्रेष्ठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको आज शुभारम्भ गर्दै उहाँले वर्षौदेखि अव्यवस्थित बसोबासीका रुपमा रहेका नागरिकको सम्बोधनका लागि वर्तमान सरकार प्रतिबद्ध छ भन्नुभयो ।

मन्त्री श्रेष्ठले श्रम तथा रोजगारका क्षेत्रमा रहेका समस्या समाधान र युवालाई देशभित्रै रोजगारी सिर्जनाका लागि पनि कार्ययोजना बनाइ कार्यान्वयन गर्ने जानकारी दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले स्थानीयवासीको वेवास्ताका कारण दुलेगौडा हर्कपुर मोटरमार्गमा ढिलाई भएको आपत्ति जनाउनुभयो ।  वडाध्यक्ष रामकुमार श्रेष्ठले वडा कार्यालय भवन निर्माण भएपछि वडाबाट सहज र सरल रुपमा जनतालाई सेवा दिन सजिलो भएको बताउनुभयो ।

यो पनि – ग्यास चुल्होले फेरिँदै महिलाको दिनचर्या

महोत्तरी, १८ मङ्सिर (रासस) ः यहाँस्थित मटिहानी नगरपालिका–९ को मुसहरीटोलका मरनीदेवी सादाको दिनचर्या अहिले फेरिएको छ । घरमा खाना पकाउने इन्धनको जोहोमा सखारै खरेटो लिएर बगैँचा बगैँचा पतिङ्गर सोहोर्न जाने उनी अब ग्यास चुल्होमा खाना पकाउन अभ्यस्त हुन थाल्नुभएको छ । पतिङ्गर सोहोर्ने समय अतिरिक्त काममा लगाउन पाएपछि यसले दैनिकी नै फेरेको उनीको भनाइ छ ।

तराईमा राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र आर्थिक क्षेत्रमा समेत पछि परेको मुसहर समुदायकी उनी अब पतिङ्गर सोहोर्न लाग्ने समय अतिरिक्त काममा लगाएर थोरै आर्जन बढाउन सक्ने हुनुभएको छ । मुसहरजस्तै अति पिछडिएका डोम र मेस्तर समुदायलाई केन्द्रीत गरी मटिहानी नगरपालिकाले घरघरै खाना पकाउने ग्यास चुल्हो वितरण गरेपछि ती समुदायका महिलाको दिनचर्या फेरिँदै गएको हो ।

“अरु जेजसो भए पनि खाना त पकाउनै पर्छ, यसका लागि इन्धनको जोहो गर्न हामी पतिङ्गर सोहोर्न जान्थ्यौँ ”मरनीदेवीले घरमै पुगेका सञ्चारकर्मीसँग भन्नुभयो, “ अब नगरपालिकाले ग्यास चुल्हो दिएपछि त्यसमा चाँडै खाना पाक्दो रहेछ, हामी अब पतिङ्गर सोहार्न लाग्ने समय बनीबुतो गरेर केही कमाउन थालेका छौँ ।” यसले घरगुजारालाई अलि सहज बनाएको उनीको भनाइ छ ।

उनी जस्तै सो बस्तीका वसन्ती सादा, सामो सादा र उर्मिला सादाले पनि पतिङ्गर सोहोर्न बिताइने गरेको समय अब किसानले बोलाउने कृषि कार्यमा लगाएर बानी पारिश्रमिक वापत केही कमाउन थालिएको जानकारी दिइन । पति र छोरा कमाउन जाने र पत्नी एवं घरका छोरीबुहारी पतिङ्गर सोहोर्न जानुपर्दा कमाइले गुजारा चलाउन धौधौ परेको बेला ग्यास चुल्हा पाएपछि यी जाति समुदायले निकै राहत महसुस गरेका छन् । “मेरो एकजनाको आम्दानीले घर गुजारा चलाउनु पथ्र्यो, अब पत्नी पनि काममा निस्कन सक्ने भएकी छन्, यो ग्यास चुल्होले निकै राहत दियो ।” बेचन सादाले भन्नुभयो ।

काममा कसैले नबोलाए सुँगुर चराउन जाने फुर्सत मिलेपछि यसबाट पनि आर्जन थपिएर सहुलियत बढेको बस्तीका मुसहर बताउँछन् । मटिहानी नगरपालिकाले यी तीन जाति समुदायलाई लक्षित गरी नगरका ४, ६, ७ र ९ नम्बर वडा बस्तीमा गत साता घरघरै ग्यास चुल्हो वितरण गरेपछि अब सबैले खाना चाँडै पाक्न थालेको बताएका छन् । आफ्नो भन्ने सानो पराले झुप्रो मात्र भएका यी गरिब समुदायले बगैँचा धनीले पतिङ्गर सोहोर्न नदिँदा वा नभेटिँदा सडक बढारेर झुत्रा प्लाष्टिक, सडक किनारमा मिल्किएका झिक्राझिक्री र कसिङ्गर बालेर पनि खाना पकाउनु परेको विगत सम्झँदै ग्यास चुल्हो पाएपछि जीवन नै फेरिएको प्रतिक्रिया दिएका छन् ।

“अब हामीले पतिङ्गर सोहोर्दा कसैको हप्कीदप्की सुन्नु पर्दैन र घरमा खाना पकाउँदा निस्कने धुँवाबाट पनि छुटकारा पायौँ) ग्यास चुल्हो पाएपछिको खुसी साट्दै मटिहानी–७ की पवित्री मेस्तरले भन्नुभयो, “ अब कमाइ थप्ने चिन्ता चैँ बढ्यो, थप आर्जन नभए फेरि ग्यास त आउँदैन अनि फेरि पतिङ्गर सोहोर्नु पर्ला । ”

आर्थिक रुपले अत्यन्त पछि परेका यी जाति समुदायलाई स्वास्थ्य सचेतता बढाउन र आर्जनका अतिरिक्त काममा लाग्न अनुकूलता बढाउने उद्देश्यले ग्यास चुल्हो वितरण गरिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । “गरिबी र अशिक्षाले गर्दा यी जाति समुदायले नगरमा भएका अन्य विकास निर्माणका कामबाट आपूmले केही पाएको अनुभूति लिन सक्दैनन्”, नगरप्रमुख हरिप्रसाद मण्डलले भन्नुभयो, “यिनलाई पनि हाम्रो निकाय छ, हाम्रा प्रतिनिधि छन् भन्ने अनुभूति गराउन सोझै लाभ पाउने गरी यो कार्यक्रम सञ्चालन गरेका हौँ ।” गरिब बस्तीमा फोहर झुत्रा प्लाष्टिक, राम्ररी नसुकेको पतिङ्गर सल्काउँदा निस्कने धुँवाले श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेपछि यसलाई नियन्त्रण गर्न पनि यो कार्यक्रम सुरु गरिएको नगरप्रमुख मण्डलको भनाइ छ ।

यो कार्यक्रमको पहिलो चरणमा चार वडाका १३३ घरपरिवार समेटिएका छन् । पहिलो पटक ग्यास चुल्हो दिइएपछि अब ग्यास सकिँदा आफ्नै अतिरिक्त कमाइले किन्नसक्ने बनाउनु अझै चुनौती रहेको नगर कार्यपालिकाका अधिकारीको ठम्याइ छ । तर यी समुदायमा अब हामीले यसलाई टिकाउनु पर्छ भन्ने बोध बढ्दै गएको देखिँदा यो कार्यक्रम प्रभावकारी हुने कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार शर्माले जानकारी दिनुभयो ।

सो कार्यक्रमले जनस्वास्थ्यमा सकारात्मक प्रभाव तत्कालै देखिन थाल्ने स्वास्थ्य कार्यकर्ता बताउँछन् । गरिब बस्तीमा पतिङ्गर बालेर खाना पकाउँदा निस्कने धुवाँले श्वासप्रश्वासका बिरामी बढेका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा बताउनुभयो । त्यसबाहेक फोहर झुत्रा प्लाष्टिक बाल्दा निस्कने प्रदूषण र फोहर पर्दा खानेकुरा नै दूषित बनेर बिरामी पर्ने क्रमलाई यो कार्यक्रमले न्यूनीकरण गर्ने उहाँको भनाइ छ ।